राजधानीको क्यामेरा र मेरो गाउँ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राजधानीको क्यामेरा र मेरो गाउँ


१५ माघ २०७३, शनिबार


क्यामेरा तस्वीर लिने साधन जस्तो छ उस्तै देखाइदिनु क्यामेराको धर्म हो । क्यामेरा शब्दले होइन तस्बिरले बोल्छ । यसले काल्पनिकता भन्दा यथार्थतालाई मात्र आफूभित्र तान्ने गर्दछ । त्यसैले क्यामेरामाथि सबैले विश्वास गर्दछन् । विडम्बना विज्ञानको नटखटले आजभोलि क्यामेरामाथि मेरो विश्वास घट्दै गएको छ । कतिपय चकचके फिल्मी नाटककार जस्तो बालकलाई बुढो बनाइदिने र बृद्धलाई पनि बालक बानइदिने प्रवृत्तिले गर्दा होला क्यामेराप्रति मेरो विश्वास घटेको । कर्णालीका लाश काठमाडौँमा तेर्सिएका, ग्वाल्केमा घाँस काटिरहेकी मेरी भाउजुलाई बर्लीयाको सिनकुञ्जमा टिपेर लग्दाहोस् अथवा महादेवले दक्षको टाउकोमा बोकाको टाउको जोडे जस्तै हाम्रा लोकप्रिय नेताहरूलाई साडी र चुरापोते लगाइदिएको देखेर होला क्यामेरासँगको मेरो सम्बन्ध घट्दै गएको । पुरै क्यामेराको दोष पनि कसरी भनौ मोबाइलले टिभी देखि लिएर घडी क्याल्कुलेटर देखि लिएर बिज्ञान जगतका सबै काम आफैं गर्न थालेबाट क्यामेरालाई पनि आफूभित्र कैद गर्दा कताकता मेरो देशसँग विज्ञान पनि मिलेको भान हुन्छ । हो पनि मेरो देशमा आज–भोलि मानव अधिकारदेखि लिएर अख्तियार, पत्रकार सबै बिचराहरूलाई नेताज्यूले कैद गरेझैँ क्यामेराले पनि सुख पाएको छैन । यसरी मोबाइलको दास बन्न पुगेको क्यामेराले चौरी गाईका जस्ता रौँ भएकी मेरी दिदी, फिलिममा खेल्ने नायक तथा विश्व सुन्दरीको प्रर्तिस्पर्धामा केलाकाथुम जस्ता चिल्ला तीघ्रा बनाएकी सुन्दरी भन्दा कम देखिएकी छैन । जे होस् क्यामेरा जस्तो भएपनि यसको काम आफू अगाडि परेको वस्तुको तस्वीर लिने हो । यो त भयो क्यामेराको ब्युटीपार्लरीय गुण तर एक कुरा सुन्दा तपाईलाई अचम्म लाग्ला यसो बिज्ञानको चमत्कारले भरिएको समयमा पुग्दा समेत मेरो गाउँले क्यामेरा देखेको छैन । अर्को शब्दमा भन्नुपर्दा मेरो कर्णलीवारीको प्रदेश क्यामेरामा अटाउँदैन । क्यामेराकै कारण तरकारीवाली, तिघ्रावाली बनीसकी तर मेरो गाउँमा अझै अरुकै फोटा हेरेर चित्त बुझाइन्छ । खास कुरो के भने राजधानीको क्यामेराले अझै मेरो गाउँ देखेको छैन ।

विज्ञानले खुमच्याइदिएको धर्ती गुगलम्यापमा हेर्दा सेतो कमेरो र रातो माटोले लिपेको घर, मेरो घर मैले मेरै आँखाले देखेको हुँ तर राजधानीका क्यामेराले कर्णलीवारी आँखा देख्दैन । हुन त क्यामेराकै के दोष हामीले नै नेता बनाइदिएका हाम्रै मन्त्री महाशयले हाम्रो गाउँको बाटो बिर्सिसके भने त्यो त आखिर के हो र ? यसो भन्दा कतिपय विद्वान मित्रहरूलाई दुःख लाग्ला दुधको दुध पानीको पानी छुट्याउने एक मात्र साधन क्यामेरा त हो भनेर, तर पनि मेरो गुनासो हो क्यामेराप्रति जब राष्ट्रपतिका छोरा छोरीको बिहेमा राजाले भोज खाएका तस्वीर खिचेर मेरो गाउँमा पठाउँदा हामी कर्णलीवारीकाहरूको करोडौँ पैसा लैजान मैले देखे तब मलाई पनि लागेको थियो एकै फोटो मात्रै भएपनि हाम्रो गाउँको लगिदिएको भए, तर उसो भएन । राजधानीका फोटा किन्ने हामी मूर्ख कति सोझा त्यति पैसाले त पुरै विश्वको फुटो खिच्ने ठूलो क्यामेरा किन्न सकिन्थ्यो, हामी पनि आफ्ना फोटा खिच्थ्यौ । ग्वालेकका मृगहरूसँगै चर्ने बाघ, रुखको टुप्पपो गीत गाउँदै स्याउला काटिरहेकी मेरी आमा, गौरामा ढोलक र मिजुरासँगको ढुस्को, धुमारी, तल्ला दे, मल्ला देकीजात, पत्तालभूमेश्वरको गुफा, पाटनसेराको किनारमा सुसेली हाल्दै बगेकी सुर्नया, खप्तड, अपी शैपाल अनि दोधरा चाँदनीको मन लोभ्याउने झोलुङ्गो आदि आदि आहा ! कस्ता देखिन्थे होला । बर्सादमा कालीले बगाएको मेरो गाउँ, बाटो नपाएर भिरमा हुत्तीएका गाडी शायद यस्ता तस्वीर खिच्न घिन लाग्छ होला राजधानीको क्यामेरालाई । हुन त राजधानीको भन्नु मात्रै हो पोहोर साल म काठमाडौं जाँदा सडकका किनारामा बसेका अन्धा अपाङ्गहरूले जिविका चलाउँन देखाउँदै गरेका कलापनि कम थिएनन् तिनलाई कसले हेरोस्, बरु पाँचतारेहरूमा वैशले मात्तिदै अर्धनग्न भएकी तीज कुमारीका तिघ्राको फोटो मेरो गाउँमा पनि नपठाएको होइन । त्यसमा मेरो आपत्ती होइन । मेरो गुनासो भने व्यापारको को हो । व्यापार दुई थरीबाट समान हुनु पर्छ । व्यापार त त्यो राम्रो जसले त्यो ठाउँको कच्चा पदार्थ र स्थानीय निर्माण सामग्री खरिद पनि गरोस नयाँ निर्माण सामग्री उपलब्ध पनि गराओस् । यो त कस्तो एकोहोरो व्यापार राजधानीका तस्वीर बेच्दै हिड्ने हाम्रो फुटो कहिल्यै नखिच्ने । यसो भन्दा एक जना काठमाडौ बासी साहित्यकार मित्रको भनेको कुरा याद आउँछ, चर्चामा आउँन त पर्चा पनि राम्रो हुनुप¥यो नी त्यत्तिकै राजधानीले ठाउँ दिएन भनेर हुन्छ । यसो भन्दा हाम्रा पर्चा हेर्छ कसले र भन्न मन लागेको थियो कही भने केवल उनका टेडामेडा पर्चाका चर्चा सुनिरहे मात्र । गुणस्तर खोज्न गाउँ जानु पर्छ मित्र बजारमा डेरीको दुध जस्तै हो हाम्रो जङ्गलका काफल बजारका सुन्तला भन्दा रसिला हुन्छन् । खाएर त हेर्नुस भन्ने थिए त्यो भिडमा मलाई कसले सुनिदेओस् । तपाईको शहरमा गाईगोरु तुहिदा सामाचार बन्छ मेरो गाउँकी हजारौँ आमाहरूका पाठेघर काटिएका कोले हेरिदेओस् ।

इतिहासका कुरा पनि त्यस्तै हुन महाभारतको युद्ध ताका बनेका देवलहाटका मन्दिर हुन या बाइसे चौवीसे राज्यका पालाका अजयमेरु कोट हुन यिनको इतिहास कतै पढिएन बरु राजधानीमा चार दिन भनेर कहिले नदेखेका कुराहरूमा भाइ बहिनी हो तिमीहरूले देखेकै हौला भन्ने शब्दबाट सुरुवात गरिएका यात्रा संस्मणहरू पढ्दा कतिगाह्रो भएको थियो मलाई । यसो भन्दा मलाई राजधानी बिरोधीको आरोप नलागोस यसो कदापी होइन मलाई मेरो देशको राजधानीप्रति गर्व छ । मेरो गुनासो त केवल मुख मात्र धोएर टिका लाउने प्रवृतिप्रति हो, पुरै शरीर समान रुपले ननुहाइने तितो यथार्थ प्रतिहो । मदन पुरस्कार पाउनु अघि रामलाल जोशीको तस्वीर कसैले खिचिदिएन । खाना र घरपरिवारलाई दोस्रो प्राथमिकतामा राखी साहित्यिक संस्था, पत्रपत्रिका सञ्चालन गरी राज्यले गर्न नसकेको काम गर्ने साहित्यकार बिचराहरूलाई त कसले देखोस ? यसो भन्दा क्यामेराले पनि गुनासो गर्ला हामीलाई पो कसले हेर्छ र आखिर मेरो गुनासो गर्ने ठाउँ कहाँ हो त फेरि । सुदूरपश्चिमको भाषा र इतिहासका कुरा पूर्वका मान्छेले गर्छ मस्तसित पत्रिकाको हेडलाईन बन्छ, क्यामेराले तस्वीर लिएर भाइरल बनाइदिन्छ । तर सुदूरपश्चिममै बसेर भाषा साहित्यको सेवा गरिरहेका कयौँ भाषा साहित्यका साधकहरू अध्यारोका जुनकिरी नै हुन्छन् ।

म सगरमाथाको उचाइले के गरुँ मलाई मेरो ग्वाल्लेकको उचाइ नै थाहा छैन । समग्रमा मेरो मोह मेरो भाषा र साहित्य र संस्कृतिप्रति हो, मेरो इतिहास प्रतिहो, मेरा पर्यटकीय स्थलप्रति हो । मेरो गुनासो एकोहोरो व्यापार प्रतिहो । मलाई मेरो गाउँका फोटाहरू खिचाउने रहर हो । जहाँसम्म राजधानीको कुरो छ मेरो देशको राजधानी संसारकै सबै देशको राजधानी भन्दा राम्रो बनोस यसमा म खुसी हुनेछु । सुन्दर त तब बन्ला जब मेरा गाउँका सुन्दर तस्वीरहरूले सजिएला । मेरा देउडा र ठाडीभाका गुञ्जेलान, गौरा देवीले ढुस्को खेल्दै रमाउलिन, अपी शैपालको शितलता मिल्ला, खप्तडले आफ्नो काखको माया देला तब राजधानी मेरो राजधानी बन्ला । समग्रमा राजधानीको क्यामेरालाई मेरे आग्रह हो कुनै समय मेरो गाउँमा पनि घुम यहाँ राजधानीलाई लजाउने तस्वीरहरू छन् । यहाँको सुन्दरताले तिमीलाई पक्कै लोभ्याउने छ । तस्बिर मात्रै पूर्ण होइन त्यसको सुन्दरताको बयान गर्ने भाषा साहित्यका पारखी बिनात्यो पनि निरस नहोला भन्न सकिन्न । यहाँपनि कयौँ सुन्दर काम भइरहेका छन्, सुन्दर गीत गुञ्जिरहेका छन् । यहाँपनि चन्द्रमा छुन दौडिएकाहरूको भिड छ । यही गुनासो पोखे निबन्ध बन्यो या लेख, मैले यसलाई चिठी सम्झेको छु । सायद निबन्धलाई चिठी सम्झिनुले नै मलाई राजधानीले मन पराउँदैन होला । यस्तै छ राजधानीको क्यामेरा र मेरो गाउँ ……………।

प्रतिक्रिया दिनुहोस