नेपालमा एउटा साहित्यिक र सांस्कृतिक संग्रहालय आवश्यक छ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालमा एउटा साहित्यिक र सांस्कृतिक संग्रहालय आवश्यक छ


प्रशासन विशेष ब्युरो

२ माघ २०७३, आइतबार


नेपाल प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वद्र्धन र विकास गर्ने उद्येश्यले स्थापना भएको प्राज्ञिक संस्था हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना अनुसार साहित्य कला प्रतिष्ठानको नामबाट वि.सं. नेपाल २०१४ सालमा स्थापना भएको यो संस्था २०२४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान हुँदै प्रजातान्त्रिक संघीय गणतन्त्र पश्चात नेपाल प्रज्ञा प्रतिष्ठानका नामले परिचित छ ।

नेपाली भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्बद्र्धन र विकास गर्न काठमाडौंलगायत आवश्यकता अनुसार देशका विभिन्न स्थानमा शाखाहरु रहेको नेपाल प्रज्ञा प्रतिष्ठानले कसरी आफ्नो दायित्व र जिम्मेवारीलाई बहन गरिरहेको छ ? प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले के गरिरहेका छन् र उनका थप सुधारका योजनाहरु के के रहेका छन् भन्ने बिषयमा हाम्रा विशेष प्रतिनिधि सिद्धराज उपाध्यायले कुराकानी गर्नुभएको थियो । उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश:

 

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिको रुपमा यहाँले कति अवधि पुरा गर्नु भयो ?
नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिको अवधि चार वर्षको हुन्छ । अब १८ महिना बाँकि छ ।

कतिको विझाउछ कुर्सी ?
सार्वजनिक संस्थानको चिफ भएर बस्दा यहाँले भनेजस्तै निकै बिझाँउदो रहेछ । अनेक प्रकारका समस्या छन् । बजेट कम हुन्छ । सरोकारवाला सबैको महत्वकाङक्षा बढी हुन्छ । पुग्दैन । त्यसो हुनाले अलिअलि यहाँले भनेजस्तो बिझाउछ नै । त्यति हुँदा पनि समस्यासँग जुध्ने र समाधान दिने भएकोले एक प्रकारको आनन्द दिने नै हुन्छ । त्यसकारण बिझाए पनि त्यो सम्झिने प्रकारको नै हुन्छ ।

तपाई आफ्नो कार्यकाललाई सरसर्ति फर्केर हेर्दां कत्तिको सफल या असफल मान्नुहुन्छ ?
सफलता र असफलताको मुल्याँकन हामीले होइन, तपाइहरुले गर्ने हो । मेरो कार्यकाल प्रज्ञाप्रतिष्ठानमा यो दोस्रो कार्यकाल भन्दा पनि हुन्छ । यो भन्दा अगाडी म उपकुलपतिको हैसियतमा निर्णायकमै थिए । अहिले म कुलपतिको हैसियतमा पुगेको छु । मलाई लाग्छ, जुन प्रकारले नयाँ परिवेशमा नयाँ अनुभव अन्र्तगत जिम्मेवारी दिइयो त्यो जिम्मेदारी बहन गर्नका निम्ति हामीले सक्दो प्रयत्न गरेका छौ । त्यसको प्रतिफल पनि आएको छ ।

सास्कृतिक रुपमा, भाषागत रुपमा र अन्य मान्यताको रुपमा बहुलताबिचको एकताको प्रवद्र्धन गर्ने जिम्मेदारी हाम्रो हो । पहिला एकेडेमी एकल जातीय, एकल क्षेत्रीय भन्ने चार्ज थियो । त्यसलाई निवारण गर्दै हामीले बहुलताको सम्बोधन गर्ने सबै जातजाति, सबै भाषाभाषी, सबै क्षेत्रको एउटा साझा भावना दिन खोजेका थियौ । त्यस अन्तर्गत धेरै काम पनि गर्यौं । ११ वटा बिभाग बनाएर देशका विभिन्न भागमा प्रज्ञा प्रतिष्ठानलाई पुर्यायौं । जाँदा प्रज्ञाप्रतिष्ठान एक्लै गएन । त्याहाँ भाषा साहित्य संस्कृतिको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई सहयोगी बनाएर लग्यौं । यसले प्रकारको सकारात्मक सन्देशै गएको छ भन्ने मलाई लाग्छ ।


लामो साहित्यिक परम्परा र ज्ञान विज्ञान बोकेको प्रज्ञा भवनलाई अब हामी ज्ञानको संग्रहालयका रुपमा विकास गर्छौ । 

त्यसदेखि बाहेक यो नेपालको एउटै मात्र उच्चतम् प्राज्ञिक संस्था भएको हुनाले यसको अन्तराष्ट्रिय भूमिका पनि हुनुपर्छ । त्यसलाई मध्यनजर गर्दै छिमेकी देशका एकेडेमीहरुसंग सहकार्य अगाडि बढायौं । संस्थागत सम्बन्ध राख्दै प्राज्ञिक र सास्कृतिक आदानप्रदान गर्ने काम शुरु गर्यौं । अघिल्लो कार्यकालमा चीन र भारतका एकेडेमीसँग संस्थागत सम्बन्ध जोडेका थियौं । जस अन्तर्गत हामी दुई देशका एकेडेमी मिलेर दुइ पक्षिय महत्वका कुरामा गोष्ठि आयोजना गर्छौ, प्रकाशन गर्छौै र प्राज्ञहरुलाई एक अर्का देशमा आदान प्रदान गर्दै समस्याको चुरो पत्ता लगाउने प्रयत्न गर्छौ ।

चीनका दुइटा संस्था चाइना राइट एसोसियसन र चाइना फेड्रेसन अफ लिट्ररीआर्ट सर्कलसँग हाम्रो संस्थागत सम्बन्ध छ । त्यस्तै भारतीय साहित्य एकेडेमीसँग हाम्रो सम्बन्ध छ । सार्क मुलुकका राज्यद्वारा सञ्चालित ऐकेडेमीसंग सम्बन्ध विस्तार गर्ने क्रममा यसैवर्ष हामीले बंगलादेशको बंगला एकेडेमीसँग पनि प्रक्रिया अगाडि बढाएका छौं । र, अब उहाँहरु पनि आउदै हुनुहुन्छ । पाकिस्तान र श्रीलंकासँग प्रस्ताव राखेका छौ । उहाँहरुको उत्तरको प्रतिक्षामा छौ । प्राज्ञिक क्षेत्रमा रहेको अन्तराष्ट्रिय भूमिकालाई अन्य देशमा चिनाउने र अन्य देशको हामीले पनि चिन्ने अवसर सिर्जना गर्दैछौं । यसले नेपाल एकेडेमी साउथ एसियाको महत्वपूर्ण संस्था हो भन्नेकुरा हाम्रा सरोकारवाला छिमेकी राष्ट्रका प्राज्ञहरुलाई परेको छ । त्या पनि हाम्रो एउटा सकारात्मक पक्ष नै हो भन्ने लाग्छ ।

अन्य आन्तरिक व्यवस्थापनका पाटोमा के के काम भए नी ?
एकेडेमीको भौतिक पूर्वाधार आवश्यक थियो । सबैभन्दा ठुलो आवश्यकता लाईव्रेरीको व्यवस्थापन थियो । हालको पुस्तकालयमा सिमित कितावहरु छन्, ३०/४० हजार जति होलान् । यो भवन पहिले कचहरी गर्नका लागि बनाएको हुनाले यसले धेरै भार थाम्न सक्ने अवस्थामा छैन । अहिले भारत सरकारको सहयोगमा पाँच करोडको लागतमा तीन तलाको छुट्टै बैकल्पिक पुस्तकालय भवन बनायौं । जुन हस्तान्तरणको क्रममा छ । त्यसमा एउटा अन्तराष्ट्रियस्तरको सेमिनार हल हुन्छ । एक तलमामा हाम्रो पूर्ण लाईव्रेरी हुन्छ ।

हामीले एउटा नयाँ जापानिज प्रेस जुटाएका छौ । अब हाम्रा सामाग्रीहरु त्यसैमा छाप्छौ । प्रत्येक वर्ष हाम्रा दुई तिन दर्जन जति किताबहरु निस्किन्छन् ।

समस्याहरुको पनि त पहाडै होला नी ?
आर्थिक समस्या छ । ६० बर्ष अगाडी देखिका कर्मचारीको दायित्व हामीले व्यहोर्नुपर्छ । आजीवन सदस्यको पैसा दिनुपर्छ । कर्मचारीहरु पनि तुलनात्मक रुपमा बेसी छन् । ती कर्मचारीहरुका लागि ठुलो रकम जान्छ । सरकारले सिमित बजेट दिएको हुन्छ । आय आर्जन नगरीकन प्राज्ञिक कामहरुमा अलि गारो हुन्छ त्यसैले केही विजनेश प्लान बनाउनु पर्छ भन्ने सोच बनाएका छौं ।

हिरक वर्षमा पनि पुुग्यो हैन त एकेडेमी ?
हो, यो साल धेरै महत्वपूर्ण साल हो । हामी ६० बर्षमा पुग्यौ । हिरक जयन्ती मनाउदै छौ । विषेश महत्वपूर्ण हुनेछ । यसमा एकेडेमीको इतिहास लेखाउदै छौ । करिव दुई दर्जन जति महत्वपूर्ण ग्रन्थहरु तयार पारेर यो वर्ष भित्रमा सार्वजनिक गर्छौ ।

त्यसदेखि बाहेक प्राज्ञिक काममा ठूलो योगदान पुर्याएका तर प्रज्ञा प्रतिष्ठानबाट प्रत्येक्ष लाभ नलिएका प्राज्ञ देशभरी प्रशस्त छन्, तिनीहरुलाई छानेर दश जना जति प्राज्ञलाई पुरस्कृत र सम्मान पनि गर्छौ यही अवसरमा । खलबलिदो राष्ट्रिय सद्भावलाई जोड्नका लागि राष्ट्रिय रुपमा एउटा ठुलो सम्मेलन पनि गर्दैछौ त्यसमा बिभिन्न जातजातिका भेषभुषाको प्रदर्शन हुने र बहुलता भित्रको सुन्दरता झल्किने छ । देशभरीका प्रतिनिधि भेला पारेर भाषा, साहित्य, सस्कृति, सामाजिक शास्त्र र दर्शन लगायत विभिन्न राष्ट्रिय समस्याको बारेमा छलफल चलाउँछौ । पूर्व र पश्चिममा क्षेत्रीय सम्मेलन हामी गर्दैछौं ।

भर्खरै यो हिरक जयन्तीको अवसरमा अन्तराष्ट्रिय दर्शन सम्मेलन हामीले सम्पन्न गर्यौं । त्यो सम्मेलनमा तेह्र चौध वटा देशका १८/२० जना दर्शन सम्वन्धि विज्ञ, प्रोफेसरहरु आएका थिए । यसमा युरोप, अमेरीका, चीन, भारत, बंगलादेश, इन्डोनेसिया आदि देशका प्रतिनिधिहरुको संलग्नता थियो । समग्रमा भन्नुपर्दा राष्ट्रिय रुपमा पनि, अन्तराष्ट्रिय रुपमा पनि हामी सफलता साथ एकेडेमीलाई अगाडी बढाउदैछौ ।

एकेडेमीका उज्ज्वल मार्गका आधार र कारणहरु पनि केही उल्लेख गरिदिनुस न ?
नेपालको प्राज्ञिक पहिचान देखाउने आधार संस्था नै यही हो । यो संस्था मार्फत नै नेपालको प्राज्ञिक क्षमता के छ भन्ने कुरा संसारले जान्नु पर्छ, चिन्नु पर्छ । त्यसको जिम्मा सरकारले हामीलाई दिएको छ । सरकारलाई यो भएन भनेर होइन की हामीले यो गरेनौ भन्ने अवस्था आउछ । त्यो आधारलाई पुरा गर्नका लागि हामीसंग प्रयाप्त बजेटको व्यवस्था छैन । छिमेकीहरुको सहयोग राम्रो डिटरमिनेसन छ । त्यो नै हाम्रो पुरा गर्ने पूर्वाधार हो ।

बुँदागत रुपमा भनिदिनुस्, तपाइले त्यस्तो के चमत्कार गर्नुभयो वा गर्न खोज्दै हुनुहुन्छ ? जसका कारण सबै श्रष्टाहरुले यहाँलाई धन्यवाद भन्न सकुन् ?
मैले यो चमत्कार गरेँ भनेर त भन्न सक्दिन । म चमत्कार गर्न आएको पनि होइन । आफ्नो क्षमता अनुसार यसलाई समुन्नत अवस्थामा एक कदम अगाडी लैजाने भन्ने दृष्टिकोणले आएको हो । त्यसका लागि पहिलो कुरा यसका आयार्जनका स्रोतहरु बढाउनु पर्यो, यसका पूर्वाधार बनाउनु पर्यो । अहिले पनि यो भवन भूकम्पले क्षतविक्षत् छ । यसको पुनः निर्माण गर्दैछौ। यसको काम अर्को महिनादेखि शुरु हुन्छ ।

यो ऐतिहासिक भवन हो । यो भवनलाई भूकम्पले पनि ढाल्न सकेन । यसको बनोट निकै राम्रो रहेछ तर यो जीर्ण छ । कुनैबेला पनि खस्न सक्छ । हाम्रो अन्तराष्ट्रिय कन्फरेन्स हल बाहेकको दोस्रो भवन हो यो। १९९५ मा सार्क सम्मेलन यही भएको थियो । हाम्रै कार्यकालमा यो भवनलाई जिर्णोउद्दार गरेर अझै पचास वर्षसम्म आयु हुने गरी इन्जिनियरहरुबाट सबै चिज तयार पार्दैछौं । आर्थिक रुपमा सरकारले बजेट विनियोजन पनि गरेको छ सरकारको सहयोग आउने वित्तिकै यो पनि शुरु गर्छौ ।

बिवादहरुको भूमरीमा कत्तिको परियो नी ?
अरु एकेडेमी विभिन्न प्रकारका विवादहरु आइरहन्छन् । अस्ति सुन्नुभयो होला भाषाकै विवाद पनि भयो । यस्ता विवाद आइरहन्छन् । आउनु स्वभाविक पनि हो । हामीले ती कुनै पनि विवाद उठ्यो भने त्यसको पृष्ठभुमि के हो ? प्रभाव के हो ? त्यो कुरामा हामी सचेत रहनुपर्छ । त्यसले नकारात्मक प्रभाव पारेको छ र केही भ्रम सृजना गरेको छ भने त्यो भ्रम निवारणका निमित्त पनि हामीले केही निर्णय लिनुपर्छ ।

भाषाको बारेमा जुन ठुलो विवाद थियो प्रज्ञाप्रतिष्ठानले छलफल गरेर त्यसमा केही निर्णय लिनुपर्ने आवश्यक ठान्यो र त्यो विवादलाई सम्बोधन गर्यो । नेपाली भाषाको अहिले विकासित रुप छ । त्यो रुपमा आएका परिवर्तनलाई पनि समेट्दै केही निर्णयहरु गर्यौं । त्यो निर्णय सार्वजनिक भइसकेको छ । हाम्रो निर्णयले सरकारलाई र विश्वविद्यालयलाई पनि पाठ्यपुस्तक कसरी बनाउने भन्ने एक प्रकारको गाइडलाइन्स भएको छ । यिनै हुन् हामीले गरेका निर्णयहरु । अब यसलाई चमत्कार भन्नुहोस् कि जे भन्नुहोस् हामीले त काम न गर्ने हो । त्यो चमत्कार छ की छैन, की त्यसको सकारात्मक असर छ की छैन की, त्यो सफल छ की छैन भन्ने कुरा अभ्जर्भरहरुले बाहिरबाट हेर्ने हो ।

बाँकि कार्यकालका अधुरा र नयाँ कामबारे थोरै भन्दिनुस् न ?
मैले दुइटा कुरा चाहेको छु । तर त्यो हुन पनि सक्छ नहुन पनि सक्छ । एउटा कुरा जहाँ अहिले हामी बसिरहेका छौ, यो भवन काम चलाउका लागि हो । यो भवन प्रफ्रमेन्स आर्टका निमित्त बनाइएको अफिस हो । त्यतिवेला अन्त ठाउँ थिएन त्यसैले सम्पूर्ण प्रशासनिक ११ जना प्राज्ञहरु यही भवनमा एडजष्ट हुनुपरेको छ । कुलपतिको अफिस अलिकति कुलपतिको भन्न लायक छ अरु सबै बडो अप्ठ्यारोसँग बसिरहनुभएको छ । तर अब प्राज्ञहरुको प्रतिष्ठान निम्ति एउटा प्रशासनिक भवन बनाउन आवश्यक छ ।

पछाडि रहेका टहराहरुलाई हटाएर एउटा प्रशासकिय भवन बनाउने मेरो योजना छ । त्यस्को निम्ति प्रस्ताव पनि गरिएको छ । २०/२५ करोड रुपैया लाग्छ । थाहा छ सरकारबाट त्यत्रो बजेट आउदैन । त्यसका लागि एउटा मित्र राष्ट्रलाई हामीले प्रस्ताव पनि गरेका छौ । यदि प्रस्ताव स्वीकृत भयो र बनाइदियो भने स्तर बमोजिमको सबै कर्मचारी त्यही अट्ने हुन्छन् । नेपालको लामो साहित्यिक परम्परा र ज्ञान विज्ञान बोकेको यो भवनलाई अब हामी ज्ञानको म्युजियमको रुपमा विकास गछौं । अहिले साहित्यबाट सुरु गर्छौ र सस्कृतिबाट शुरु गछौ, गर्नुपर्ने दर्शनको पनि छ । सामाजिक शास्त्रको पनि छ ।

एउटा साहित्यिक र सांस्कृतिक संग्राहालय आवश्यक छ नेपालमा । अरु देशमा छ । बंगलादेशमा त निकै व्यवस्थित रहेछ । र, त्यस्तो संग्राहालय हामीकहाँ बनाउने हो भने हाम्रो साहित्यीक परम्परा, सांस्कृतिक परम्परा र हाम्रो चिन्तनको परम्परा सजिलै मान्छेले चिन्न सक्नेछन् ।

त्यसको लागि केही प्रयासहरु भइरहेको छ ?
कल्पना गरेर मात्र हुदैन । प्रशासकिय भवन बन्न सक्यो भने प्रयाप्त स्पेस रहन्छ । त्यसलाई हामी संग्राहालयमा लैजान्छौ । हामीसँग धेरै इतिहाससँग सम्वन्धित डकुमेन्टहरु छन् । क्यासेटहरु छन् । लुगाहरु छन् । बाध्ययन्त्रहरु छन् । तिनले नेपालको मौलिकता बोकेका छन् । तिनलाई लाईव्रेरीमा राखेर त्यहाबाट शुरु गर्छौ । त्यस पछाडी साहित्यको शुरु गर्छौै ।

कहिलेसम्म त्यसको शुरुवात होला र कहिले सम्म सम्पन्न होला ?
हाम्रो कार्यकालमा त सम्पन्न गर्न सक्दैनौं । त्यसको शुरुवात मात्रै गरिदिन्छौ । किनकी हाम्रो कार्यकालको अब १८ महिना मात्र बाँकि छ । त्यहाँ यो चिजमा यो बन्छ भन्ने भइसकेपछि काम त शुरु हुन्छ । लाईव्रेरी त हामी यसै वर्ष सार्छौ । त्यसपछि सामाजिक, सास्कृतिक संग्राहलय यही वर्ष शुरु गर्छौ । त्यसपछाडी यदि प्रशासकिय भवन बनाउन सकियो भने त्यो पनि हामी गर्न सक्छौ ।

अर्को महत्वपूर्ण परिकल्पना मैले गरेको छु । व्यापारिक हिसावले यो एकदमै महत्वपूर्ण ठाउ छ यो ठाउँ र भवनको आफ्नै इतिहास छ । भवनको पछाडीपट्टि केही जमिन रहेको छ । यसको सुन्दरता नव्रिगनेगरी आठ दश रोपनी जमिन उत्तर पट्टि बाँकि रहन्छ त्यसलाई लिज बेसिसमा पहिले बनाउने, अनि काम गरेर आफ्नो आम्दानी लिने र त्यसपछि फिर्ता गराउने सिष्टमबाट बिजनेश प्लान योजना आयोगमा पेश गरेको छु, सरकारमा पनि पेश गरेको छु । यसबाट २०/२५ वर्ष पछि ६०/६५ करोड आउँछ । अहिले एक/डेढ करोड मात्रै आउँछ । यद्यपी यो चाहि सपना मात्रै हो । तर सरकारले राम्रै भन्यो भने आउने साथिहरुले लागु गर्न सक्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस