कुष्ठरोग निको भइसक्दा समेत जीवन धान्न धौ-धौ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कुष्ठरोग निको भइसक्दा समेत जीवन धान्न धौ-धौ


१८ पुस २०७३, सोमबार


रुकुम । कुष्ठरोग लागेपछि अरुलाई पनि सर्छ भन्ने अन्धविश्वासका कारण रुकुमको बाँफीकोटकी एक महिला ४० वर्षदेखि खोलाको किनारमा बस्दै आउनुभएको छ ।

बाँफीकोट–८ की ६० वर्षीया तुलसा केसी कुष्ठरोगकै कारण ४० वर्षदेखि स्थानीय ढार्नेखोलाको छेउमा बस्न बाध्य हुनुभएको हो । सानै उम्मेरमा कुष्ठरोग भएपछि उहाँलाई आफन्त र गाउँलेले खोलाको किनारमा बनाइदिएको सानो छाप्रोमा बस्दै आउनुभएको हो ।

१३ वर्षको उम्मेरमै कुष्ठरोग लागेको र त्यस बेलादेखि आफू एक्लै बस्दै आएको केसीले बताउनुभयो । लामो समयदेखि कुष्ठरोगले पीडित बनेकी केसीलाई अहिले भने सञ्चो भइसकेको छ । रोग सञ्चो भए पनि गाउँमा आफूलाई हेर्ने दृष्टिकोण नफेरिएको उहाँको गुनासो छ । “अहिले पनि गाउँमा कतै म जाँदा कुष्ठरोगी आई भन्दै सबै टाढा भाग्छन्, केसीले भन्नुभयो त्यही भएर पनि म यही कटेरोमा (सानो छाप्रो) बस्छु ।” उहाँ अहिले अपाङ्ग बन्नुभएको छ । केसीका हात, खुट्टाका औँला छैनन् भने शरीरमा गाठागुठी परेका छन् ।

सुनसान खोलाको छेउमा रहेको सानो छाप्रोमा बस्ने केसीले गाउँमा मागेर छाक टार्ने गरेको बताउनुभयो । बस्ने बास, खाने गाँसका साथै रात काट्नको लागि कपडा समेत नभएपछि अहिले चिसोमा निकै समस्या भएको उहाँले बताउनुभयो । “चिसोको समयमा त रातभरि आगो बालेरै बस्छु, चिसोले सुत्न सक्दिन उहाँले भन्नुभयो, मलाई सहयोग गर्ने कोही भए कपडा र यो मेरा घर बनाइदियोस् ।” रोग लागेपछि औषधि उपचार गर्ने ठाउँ नहुँदा धामीझाँक्रीको कारणले गर्दा आफू अपाङ्ग भएको केसीको भनाइ छ । उहाँ अहिले लट्ठीको सहाराले गाउँघरमा जानआउन सक्नुहुन्छ । अहिले पनि केसीलाई कसैले घरभित्र जान भने दिँदैनन् । गाउँ घरमा गए पनि आँगनभन्दा टाढाबाटै खानेकुरा माग्ने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस