सँगै जीउने मर्ने कसम खाएका श्रीमानले नै जलाउने प्रयास गरेपछि…….. « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सँगै जीउने मर्ने कसम खाएका श्रीमानले नै जलाउने प्रयास गरेपछि……..


प्रशासन संवाददाता

८ माघ २०७३, शनिबार


काठमाडौँ । जीवनभर सँगै जिउने मर्ने र दुःखसुखमा साथ दिने कसम खाई करिब दुई वर्षअघि विवाह गरी गोरखपुरबाट नेपाल आउँदा सुनिता खटिकले सुन्दर सपना मात्र देखेकी थिइन् ।

सानोतिनो विवादमा श्रीमान्ले मृत्युको मुखमा पु¥याई भाग्छन भन्ने उनले सोचेकै थिइनन् । श्रीमान्ले जलाउने प्रयास गर्दा गम्भीर घाइते भएका नेपालगञ्ज नगरपालिका–१२ का २२ वर्षीया सुनिता अहिले काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको श्ययामा छट्पटाइरहँदा यस्ता सपना देख्ने हरेक युवतीलाई सशङ्कित बनाउँछ । यता आमा अस्पतालमा असह्य पीडामा रहँदा उता घरमा आमाको काख नपाउँदा उनकी डेढ वर्षीया छोरी तड्पिरहेकी छिन् ।

गत बिहीबार घरमा सामान्य झगडा भएपछि श्रीमान् राजेन्द्रले सुनितालाई मट्टितेलको टुकीले मुखमै हानेका थिए । आगोले उनको छाती माथिको भाग र एउटा हात नराम्ररी जलेको छ ।

गाउँलेको सहयोगमा स्थानीय अस्पताल पु¥याइएकी सुनिताको त्यहाँ उपचार हुन नसकेपछि ‘अग्नि हिंसापीडित’ संस्थाको सहयोगमा काठमाडौँ ल्याइएको वर्न वार्डकी नर्सिङ इन्चार्ज अर्चना रञ्जीतले बताइन् ।

सुनिताको अवस्था चिन्ताजनक भएको उपचारमा संलग्न चिकित्सक डा प्रितेश जैसवालले बताए । अहिलले उनलाई सो अस्पतालको अति सघन कक्षमा उपचार भइरहेको छ । “धुवाँले फोक्सोमा कति असर गरेको छ भन्ने पत्ता लागेपछि मात्र अवस्थाबारे भन्न सकिन्छ,” उनले भने । छोराले बुहारी जलाउने प्रयास गरे लगत्तै फरार भएपनि सुनिताकी सासूले उनलाई उपचार गर्न काठमाडौँ ल्याएकी हुन् ।

“हामी सँगै बस्दैनौँ । घर अलि टाढा छ । उनीहरुबीच के भएर यस्तो घटना घट्यो मलाई थाहा भएन,” उनकी सासू दुखानाले भनिन्,। उनका अनुसार छ महिनादेखि छेरा बुहारी अलग अलग बस्दै आएका थिए । दुई वर्षअघि भारतको गोरखपुरस्थित दोहरियाबाट सुनिता विवाह गरी नेपाल आएकी थिइन् । श्रीमान रिक्सा चलाउने गर्थे ।

यसैबीच महिला बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गई सुनिता र उनका आफन्तलाई भेटी सम्पूर्ण उपचार सरकारले बेहोर्ने र दोषीलाई कुनै हालतमा उम्कन नदिने बताएका छन् । उनले सुनिताको उपचारमा कुनै कसुर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

“अब कोही पनि छोरी कुनै कारणले हिंसाको सिकार भई उपचारबाट वञ्चित हुन नदिन मन्त्रालयले ‘क्विक रेन्सपोन्स’ टिम बनाएको छ । टिमले यस्ता हिंसात्मक घटनाबाट महिला उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने अवस्था आउनबाट रोक्न काम गर्नेछ,” मन्त्री खड्काले भने। यसका लागि दुई हप्तामै नियमावली बनाई अपराधीलाई कारबाहीको कठघरामा ल्याउन सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस