व्यावसायिक कृषिबाट आत्मनिर्भर बन्दै कृषक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

व्यावसायिक कृषिबाट आत्मनिर्भर बन्दै कृषक


१० माघ २०७३, सोमबार


मेलम्ची । सिन्धुपाल्चोक जिल्ला मेलम्ची क्षेत्रका कृषक व्यावसायिक कृषिबाट आत्मनिर्भर हुन थालेका छन् ।

कृषि पेसाबाटै लाखौँ आम्दानी गर्न सफल मेलम्ची नगरपालिका–९ थाक्लेका रमेश पराजुली यस क्षेत्रकै उदाहरण बनेका छन् ।

दुई दशकअघिबाट कृषिमा व्यावसायिकरुपले संलग्न भएका उनले यो पेसा आफ्नो मुख्य रोजाइमा रहेकोे बताए ।

प्याजको बेर्ना उत्पादन गरेर बेचेकै भरमा आफू आत्मनिर्भर बन्न सफल भएको उनको भनाइ छ । पराजुलीले अहिले दुई रोपनी जग्गामा प्याजको बेर्ना लगाएका छन् । विगत २० वर्षदेखि मेलम्ची बजारको आमाह्याल्मो चोकमा डोकामा प्याजको बेर्ना ल्याएर व्यापार शुरु गरेका पराजुलीको अहिले वार्षिक आम्दानी एक लाखभन्दा बढी छ ।

बेर्नासँगै आफूले गर्दै आएको जुनार खेती र महको व्यापारले जीविकोपार्जनलाई थप टेवा पुगेको पराजुलीले बताए ।

समय समयमा जिल्ला कृषि विकास कार्यालयले किसानका लागि क्षमता अभिवृद्धि तथा विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरेर उत्प्रेरणा दिने गरेकाले पनि आफूहरुलाई कृषि पेसामा रम्न सहज भएको यहाँका किसान बताउँछन् ।

बाह्र वर्षदेखि कृषि पेसामा आबद्ध मेलाम्ची–१२, बगुवाका किसान लेखनाथ खतिवडा पनि जिल्लाको उत्कृष्ट किसानका रुपमा परिचित छन् ।

कुनै बेला उत्पादन नहुँदा आजित भएर भारतको कार्गिल छिरेका खतिवडा नेपाल फर्केपछि जाइकाले कृषिका लागि अभिप्रेरित गर्न निःशुल्क तालिम र टिडी फार्म सञ्चालन गर्न सिकाएपछि अहिले मनग्य आम्दानी गर्न सफल भएका हुन् ।

जिल्ला कृषि विकास कार्यालयबाट पटक पटक सम्मान तथा पुरस्कारले कृषिमा लगाव र हौसला मिलेको खतिवडाले बताए ।

जिल्लाको उत्कृष्ट कृषकका रुपमा परिचित खतिवडाले वार्षिक पाँच लाख बढी आम्दानी गर्छन् । मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट उनी राम्रो गर्न सफल भएका छन् ।

घरदेखि नजिकै रहेको मेलम्ची बजारमा आफूले उत्पादन गरेको तरकारी बिक्री गर्ने गर्नुभएका खतिवडा सिङ्गो गाउँको नमुना कृषक बनेका छन् । तालिमलिएपछि व्यावसायिकरुपले कृषि पेसामा लागेका खतिवडाबाट सिकेर सिङ्गो गाउँ नै यो पेसामा आकर्षित भएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस