दशरथ चन्द स्मृति क्रिकेटमा निङ्गलाशैनी र त्रिपुरा क्लब विजयी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दशरथ चन्द स्मृति क्रिकेटमा निङ्गलाशैनी र त्रिपुरा क्लब विजयी


प्रशासन संवाददाता

९ माघ २०७३, आइतबार


बैतडी । सहिद दशरथ चन्द स्मृति यू–१९ आमन्त्रण क्रिकेट प्रतियोगिताअन्तर्गत आइतवार भएको खेलमा निङ्गलाशैनी क्रिकेट क्लब र त्रिपुरा क्रिकेट क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् ।

देहिमाण्डौँस्थित निङ्गलाशैनी खेल मैदानमा लिग चरणको आफ्नो दोस्रो खेलमा निङ्गलाशैनीले खडक बोहराको ९२ रनको मद्दतले एनआरवाईसी बठ्ठालाई २४ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको निङ्गलाशैनीले २८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनायो । विजयी लक्ष्य पछ्याउने क्रममा एनआरवाईसीले ३१ ओभरमा सवै विकेट गुमाएर १९४ रन मात्र बनायो ।

निङ्गलाशैनीका लागि बोहराले ६६ बलको सामना गर्दै दुई छक्का र १५ चौकाको मद्दतमा ९२ रन बनाए भने दीपक बोहराले २३ रन जोडे । बलिङतर्फ एनआरवाईसीका लागी प्रदीप चन्दले चार तथा प्रकाश चन्दले दुई विकेट हात पारे । यस्तै एनआरवाईसीका लागि लक्ष्मण चन्दले ४१ तथा तिलक चन्दले २६ रन बनाए । बलिङतर्फ निङ्गलाशैनीका लागि खडक बोहराले तीन तथा भूपेस बोहराले दुई विकेट लिए । व्यक्तिगत ९२ रन बनाउनुका साथै तीन विकेट समेत लिएका निङ्गलाशैनीका खडक बोहरा म्यान अफ द म्याच घोषित भए ।

यसैगरी, बुढाबाजे क्रिकेट मैदान रातामाटामा भएको अर्को खेलमा त्रिपुरा क्रिकेट क्लबले आयोजक दशरथ चन्द एकेडेमी क्रिकेट क्लबलाई ६४ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको त्रिपुराले ३३ ओभरमा सवै विकेट गुमाउँदै २०० रन बनायो ।

विजयी लक्ष्य पछ्याउने क्रममा दशरथ चन्द एकेडेमी १७ ओभरमा १३६ रनमै समेटियो । त्रिपुराका लागि प्रकाश भट्टले ५७ तथा मुकेश मौनीले २२ रन जोडे । एकेडेमीका विकास आग्रीले चार विकेट लिए । दशरथ चन्द एकेडेमीका लागि दिपेश चन्द र तेज बोहराले समान २७÷२७ रन बनाए । बलिङतर्फ त्रिपुराका मुकेश मौनीले पाँच विकेट लिएका बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रमेश बोहराले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस