संविधान कार्यान्वयनमा जुट्न प्रधानमन्त्रीको आग्रह « प्रशासन
Logo ३० आश्विन २०७८, शनिबार
   

संविधान कार्यान्वयनमा जुट्न प्रधानमन्त्रीको आग्रह


१५ माघ २०७३, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दरमुलुक भएको बताएका छन् ।

तामाङ ल्होसारको अवसरमा शनिबार एक शुभकामना सन्देश दिनुहुँदै उनले हाम्रा लागि मात्रै नभई विश्व समुदायका लागि नेपाल बहुपहिचानयुक्त एक महत्वपूर्ण पुँजी भएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भाषा, संस्कृति, वेषभूषा, संस्कार तथा चाडपर्व आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषता रहेको उल्लेख गर्दै तामाङ जाती नेपालको एक प्राचीन जाति रहेको र सांस्कृतिक रुपमा समेत धनी मानिने यस जातिले सदियौँदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण एव्म संवद्र्धन गर्दै आइरहेको छ भने ।

नयाँ अवसरको आगमनको खुसियालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने सोनाम ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने भएकाले तामाङ जातिको महत्वपूर्ण चाडको रुपमा यसलाई लिने गरिन्छ, उनले भने — ल्हो अथवा वर्ग फेरिनुलाई तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने चलन रहेको र यसवर्ष तामाङ समुदायले बाँदर वर्गलाई बिदा गरी चरा वर्गलाई स्वागत गरेर २८५३ ज्या ल्हो चरा वर्ष मनाउँदै छन् ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ‘‘जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट समावेशी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौँ, संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु अहिलेको प्रथम आवश्यकता हो ।”

“हिमाल, पहाड र तराईका सबै जाति भाषा, धर्म, र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो, उहाँले भने— यसका लागि सरकार संवाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको छ ।’’

प्रधानमन्त्री ‘प्रचण्ड’ले तामाङ समुदाय तथा यस पर्व मनाउने सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनमा हातेमालो गर्न अनुरोध गर्दै सम्पूर्ण नेपाली बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गरी राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस