पारस खड्का धनगढीको कप्तान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पारस खड्का धनगढीको कप्तान


प्रशासन विशेष ब्युरो

२१ पुस २०७३, बिहिबार


काठमाडौं । सर्वाधिक धन राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डिपिएलका लागि टोली र कप्तान घोषणा गरिएको छ ।

फ्रेन्चाइज शैलीमा छनौट गरिएका विभिन्न ६ शहरका ६ वटा टिम रहेका छन् । धनगढी क्रिकेट एकेडेमी र सुदूर पश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा चैत ५ गतेदेखि १९ गतेसम्म हुने धनगढी प्रिमियर लिगमा काठमाडौं, बिराटनगर, रुपन्देही, धनगढी, अत्तरिया र कन्चनपुरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगीतामा काठमाडौंको गोल्डेन्स, बिराटनगरको किंग्स, रुपन्देहीको च्यालेन्जर्स, धनगढीको टिम चौराहा, अत्तरियाको सिबाइसी र कन्चनपुरको आइकोनिकबाट क्रमश बसन्त रेग्मी, शरद भेषवाकर, शक्ति गौचन, पारस खड्का, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी कप्तान रहेका छन् ।

लक्की ड्रबाट कप्तानको छनौट गरिएको उक्त लिगका कप्तानले १ लाख ५० हजार पारिश्रमिक पाउनेछन् । प्रत्येक टिममा कप्तान सहित १५ खेलाडी हुनेछन् र खेलाडीका लागि शनिबार राजधानीमा लिलामी हुँदैछ ।

नेपाल क्रिकेट प्लेयर एसोसियसनको सहकार्यमा दर्ता भएका खेलाडीहरूलाई चार तहमा विभाजन गरिएको छ। जसको ए ग्रुपका खेलाडीहरूले न्यूनतम् ५० हजार, बी ग्रुपका खेलाडीको ३० हजार, सी ग्रुपकाको २५ हजार र डी ग्रुपका खेलाडीहरूको २० हजारबाट बोली सुरू हुनेछ। जुनसुकै ग्रुपका खेलाडीहरू टिमले लिन चाहेमा न्यूनतम रकममा बढाबढ गर्नुपर्नेछ।

आयोजकका अनुसार कुल अनुमानित लागत १ करोड ६० लाख रहेको प्रतियोगिताको बिजेताले १५ लाख, उपबिजेताले ७ लाख रूपैयाँ पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले मोटरसाइकल पाउनेछन्।

डिपिएल टि–२० को आधारमा खेलाइने आयोजकले जनाएको छ। लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको बिजेता फाइनल पुग्नेछ। पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको बिजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछन् ।

आयोजक डिसिएका अध्यक्ष शाहीका अनुसार एसपिए कपको सुरुवात सन् २०१० (४ लाख बजेट, प्रथम पुरस्कार २५ हजार) मा गरिएको थियो। सन् २०११ (१३ लाख कुल बजेट, प्रथम पुरस्कार १ लाख), सन् २०१३ (२५ लाख बजेट, प्रथम पुरस्कार २ लाख) र सन् २०१५ को चौथो संस्करण (६० लाख बजेट, बिजेतालाई ५ लाख, उपबिजेतालाई ३ लाख पुरस्कार) सम्पन्न भएको थियो।

त्यस्तै, पहिलोपटक विभिन्न पाँच वटा स्थानहरूको नामबाट टिम बनाएर गत वर्ष आयोजना गरिएको अक्सनमा आधारित सगरमाथा सिमेन्ट डिसिएल ३ मा बिजेतालाई ३ लाख र उपबिजेतालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार दिइएको थियो । दुबै प्रतियोगिताको मर्जर स्वरुप डिपिएल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस