कथा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कथा


१५ माघ २०७३, शनिबार


कहाँ छन्, को हुन् बुवाआमा, कहिले जन्म्यो ? गुमनाम छ मस्तानको परिचय । एक अबोध शिशुले पाउनु पर्ने मातृ वात्सल्य नपाउदो हो त मस्तानले बाल्यवस्थासम्म पनि जीवनको यात्रा पुर्याउन सदैनथ्यो होला । जन्मजात यस्तै हो, या पछि कुनै कारणले मस्तान यो जीवन बाँचिरहेको छ । यहाँका कसैलाई पनि थहा छैन । उ सानो छँदै उसका बुवाआमाले संसारबाटै बिदालिएको हुनुपर्छ । कुनै पनी बुवाआमाले आफ्नो सन्तानलाई निर्दयतापूर्वक मिल्काउन सदैनन् । जन्मजात जिउदो लास भएर जन्मेको मनिष पन्ध्र बर्ष बांच्यो । त्यो कारण उस्की आमाको अतुल्य वात्सल्य नै थियो । मनिषको मृत्यू छिमेकीहरुले मनिषले मुक्तीपाएको भने तर बिचरी उसकी आमा भने पुत्र बियोगमा यति तड्पिइन कि हप्तासम्म त खाना पानी नै त्याग गरी दिईन । छिमेकीहरुले अरु साना सन्तानका लागि भएपनी बाँच्नुपर्ने भनेर धेरै सम्झाए । समय बित्दै गयो ठूली, कान्छी, सानी कान्छी र सानो कान्छालाई हेरेर चित्त बुझाईन । बुवाआमा बाँचेकै हुन्थे भने मस्तानको बियोगमा तड्पिरहेका भेटिन्थे होला धर्तीको कुनै टुक्रामा । टुहुरो नै भएर होला मस्तान ।

लेखक

मस्तान, उसका बुवाआमा वा कुनै ज्योतिषिले दिएको नामहोइन । त्यो नाम पशुपती टोलतिर बसोबास गर्ने मोह्म्डन समुदायका दयालु सज्जन मियाजीहरुले भनिदिएको हुनुपर्छ । नाम अनुसार जीवनमा कुनै मोह, लालच, स्वार्थ नभएको अभावमा पनि गुनासो बिना बाच्ने मानिस हो, मस्तान । उ सानो छँदाका उसले दैनिक जसो देखेका साना केटा केटी बुवाआमा भैसकेका छन् । त्यस टोलका झुपडीहरु कंक्रीट घर र भवन भैसकेका छन् । उसले टोलमा झुपडीहरु हुँदा पनि घर भित्र सुत्न पाएन । कंक्रीट घरहरुत झन सम्भव नै भएन । उसको बोल्ने मुख शब्द उच्चारण गर्न असमर्थ छ । तर कान सुन्छ । अभिव्यक्ती क्षमता नभएको मस्तानमा पनि घरबार बनाउने रहर होलाकि नहोला ?

उ सानो पाँच सात बर्षको बालक हुँदा सायद देशमा पञ्चायती व्यवस्था थियो । पन्चायतको अवसान भयो । अहिले त राजतन्त्र पनि छैन देशमा। लोकतान्तृक गणतन्त्रको स्थापना भएको छ । आज पनी उ कसैले दया गरेर दिएको भरमा बाचेको छ । विभिन्न व्यवस्थासंगै उ बालक, किशोर युवाहुँदै अधबैैशें शरीरमा फेरिएको छ । परिवर्तित शासनको सामान्य स्वाद पनि उसलाई के थाहा ?

के उसका गुनासाहरु होलान ? सडक पिच हुनुप¥यो भनेर नगरपालिकालाई दैनिक अपजस दिइरहने टोलबासीहरुलाइ हिउँदमा चिसिएको कंक्रीट सडक खाली खुट्टा हिड्ने मस्तानलाई कति कष्टकर होला, गृष्ममा सूर्यको प्रचण्ड गर्मीले आगो जस्तै तात्ने कंक्रीट सडक खाली खुट्टा हिड्ने मस्तानलाई कति अपृय होला । कसले सोचिदिएको छ र ? सायद सडक पिच गर्नेलाई चिसोले कठांगृनु पर्दा र तातोले खाली खुट्टा डामिदा मस्तानको कति आत्माले सराप्दो हो ।

खाली खुट्टामा उसले कहिल्यै जुत्ता चप्पल लगाएन । चिया खाने गिलास उसको सधैं साथमा हुन्छ । सार्बजनिक धारामा दिनहुँनु हाउनु, लुगा कपडा धुनु, निश्चित चिया पसलहरु पुगेर किनेर या दयाभावमा चिया पान गर्नु, निश्चित पसलेहरुको पसल अगाडि उभिनु र मौन याचना गर्नु केही रुपैयाँको लागि, मस्तानका दिनचर्या हुन् ।

उमेरसंगै शारीरीक अस्वस्थता अनेक थपिएकाछन् । उसका आँखामा मोतिविन्दु भएर आँखा नदेख्नु, रगतको कमी, टाउको दुखिरहनु । ज्वरो आईरहनु । परिवार विहीन छ उ । कस्तालाई सुकुम्बासी भनिन्छ । वास्तविक सुकुम्वासी मस्तानलाई किन मानिरहेको छैन सरकार ? नागरिकताको प्रमाण पत्र छैन । त्यसैले असहाय गरीब सुकुम्बासिको प्रमाण पत्र छैन । उ शारीरिक अशक्त पनि हो । नागरिकताको प्रमाण पत्रकै कारण सरकारी सुबिधा बाट बन्चित छ ।

केही सज्जन दयालु ठाकुरजी, गुप्ताजीहरु, मियाजीहरु र धनगढी कटान तिरका युवा किसानहरुको पहलमा उसलाई गेटा आँखा अस्पताल पुर्याएर आँखाको शल्यकृया गरियो । उनीहरुकै सकृयतामा सेती अन्चल अस्पतालमा ब्लड बैङ्कबाट रक्तदान गराउने काम हुने गर्छ । यसरी उसको आयु पटक पटक बढेको छ । शारीरिक कष्ट थोरै भएपनी घट्छ ।

मस्तानले धनगढीका कहाली लाग्दा दुरुह समयलाई भोगेको छ । बि. सं. २०४० सालको बाढी भोगेको छ । कैलाली जिल्लामा जापानी इन्सेफ्लाइटीसको कहर यसरी फैलियो कि हरेक कैलाली बासी आतंकित थियो । डेंगुको त्रास त्यस्तै छ । हात्तीपाइलेको त्रास पनि त्यस्तै छ । अव्यवस्थित फोहर मैला रहेको धनगढी नगरले उपहारमा कमलपित्त, झाडापखाला, हैजा, टाइफाईड, मलेरिया जस्ता रोग पस्कि रहेको छ । यी रोगहरुले आक्रमण गर्ने भनेकै मस्तान जस्ता छानो बिनाका, संरक्षक बिनाका, प्रमाण पत्रबिनाका नागरिकलाइ नै हो । यसका बाबजुद पनि मस्तान बाचिरहेको छ ।

बि. सं. २०५८ मंसीर देखिको संकटकाल र कर्फ्यु २०६३ बैशाख १२ सम्म भोग्यो । २०६८ को अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलनको साक्षी हो मस्तान । टीकापुर काण्डमा प्रहरीहरु र नाबालकको हत्या पछिको धनगढीमा परेको प्रभावको मस्तानले अनुभव संगालेको छ । बि. सं. २०६१ माघ २६ गते राती ११ बजे तिर नेकपा माओबादीले धनगढी कारागारमा हमला गर्दा धनगढी बासीहरुले रात भरी घरभित्र पनि असुराक्षित महसुश गरिरहे । मस्तान कहाँ थियो होला ? के गर्दैथियो होला ? त्यस दिन बोल्न नसके पनी राईफल सकेट बम पड्किदाको आवाजले मस्तान कति भयभित भएहोला । भयभित भयो होला या नहोला मस्तान त्यति बेला पनि बाँच्यो । आजसम्म बाचिरहेको छ मस्तान । बाचेका कारण उ समाचार बनेन ।

पुस माघमा यसरी शीतलहरले सताउछ कि तर्कारीका बोटहरु चिसोले मर्छन्, अनि सिजनमा समेत तर्कारी महंगो हुन्छ धनगढीमा । छानो बिहिन मस्तानलाई धनगढीको निर्दयी शीतलहरले बेस्सरी सताउछ ती तरकारीका बोटहरुलाई झैं । यी महिनामा उसलाई न्यानो केवल पारिलो घामले मात्र दिन्छ । रात कम्ती कष्टकर हुन्छन र शितलहरमा उसका ? कम्ती संघर्स छ, मस्तानको जीवनमा तर पनि रत्ती गुनासो छैन कसैप्रती उसलाई ।

साँच्चै भन्ने हो भने मस्तानले कहाली लाग्दो संकटकाल, कर्फ्यु, नाकाबन्दी, आन्दोलन, साम्प्रदायिक दंगा, प्राकृतिक आपदा सबैलाई जितेको छ । जुन चोक नजिकै उ अक्सर गरि घाम तापेर बसेको हुन्छ वा फलफूल बेच्ने ठेलावालाहरुको गफ सुनिरहेको हुन्छ । बि. सं. २०६५ जेष्ठ १५ गते देशमा गणतन्त्र घोषणा भएको दिन जिल्ला प्रसाशन कार्यालय अगाडि, प्रहरीको फाइरिङ्गमा उर्माको तालको पानीको बिषयमा भएको बिबादमा भएको दंगामा उर्माका किसानको मृत्यू भयो । त्यस पछी धनगढीमा कर्फ्यु नै लाग्यो । जनजीवन हुनसम्म कष्टकर भयो । पूरा धनगडी घरभित्र लुक्यो । तर मस्तान ? फेरी पनी बाँच्यो । मस्तानले लुक्नु पर्यो कि परेन, खोइ….।

मस्तानसँग दयालु सज्जनहरुले दिएका रुपैया खर्च नहुने भएका कारण बचत हुन्छ । राती अध्यारोमा फटाह दुर्वयसनी र बदमासहरुले खोस्ने लुट्ने गर्दा रहेछन् । मस्तानले सहजै नदिदा बेस्सरी कुटिएको पनि छ । पछि मस्तान फटाहहरुबाट कुटिनु भन्दा उनीहरुले भन्ने बित्तिकै आफुले जम्मा गरेको रुपैयाँ पैसा बुझाईदिदो रहेछ आज भोली । त्यसैले दुष्टहरुले दिने दुखबाट पनि सुरक्षित हुन सिकेको छ मस्तानले ।

कसैले भन्छन मस्तान बि. सं. २०४० सालको बाढीमा उर्लेको कैलाली नालामा बगिराखेकोथ्यो । शान्तिनगर कटानमा उसलाई उद्धार गरियो । बाँच्ने सवालमा भन्नु पर्छ भाग्यमा लेखेरै आएको हो कि ! वैभवशाली जीवन हुन्थ्यो भने बधाई भन्ने लायककै भाग्यहो मस्तानको । तर बिचरो मस्तान विशाल अनन्त खुला आकाशको छानो मूनि भू–माफियाहरुले कब्जा गर्न नसकेका सडक चोक चौतारामा जीवन बांच्न बाध्य छ । यो कठिन जीवन बाचेकोमा उसलाई भन्न सकिदैन बधाई !

कैयौ आरोह, अबरोह, दुःख, पीडा, यातनासंगै आजसम्म बाचेको मस्तानका भोलीका दिन कस्ता हुने होलान ? अनुमान कठीन छ । उसलाई पटक–पटक आक्रमण गर्ने गरेका परिस्थितीहरु बिगतमा मस्तानसँग हारे झैं भविष्यमा पनि हार्लान या मस्तानलाई हार्न बाध्य बनाउलान यो अनिश्चित भविष्य मस्तानका पुर्पुरोमा थोपरिएको छ । वृद्धावस्था बाहेक जीवनका सबै अवस्था पार गरिसकेको मस्तानले वृद्धावस्थासम्म पदार्पण गर्न पाउला या ……..?

यो अनिश्चितताबाट पार पाउन आजसम्मका दयालु सहयोगी हातहरु वरदान साबित होलान या निरिहता प्रकट गर्न बाध्य होलान । मस्तानले मान्छे भित्रको मानवताको जागरण गराई दिएको छ । प्रेम र दया प्रस्फुरण गराई दिएको छ र मानिसहरु मस्तानको सुस्वास्थ्यको कामना मात्र होईन, सक्दो सहयोग समेत गर्दछन् । लाग्छ मानवता जिवित छ अझैं मस्तान बस्ने आकाश मुनि ।

प्रतिक्रिया दिनुहोस