नगरवासी भन्छन्ः ‘प्रहरी मेरो साथी’ भएन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नगरवासी भन्छन्ः ‘प्रहरी मेरो साथी’ भएन


६ माघ २०७३, बिहिबार


बनियानी (झापा) । झापा भद्रपुरका नगरवासीले ‘प्रहरी मेरो साथी’ नभएको गुनसो गरेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरले ‘प्रहरी मेरो साथी’ भन्ने मूल नाराका साथ बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले त्यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा स्थानीयवासी खड्ग लिम्बूले प्रहरी मेरो साथी अभियानमा मात्र सीमित रहेकाले सर्वसाधारण अहिले पनि प्रहरीसँग डराउने गरेको बताए । प्रहरीले निर्दोष र दोषीको पहिचान नगरी हचुवाको भरमा कारबाही गर्दा सर्वसाधारणमा डर फैलिएको उनको आरोप छ ।

त्यस्तै, अर्का स्थानीयवासी हेमलाल भट्टराईले सीमा क्षेत्रमा पशुजन्य चौपायाको तस्करी प्रहरीकै मिलेमतोमा भइरहेको दाबी गरे । उनले सीमामा प्रहरीले चेकजाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको गुनासो पोखे । नगरवासी हजरत अलीले बजार क्षेत्रमा मात्र प्रहरी बढी केन्द्रित हुने गरेकाले नगरको अन्य क्षेत्रमा सुरक्षामा चुनौती थपिएको बताए ।

प्रहरी मेरो साथी भन्ने नाराजस्तै नगरवासीले प्रहरीलाई साथी मानेर सहयोग गरेमा मात्र नगरको शान्तिसुरक्षामा सुधार आउने प्रहरी निरीक्षक कुलप्रसाद चौधरी बताए । कुनै पनि प्रहरीले कानुन विपरीत काम गरेमा विभागको नियमअनुसार कारबाही गरिने उनले आश्वासनसमेत दिए ।

भद्रपुर भारतको विहार र बङ्गाल राज्यसँग जोडिएको बताउँदै दरबन्दी अनुसारको प्रहरी नहुँदा केही समस्या भएको उनले बताए । एकजना प्रहरी निरीक्षकसहित ९५ जना प्रहरीको दरबन्दी हुनुपर्नेमा ४२ जना प्रहरी मात्र कार्यरत रहेको प्रनि चौधरीले जानकारी दिए ।

कार्यालय भवन अभावले प्रहरी नपठाउँदा बृहत् नगरको सुरक्षामा व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस