चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी सम्पन्न भइसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले जानकारी दिए । राजधानीवासीलाई आगामी २०७४ सालको बडादसैँ अगाडि खानेपानी वितरण गर्ने लक्ष्य छ । बाँकी ५ किमी सुरुङ पनि आउँदो असार-साउन महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक भट्टराईले बताए ।
विभिन्न छ स्थानबाट सुरुङ खन्ने काम भएकामा सिन्धु अडिटदेखि सुन्दरीजलसम्मको ९ किमी सम्पन्न भइसकेको छ । हेलम्बु गाविसको मुहान रहेको अम्बाथानबाट ग्यालथुम अडिट र ग्यालथुमबाट सिन्धु अडिट गरी दुई स्थानको ५ किमि खुल्न बाँकी रहेको छ । हाल चार स्थानबाट दैनिक २० मिका दरले सुरुङ खन्ने काम भइरहेको छ ।
अम्बाथानबाट खन्न लागिएको सुरुङ मार्गमा कमसल भूभाग निस्केको कारण बढी खन्न नसकिएको हो । कडा चट्टानको बदला ग्राभेल जस्तो कमसल ढुङ्गा निस्केको हँुदा सो भाग सकिएपछि दैनिक २५ मिटरसम्म खन्न सकिने कार्यकारी निर्देशक भट्टराईले बताए ।
त्यसैगरी लार्के र याङ्ग्रीबाट लगिने दोस्रो र तेस्रो चरणको डिजाइनको काम पनि सुरु गरिएको छ । डिजाइनको काम सकिएपछि बजेटको व्यवस्थाका लागि मन्त्रालयमा पेस गरिने र बजेट निकासा भएपछि काम सुरु गरिने भट्टराईले बताए । प्रथम चरणमा दैनिक १७ करोड लिटर तथा दोस्रो र तेस्रोबाट थप ३४ करोड लिटर पानी लगिने आयोजनाको लक्ष्य रहेको छ । रासस