बाबाको भाषण र मेरो कविता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाबाको भाषण र मेरो कविता


प्रशासन विशेष ब्युरो

१६ पुस २०७३, शनिबार


धुरी हल्लाउने बाबाको उत्तेजित भाषण
मदिराका गनाउने वाछिटा
मेरो कविताको टिठलाग्दो अनुहार
दोहोरी खेल्छन् आपसमा
खान बस्नु अगावै हर साँझ-अगेनामा

विचारको मलजल हालेर
कविताका हरिया फाँटहरुमा
शब्दहरु उमारेर
जहाँ म अक्षरको खेती गर्छु
बा तिनै कापीका सेता गरामा गएर
पहेंलो बान्ता ओकेल्छन्, गालीहरुको
र भन्छन् –
ए नाथे ! के झार उमारेको यस्तो ?
न फुल्ने ………न त फसल दिने

बा म सक्दैन चपाउन
आर्कमिडिजका फलामे शिद्दान्तहरु
न बन्न सक्छु बुद्ध
न सक्छु हिड्न गान्धीका बाँदरसंग

बुद्ध बन्नु पर्छर गान्धी बन्नु पर्छ भन्दिन
तँ डक्टर बन्, पाइलट बन्
सक्दैनस् –
असई, ओभरसियर बन्
सेकेन्ड लेफ्टीनेन्ट त पक्का बनाउँछु तँलाई
तर छोरा कवि बन्ने कुरै नगर

बा म कसरी छोडेर जाउँ-
बामे सर्दै गरेको छोरो
श्यामश्वेत अधरबाट छुटेका उसका
तोते बोलीका खित्काहरु
हृदयको क्षितिजसम्मै फिँजाउने
एक अंगालो श्रीमतीका
मुस्कानका बैजनी किरणहरु
सक्दिन म छल गरेर भाग्न-
यशोधरा र राहुललाई छोडेर
जसरी लापत्ता भए ओछ्यानबाटै बुद्ध

छल गरेर नभागेका भए
हेर छोरा-
बुद्ध……बुद्ध नै हुने थिएनन्
केवल शिद्धार्थ नै रहन्थे

प्यारालाईसिसले डामेर पत्रपत्र झर्दा
शिरीषको फूल
कसले लगायो मलमपट्टी
पारीजातको अपाहिज जीन्दगीमा
लगाएर आगो-
कृष्णलालको मकैको खेतीभित्र
जलाएका थिए- राता अक्षरहरु

घुम्ने मेचमाथिका अन्धामान्छेहरुले
कविलाई कठघरामा उभ्याएर
विपक्षीमा फैसला सुनाउँदै आएको छ यो देशमा
कसैले कुनै दिन-
महाकविको उपाधि दिए
सम्झनु त्यो पागलु को उपमा थियो

जागीरे फाँटमा उभिएर
बरु पैंसाको खेतीगर
तर छोरा-
मस्तिष्कबाट सुकिला पसिना चुहाएर
कविताको बञ्जरमा
अक्षरको खेती गर्ने कुरै नगर

हच्केको हुँ त्यो साँझ
बाबाको भाषण सुनेर अगेनामा
र देखेको हुँ पहिलो पटक
हगुल्टोमा-
बाबाको दुश्मनी चेहरा

बा र म आइन्स्टाइनका एउटै
चुम्बकिय ध्रुव थियौं
एउटै गुण लिएर
शैद्दान्तिक भारी फरक बोकेका
सायद यहि कारण थियो
हामी एक अर्काको समीप कहिल्यै भएनौं

उठ्नु छ रातो विहानसंगै
उभिनु छ हरियो राहदानीको भीडमा
झोलाभरी सपनाको लावालस्कर बोकेर
हिँड्नु छ अरबतिर-
पसिनाको खेती गरेर उमार्नु छ पैसा
मरुभूमीको राफिलो बालुवामा

Tags :
प्रतिक्रिया दिनुहोस