लोन्ली प्लानेटको छुटाउन नहुने गन्तव्यमा पुनहिल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लोन्ली प्लानेटको छुटाउन नहुने गन्तव्यमा पुनहिल


१९ पुस २०७३, मंगलबार


बेनी (म्याग्दी) । विश्वको प्रख्यात पर्यटन गाईड लोन्ली प्लानेटले नेपालमा घुम्नुपर्ने १० वटा गन्तव्यमा पहिलोपटक म्याग्दीको पर्यटकीयस्थल पुनहिल समावेश गरिएको छ ।

सन् २०१७ मा घुम्नु पर्ने विश्वका पाँचौँ उत्कृष्ट गन्तव्यमा नेपाल परेपछि नेपालभित्रका १० वटा गन्तव्यमा घार गाविसअन्तर्गत पर्ने घोरेपानी तथा पुनहिलमा एकपटक पुग्नैपर्ने भनी व्याख्या गरिएको छ ।

दक्षिण एसियाबाट नेपाल मात्रै समावेश भएको विश्वको उत्कृष्ट गन्तव्यअन्तर्गत नेपालका चर्चित र प्रमुख पर्यटकीयस्थलका बारेमा गरिएको व्याख्यामा धौलागिरि अञ्चल, मुस्ताङ जिल्ला र म्याग्दीको घोरेपानीलाई उल्लेख गरिएको छ । लोन्ली प्लानेटले उपल्लो मुस्ताङलाई चार वर्ष अगाडि विश्वकै चर्चित पर्यटकीय स्थलको रुपमा समेत समावेश गरेको थियो ।

हरेक वर्ष अङ्ग्रेजी वर्षको सुरुवातमै सार्वजनिक हुने सूचीमा नेपालभित्र १० वटा पर्यटकीयस्थलमा मुगु जिल्लास्थित नेपालकै सबैभन्दा ठूलो रारा ताल, म्याग्दीको पुनहिल, मुस्ताङको जोमसोम र मुक्तिनाथ मन्दिर, बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा पर्ने खप्तड राष्ट्रिय निकुञ्ज, सुनसरी, सप्तरी र उदयपुर जिल्लाको कोसीटप्पु वन्यजन्तु आरक्ष, इलाम जिल्ला, बर्दिया राष्ट्रिय निकुञ्ज, रसुवाको लाङटाङ, नवलपरासी र गतवर्षको विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाक समावेश गरिएको छ ।

बेलायतबाट प्रकाशित हुने डेली मेल र अमेरिकाको रोयटर्सले समेत आफ्नो अनलाइनमा समावेश गरेको समाचारले म्याग्दीका पर्यटन व्यवसायी समेत उत्साहित भएका छन् ।

नेपालभित्रका उत्कृष्ट गन्तव्यमा किन राखिएको भन्ने विषयमा समेत लोन्ली प्लानेटले व्याख्या गरेको छ । म्याग्दी जिल्लाको घोरेपानी पहिलोपटक लोन्ली प्लानेटको सूचीमा परेको हो । जिल्लामा भित्रिने करिब ७० प्रतिशत पर्यटकको हिस्सा ओगटेको घोरेपानी हुँदै शिखको पाउद्वारस्थित खोप्रालगायतका क्षेत्रमा जान सकिन्छ ।

कास्कीको पोखरा–नयाँपुल, घान्दु्रक हुँदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिख हुँदै घोरेपानी र नागी–महरेडाँडा हुँदै पुनहिलमा जान सकिन्छ ।

समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलमा मनोरम हिमशृङ्खला, मगर जातिको संस्कृति र रहनसहन, विविध प्रजातीका पशुपक्षी, वनस्पतीको साथै सूर्योदयको अवलोकन, स्थानीय कला तथा मगर नृत्यलगायत प्रस्तुत गरी पर्यटकलाई आकर्षित गर्ने गरिएको छ ।

विश्वका उत्कृष्ट १० गन्तब्य भित्र पर्ने अन्नपुर्णमा २१ दिने अन्नपूर्ण परिक्रमा पदयात्रामार्गअन्तर्गत घोडेपानी १७ देखि १९ दिनको सुन्दर गन्तव्यको सूचीमा रहेपनि सडक विस्तारले १० दिनभित्र नै पुग्न सकिन्छ ।

विश्वभरका पर्यटकको गाईडका रुपमा समेत चिनिएको लोन्ली प्लानेटले तथ्य र तथ्याङ्कका आधारमा छनोट गर्ने भएकाले पनि विश्व पर्यटन सङ्गठनले समेत अनुमोदन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस