प्रारब्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रारब्ध


८ माघ २०७३, शनिबार


बसन्ती हरेक सोमबार पशुपति बृद्धाश्रम जान्थिन् । बृद्धाश्रमका बृद्धबृद्धा उनका साथी बनेका थिए । भजन किर्तनमा सामेल हुन्थिन् । सुख दुखका कुरा सुन्थिन् । सुनाउथिन् । सालका राम्रा दुना टपरी बनाउँथिन् । पशुपतिको पूजापछि बृद्धाश्रममा प्रसाद बाँड्दा उनलाई रमाइलो लाग्थ्यो । भगवानको नाममा सेवा गर्न पाएकोमा मख्ख पर्थिन् । बृद्धाश्रमको एउटा भवनको नाम नै ‘बसन्ती ब्लक’ राखिएको थियो । सो भवन निर्माणका लागि चन्दा उनैले दिएकी थिइन् ।

लेखक

बसन्तीकी बालसखा चम्पा सोही बृद्धाश्रममा बस्थिन् । बसन्ती र चम्पा लगभग एकै उमेरका थिए । विचार, स्वभाव र व्यवहारले दुवैलाई साथी बनाएको थियो ।

गर्भसँग आठवर्ष पु¥याएर बसन्तीको बिहे जानकीनगरमा भएको थियो । हर्कलाल उनका पति थिए । उनी दुई दशक पार गरिसकेका थिए । जवान लोग्नेसँग आँखामा आँखा जुधाउँने हिम्मत धेरैपछि गरिन् बसन्तीले । कर्कशा र चोथाले सासुको बुहार्तन खप्नु खपेकी थिइन् । सास पनि चर्को फेर्ने साहस हँुदैनथ्यो उनीसँग । चौध वर्षको उमेरमा पहिलो रजस्वला भइन् बसन्ती । सासुको अनुहार हँसिलो भयो । नातिको मुख हेरेर मर्ने धोको थियो उनलाई । पन्ध्र वर्षको उमेरमा पहिल्लो सन्तान छोरी जन्माइन् वसन्तीले ।

सासुको मृत्यु भयो । नातिको मुख हेर्ने धोको पूरा भएन । घरको सारा जिम्मेवारी वसन्तीमाथि थपियो । दश वर्षको अन्तरालमा पाँचौ सन्तानको रुपमा छोरो जन्माइन् । बुढेसकालको साहरा । स्वर्गको बाटो खुलाउने दुत । कुल दिपक । संस्कार थाम्ने सन्तान । दुवैजना खुसी थिए । छोरो जन्मदासम्म दुई छोरीको मृत्यु भैसकेको थियो । दुवै कुपोषणले मरेका रे ।

पाँच जनाको परिवार । कम आय । गाँउको बसाइ । छोराछोरी हुर्काउन कठिन थियो । सुगरले थलिएका लोग्ने धेरै बाँचेनन् । सन्तान हुर्काउने जिम्मा बसन्तीको मात्र । धेरै दुःख गरिन् बसन्तीले । भोकभोकै काम गरिन् । एकसरो कपडाले वर्ष बिताइन् । दुखलाई दुःख भनिनन् । निद्रा खटाउन गाह्रो मानिनन् । बिगत बिर्सिन् । वर्तमानसँग लडिन् । भविष्यको कल्पनामा रमाइन् । छोराछोरीको खुसीलाई सुख सम्झिइन् ।

बैंसमै लोग्ने गुमाएकी थिइन् । तामाका मुना जस्तै हुर्किएका थिए छोराछोरी । विद्यालय भर्ना गराइन् । पढ्न तीनै जना अब्बल निस्किए । विद्यालका सबै शुल्क मिनाह हुन थाले । अतिरिक्त क्रियाकलापहरुमा विद्यालयको इज्यत बढाए उनीहरुले ।

छोरा अनुज छात्रबृत्ति पाएर बेलायत पुगेको थियो । छोरी एशिया डि.भी. परेर अमेरिका गएकी थिई । कान्छी छोरी एरिया अष्टे«लियामा बस्थी । अनुज र एशियाको घरबार उतै बसिसकेको थियो । एरिया अविवाहित नै थिई । बसन्तीका दःुखका दिन सकिएका थिए ।

मिहिनेती थिए बसन्तीका सन्तानहरु । काठमाडौंको गौशालामा चारतले घर बनिसकेको थियो । काम गर्ने मधु सहित काठमाडौं आएकी थिइन् बसन्ती । गाँउ छोडेको पनि पन्ध्र बर्ष भै सकेको थियो ।

बसन्ती घरको चौथो तलामा बस्थिन् । पहिलो तलाका सटरहरु भाडामा थिए । दोस्रो र तेस्रो तलामा जागृति विकास बैंक थियो । भाडा बापत आउने पैसा बैंकको खातामा जम्मा हुन्थ्यो ।

वसन्तीका काठमाडौंमा आफ्ना भन्ने बृद्धाश्रमका बुढाबुढी थिए । आफ्नै घरमा बस्ने धेरैलाई चिन्दिनथिन् उनी । कसैसंग आवतजावत हुदैनथ्यो । सबै आ–आफ्ना काममा ब्यस्त । बोल्ने फुर्सद हुँदैनथ्यो कसैलाई । बसन्ती कहाँ जान्थिन् ? के गर्थिन् ? कसैलाई चासो थिएन । नजिक भएर पनि टाढा थिए उनीहरु । न बसन्तीको दोष थियो, न बहालवालाको । बजारीया संस्कार धानेका थिए सबैले ।

चम्पाले बसन्तीको निकै ख्याल गर्थिन् । सोमबार भेट नभएमा मंगलबार फोन गरिहाल्थिन् । यस पटकको सोमबार बसन्ती बृद्धाश्रम गइनन् । चम्पाले फोन लगाइन् । सन्चो विसन्चो सोधिन् । बृद्धाश्रम नआउनुका कारण खोजिन् । घरमा अष्ट्रेलियाबाट छोरीका साथीहरु आएका रहेछन् । एक हप्ते भ्रमणमा आएका रे । अविवाहित भएर पनि एउटै कोठामा सुतेको देखेर अनौठो लागेछ बसन्तीलाई । ब्वाय फ्रेन्ड र गर्ल फ्रेन्ड रे । हाम्रो संस्कार विपरीत । न जात भात खोज्नु पर्ने । न सिन्दुर हाल्नुपर्ने । न जग्गे घुम्नु पर्ने । घत लाग्दा कुराहरु सुनाइन् बसन्तीले ।

मधु गाँउ गएकी थिई । फर्किएकी थिइन । बसन्तीको खुबै ख्याल गर्थी । सन्चो विसन्चो सोध्थी । खाना कर गरेरै खुवाउँथी । छोरा छोरीको पनि मन जितेकी थिई मधुले । मधु नभएका बेला थपिएका पाहुनाले केही धपडी भएको थियो वसन्तीलाई ।

चम्पा र बसन्ती खुबै मिल्थे । एकै घरका दिदी बैनी जस्ता । माया ममता थियो । दःुख सुख साटासाट गर्थे । चम्पाका पनि आफ्ना भन्ने कोही थिएनन् । उनी निसन्तान थिइन् । औषधिमूलो भएर पनि उनलाई सन्तान भएनन् । लोग्ने मरेपछि उनी एक्लिएकी थिइन् आफ्नो सबै बृद्धाश्रमलाई दान गरेकी थिइन । आश्रममा बस्न थालेको पनि चौध वर्ष पुगेछ । आफ्नै घर ठानेकी थिइन् आश्रमलाई । हरेक बृद्धाबृद्धलाई परिवारका सदस्य । यही थियो उनको एकमात्र सहारा । बसन्ती दिदी खास थिइ्न उनकी ।

बृद्धाश्रम हुने खाने र हुँदा खाने दुबैको छहारी थियो । केही दिन अघि मात्र बृद्धाश्रममा एउटी बृद्धा थपिएकी थिइन् । बृद्धभत्ताका लागि लगाइएको औंठा छापले उनलाई घरबारविहिन बनाएको थियो । आफ्नो छोराले गरेको घात सम्झेर उनी इन्तु न चिन्तु थिइन् । विश्वासको अभाव दिन दिनै खट्कदो थियो । आफ्ना भनेका पनि आफ्नै देखिन थालेका थिए । धनको मुख कालो हुन थालेको थियो ।

मधु घरबाट अभैm फर्केकी थिइन । बसन्तीलाई खाना खान मन लाग्न छोडेको थियो । हात खुट्टा करकरी खान थालेका थिए । टाउको भारी हुँदै गएको थियो । शरीर कमजोर बन्दै थियो । छोरा छोरीलाई बताएकी थिइनन् । सन्चो विसन्चोको धेरै कुरा लुकाउँथिन् उनीहरुलाई । पिर मान्लान् कि भन्ने डर थियो । छोराछोरी सधैं हाँसेको हेर्न चाहन्छन् सबैका बाबुआमाहरु । घरमा तलमाथि गर्न पनि गाह्रो हुँदै गएको कुरा चम्पालाई मात्र थाहा थियो ।

साँझको खानापछि बसन्तीलाई बान्ता भयो । शरीर थर्थरी काँप्यो । हनहनी ज्वरो बढ्यो । चट्चटी पसिना आयो । वरपरका सबै सामान धुम्न थाले । भँुइचालो आए जस्तो भयो । अन्तत सन्तुलन बिग्रियो । बेहोस भइन् उनी । मोटो शरीर भूँइमा पछारियो ।

बिहान सात बजेतिर दुध लिएर सिताराम आए । घण्टी बजाए । घर सुनसान थियो । बसन्तीलाई बोलाए । उनी बोलिनन् । दुधको भाँडो बोकेर ढोकामा पुगे । ढोका खुलै थियो । ‘बसन्ती दिदी, ए ! बसन्ती दिदी,…..।’ आवाज आएन । उनी सोझै भान्साकोठातिर लागे । बसन्तीको अचेत शरीर लतमन्न ढलेको थियो । बोलाए । झक्झकाए । मुर्छित थिइन् उनी । आत्तिए । चिच्याउँदै तल ओर्लिए । दोस्रो तलामा बैंकका सुरक्षागार्ड मोहित भेटिए । सीतारामले उनैको सहयोगमा टिचिङ अस्पतालसम्म पु¥याए ।

डक्टरहरुले तुरुन्तै उपचार गर्न मानेनन् । धरौटीको अभावमा उनको उपचारमा ढिला भैरहेको थियो । तिजौरी र बैंकमा भएको पैसाले काम दिएन । बैंकका मेनेजरले उपचारको बन्दोवस्त मिलाइदिए । सघन उपचार कक्षमा उनको उपचार सुरु गरियो ।

दुई दिनपछि मात्र वसन्तीको होस आयो । हात खुट्टा राम्ररी चलेनन् । बोली फुटेन । मुखबाट ¥याल बगिरहन थाल्यो । शरीरको तापक्रममा नियमितता थिएन । घरि निकै तातो हुन्थ्यो घरि निकै चिसो । बोल्न खोज्थिन, सक्दिनथिन् । हातको इशारा कामयाव भएको थिएन । आँखाले चारैतिर केही खोजिरहेको आभाष हुन्थ्यो । उनको खोजाइ चम्पा हुन सक्थिन् । एशिया हुन सक्थिन् । एरिया हुन सक्थिन् र हुन सक्थ्यो अनुज ।

सोमवार पनि वसन्ती बृद्धाश्रम गइनन् । चम्पाले फोन गरिन् । बसन्तीको फोन बन्द थियो । चम्पालाई शंका भयो । उनी घर आइपुगिन् । सम्पूर्ण खबर सुनेपछि अस्पताल पुगिन् । बसन्ती अचेत अवस्थामा ढलेकी थिइन् । बैंकका पियन कुरुवा बसेका थिए ।

चम्पा आत्तिइन् । बसन्तीका खुट्टा छामिन् । हात अठ्ठाइन् । कपाल मुसारिन् । आँखामा आँसु रोकिन मानेनन् । चम्पाका दुई थोपा आँसु बसन्तीका निधारमा टप्किए । उनी चलमलाइन् । आँखा खोलिन् । चम्पालाई ठम्याउने कोशिष गरिन् । सायद ठम्याउन सकिनन् । बसन्तीको खोजि एसियाको थियो । अनुजको थियो । एरियाको थियो ।

चम्पाले अनुजलाई फोन गरिन् । दिदीहरुलाई फोन आफै गरे अनुजले । विदेशको नियम कानुन । भन्ने वित्तिकै टिकट मिलेन । कागजपत्र मिलाउदा मिलाउदै समय लाग्यो उनीहरुलाई ।

टर्कीको विमान नेपालको अन्र्तराष्ट्रिय विमानस्थलमा दुर्घटना ग्रस्त अवस्थामा थियो । धावन मार्गबाट हटाउन प्राविधिक टोली दुई दिनदेखि प्रयासरत थियो । सफलता मिलेको थिएन । बंगलादेशको टोली झिकाइएको थियो । आइपुगेको थिएन । बिमान यात्रा तीन दिनदेखि पूर्णरुपले बन्द थियो । हातमा टिकट थियो । मनमा छटपटी । आमाको सम्झनाले तड्पाइरहेको थियो । शंका उपशंका उठ्थ्यो मनमा घरिघरि ।

बसन्ती गल्दै थिइन् । सम्पतीलाई पर्दाको सहारा मानिन्छ । छोराछोरीलाई जिउँदो र मर्दाको सहारा मानिन्छ । बसन्ती पाँच–पाँच सन्तान जन्माएर पनि एक्ली थिइन् । तिजौरीमा पैसा थन्काएर पनि रितो भएकी थिइन् । न पैसा काम लागिरहेको थियो न सन्तान नै साथमा थिए ।

उमर्को लाग्न थाल्यो । डक्टरहरुलाई उछिनिन् बसन्तीले । लामो सास तानिन् । खुट्टा तनक्क पारिन् । चम्पालाई च्याप्प समाइन् । घाँटी ध्वार्र–ध्वार्र गरेको केही बेरमै प्राण पखेरु उडेर गयो । बसन्तीको मृत शरीर चम्पाको काखमा थियो । चम्पा चिच्याइन् । छटपटाइन् । के गरौं, गरौं भयो । केही गर्न सकिनन् ।

अनुजको फोन आयो । उठाउन सकिनन् । फोनको घण्टी एकोहोरो बज्न थाल्यो । अनुज, एशिया र एरियाका फोनका घण्टीहरु रोइरहे जस्तो लाग्यो । मन दह्रो पारेर अनुजलाई अशुभ समाचार सुनाइन् चम्पाले । फोनका घण्टी बन्द भए । मुर्दा शान्ति छायो केही बेर ।

वसन्तीको मृत्यु भएको दुई दिन भैसकेको थियो । मृत शरीर कुरेर बसेकी थिइन् चम्पा । अस्पतालले बसन्तीको शव उठाउन दबाव दियो । विमानस्थल चालु भैसकेको थिएन । फेरि अर्को बाध्यता बन्यो चम्पाको । शव अस्पताबाट उठाउनु पर्ने भयो । मर्दा काँध थाप्ने छोरा छोरी काम लागेनन् । बैंकमा थुपारिएको पैसाले बचाउन सकेन बसन्तीलाई ।

चम्पाका आफ्ना कोही थिएनन् । बसन्तीसँग सबै थियो । छोराछोरी थिए । घर बङ्गला थियो । न खानको दुःख न लगाउनको । सबै भएर पनि एक्ली थिइन् । न पैसा काम लाग्यो न छोराछोरी । दुधवालाले नदेखेको भए उनी त्यही बङ्गलामा सड्थिन् । कुहिन्थिन् । दुर्गन्धित हुन्थिन् । धन्न अस्पतालसम्म पु¥यायो भाग्यले । चम्पासँग भेट गराइदियो भगवानले । छोराछोरीको सपनाले एक्लाएको थियो । विदेश मोहले छुट्टाएको थियो उनलाई । वसन्तीसँग आफूलाई तुलना गरिन् चम्पाले । केही फरक देखिनन् । सम्पत्ति, छोराछोरीकी रित्ती थिइन् चम्पा । बसन्ती छोराछोरी र सम्पत्ति भएर पनि रित्ति देखिइन् ।

छोराछोरीको सल्लाहमा शव आर्यघाट पु¥याइयो । बृद्धाश्रमका कर्मचारीले सहयोग गरेका थिए चम्पालाई । दाहसंस्कार सुरु भयो । फूल चढाइन् । माला पहि¥याईन् । चीतालाई नमन गरिन् । बसन्ती चीतामा लम्पसार थिइन् । केही बेरमा धँुवा बन्दै थिइन् । पञ्च तत्वबाट निर्मित शरीर प्रकृतिसंग मिल्दै थियो ।

बसन्तीको नजिककी आफन्त चम्पा थिइन् । पण्डितले वाच्य बोले । सुनको टुक्रा मुखमा राख्न पठाए । बसन्तीको नाकको फुली निकालियो । बन्द भएको मुखमा जवरजस्ति राखी दिइन् चम्पाले । आगो समातेर तीन पटक परिक्रमा गरिन् चीतालाई । छोराको जिम्मेवारी पुरा गर्दै थिइन् चम्पा । दाग वत्ती दिइन् । दूई थोपा आँसु तप्प चुह्यो । आँसुले तेलको काम गरेझंै भयो । चीता दनदनी दन्कन थाल्यो । धुँवाको मुस्लो मडारिदै माथि–माथि उड्न थाल्यो । केही बेरमा वसन्तीको जड शरीर धुँवा बन्दै हावामा बिलिन भयो ।

प्रतिक्रिया दिनुहोस