दुईखाले अतिवादको खतराः मन्त्री लेखक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दुईखाले अतिवादको खतराः मन्त्री लेखक


प्रशासन विशेष ब्युरो

१७ पुस २०७३, आइतबार


भक्तपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मुलुकमा अहिले दुईखाले अतिवादको खतरामा रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले आज ४१ औँ मेलमिलाप दिवसको अवसरमा भक्तपुरमा आयोजना गरेको विचार गोष्ठीमा मन्त्री लेखकले मुलुकमा अहिले संविधान नै नमान्ने र संविधानमा संशोधन गर्नै हुन्न भन्ने दुईखाले अतिवाद हाबी रहेको बताउनुभएको हो ।

दुबैखालको अतिवादले मुलुकलाई द्वन्द्वमा धेकेलेर विखण्डनको मार्गमा पु¥याउनेतर्फ सचेत गराउँदै उहाँले भन्नुभयो,–“एकाथरि अतिवादले संविधानलाई कागजको खोस्टो भन्छ र अर्को अतिवादले संविधानमा कमा, पूर्णविराम पनि परिवर्तन हुन्न भन्छ, आखिर यी दुबैखाले अतिवादले मुलुकलाई द्वन्द्वमा लगेर विखण्डनको मार्ग अवलम्बन गर्छ ।”

मन्त्री लेखकले सहमतिका लागि सरकार संशोधन विधेयकलाई परिमार्जन गर्न तयार रहेको बताउँदै विगतमा एमाले र काँग्रसबीच संविधान संशोधनका लागि सम्झौता भएको उल्लेख गर्नुभयो ।

आन्दोलन छोडेर समस्या समाधानका लागि संसदीय प्रक्रियामा आउन एमालेलाई आग्रह गर्दै उहाँले संसद अवरोधले संवैधानिक र लोकतान्त्रिक प्रक्रिया नै अवरुद्घ हुने बताउनुभयो ।

मन्त्री लेखकले सरकारले संशोधनको गलत प्रस्ताव गरेको भए संसदीय प्रक्रियाबाट असफल बनाउन विपक्षी दललाई चुनौती दिनुभयो ।

मन्त्री लेखकले सरकार संसदमा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जन गरेर सहमति खोज्न तयार रहेको बताउनुभयो । दलहरू मिलेर संविधान कार्यान्वयनमा जानुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सांसदद्वय रामेश्वर ढुङ्गेल र मनमोहन भट्टराई, काँग्रेस भक्तपुर जिल्ला अध्यक्ष दूर्लभ थापालगायतले संसदलाई बन्दक बनाउने कार्य अन्त्य गर्दै देशको राजनीतिक अवरोधलाई छिटो निकास दिएर निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस