कुटनीतिक सम्बन्ध सडकमा उठाएर नहुने परराष्ट्रमन्त्रीको भनाइ « प्रशासन
Logo ३० आश्विन २०७८, शनिबार
   

कुटनीतिक सम्बन्ध सडकमा उठाएर नहुने परराष्ट्रमन्त्रीको भनाइ


७ माघ २०७३, शुक्रबार


चितवन । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले कूटनीतिक सम्बन्ध सडकमा उठाएर नहुने भन्दै दुई देशबीच टेबलमा बसेर सल्टाउनु पर्ने बताएका छन् ।

चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री महतले सडकमा गालीगलौज गरेर कूटनीतिक सम्बन्ध सुध्रिने होइन, बिग्रिने बताए । उनले भने“समर्थन र विरोध सडकमा गरेर कूटनीति चल्दैन ।”

छिमेकी देश चीन र भारतसँग कुटनीतिक सम्बन्ध सुमधुर हुँदै गएको भन्दै उनले खुल्ला सीमा, डुबान समस्यालगायतका कारण भारतसँग जति समस्या छन् चीनसँग नरहेको बताए । जहाँ बढी समस्या छ, त्यहाँ बढी छलफल हुने भएकाले भारतसँग नजिकजस्तो देखिए पनि दुवै देशसँगको सम्बन्ध समदुरीको रहेको उनको भनाई थियो ।

चीनतर्फको कोदारी नाका खोल्न चीन सरकार तयार रहेको भन्दै उनले केरुङलाई विस्तार गर्ने विषयमा पनि छलफल भइरहेको बताए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका लागि छलफल गर्न सचिवस्तरीय संयन्त्रलाई पत्र लेखिसकिएको पनि उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस