मास्टर साहेब « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मास्टर साहेब


प्रशासन विशेष ब्युरो

१६ पुस २०७३, शनिबार


मास्टर साहेब,
जब तपाइ आफ्नो विश्वविद्यालयमा म लगाएत हजारौँ विद्यार्थीहरुलाई लेख्चर दिन आउँनुहुन्छ तब मौलिकता र स्थानीय संस्कृतिका कुरा गरेर मख्ख पारेर जानुहुन्छ ? आँखिर किन ? शायद मेरो यो भनाइले तपाँइलाई रिस उठ्ला, दिक्क लाग्ला र सोच्नुहोला यदि अकबर र बीरबल अहिले जिन्दा हुनुहुन्थ्यो भने बादशाहको इच्छा पुर्ति गर्न अवश्य पनि बीरबल तिमीलाई भेट्न आउँथे होला भनेर ।

तर होइन मास्टर साहेब, ……… तपाँइ के को मौलिकता र स्थानीय पहिचान खोज्दै हुनुहुन्छ ? हिउँदका दिनमा जङ्गगली काँडाले चिथोरेका मेरी आमाका कपडालाई चिसो बतासले सान्त्वना दिइरहेको हिमालको अथवा पहाडको घुमाउरो उकालोका दुई जिउकी मेरी भाउजुले दाउराको भारी बोक्दाको सुन्दरता र रमणीय दृश्यको आँखिर कुन मौलिकता खोज्दै हुनुहुन्थ्यो तपाँइ ?

मास्टर साहेब, यहाँको मौलिकता र स्थानीय पहिचान त दार्चुलाको यार्सागुम्बासँगै विदेशीसँग बचेर सिद्धिसक्यो । देख्नुभएन ? मल्लाघरका नेताकाकाका जेठा छोरा क्रिसले अमेरिकाबाट मेडिकल कोर्ष गरेर आएपछि कस्ता कस्ता औषधी ल्याइसक्यो । त्यो अमेरिकाका कुवाको सलानी पानीले त रगत बढाउन अनार खानै नपर्ने अरे ।

जब चारपाँच दिनसम्म खाना नपाएर पेट दुखाइराखेकी मेरी आमाको लागि औषधी लिन म त्यहाँ गए उसले के भन्दै थियो थाहा छ ……….? भाई आमालाई ग्याँष्टिक भएको होला यो पेट सफा गर्ने औषधी लगेर जाऊ पेटभित्रको जाम सिद्धिएपछि ठिक भइहाल्छ । कामको हतारोले आमाले काचो पाको केके खाइन होली यो हजमोला लगेर जाऊ यसले त जे आउँछ मज्जाले पचाउँछ । आन्द्रा भूँडी पखालेर पेटभित्रै चामलका गेडा पकाइदिने औषधी आइसकेपछि हाम्रो स्थानीय दाउरा र ढुङ्गेधाराको त्यो दाँतै पोलिदिने चिसो पानीको के काम ? त्यसैले सर यहाँ कुनै मौलिकता छैन ।

मास्टर साहेब, तपाई त केवल विश्वविद्यालयको कोठाभित्र कैद हुनुहुन्छ । भित्रकै काम गर्न फुर्सत छैन होला, अस्ति कलेजका कार्यालय सहायक कोचीकोची दुईबोरा टम्म कागज भरेर भन्दै थिए भाई साइकलमा राख्न लाग न कत्ति गह्रुङ्गो छ । मैले भने यत्तिका टन्न कागज बेचेर आज त खुब मुम्फली खानुहुन्छ होला, थोरै कागत मलाई देऊ न रोटी राख्न हुन्छ भनेको त खुब झर्कियो र भन्यो यी तिम्रो रोटी राख्ने कागज हुन र ? फारम हुन् फारम बुझ्यौ, मास्टर साहेब बाट दस्तखत गराएर ल्याउन लग्दैछु । आम्मै….. म त छक्क परे यत्तिका फारममा एकएक दस्तखत गरे पनि दुई महिना लाग्छ होला, कलम त कति सकिन्छन् कति ….? तपाँईलाई यी कागतपत्रमा दस्तखत नै गर्न फुर्सत छैन् । कति बेला त दिक्क लाग्छ होला, अनि सोच्नुहुन्छ होला एक चोटी गाउँघुम्न पाए त कति मजा हुन्थ्यो । त्यसैले दिक्काएर सोच्नुहुन्छ होला स्थानीय मौलिकता झल्किने कुनै गीत सुन्न पाए ,निबन्ध पढ्न पाए, अथवा कुनै कथा नै सुन्न पाए आदि आदि …….

एक चोटी त्यस्तै पढेर, सुनेर, सुनाएर गाउँको याद बिसाउन किनकी तपाँईलाई गाउँ घुम्न फुर्सत नै छैन । सोच्नुहुन्छ होला हाम्रो स्थानीयता, मौलिकता, अझै उस्तै होला, मैले स्कुल पढ्दाखेरीको जस्तो । तपाँईलाई याद आउँछ होला गौरामा ढोलक र मिजुराका साथ हाम्रा बाबुबाँजेले खेल्ने धुमारी, माधुरी, अनि कम्मर मर्काउँदै हात हल्लाउँदै पैतलाको जादूमा खेल्ने गरेको ढुस्को , अनि त्यो महिलाहरूले कान्छीऔला समातेर खेल्ने औँले खेलको । कति बेला त गौरा एवम् गाउँघरका मेलामा डेउडा खेल खेलेको र जन्तीमा दमाहा झ्याली र बिगुलका साथ नाँचेको सम्झदा कतिबेला गाउँ पुगौँ हुन्छ होला । अहिले पनि पहिले जस्तै यी सब कुरा उस्तै होलान् भन्ठान्नुहुन्छ होला तर होइन सर त्यसो केही छैन । आजभोलि त तपाँईको शहरमा जस्तै गाउँमा पनि लुङ्गी डान्स र बेण्डबाजाहरू पुगिसके । अस्ति तपाँले सानो छदा पढेको गाउँको विद्यालयको वार्षिकोत्सवमा पनि पहिले जस्तै सारी र चोलो लाएर लालि गुराँस सेतो हिमाल मन्दिरै मन्दिरको प्यारो नेपाल भन्ने गीतमा कोही पनि नाँचेनन् मङ्गलाचरण पनि कसैले भनेनन् ।

जब अतिथिहरूको स्वागतको लागि पनि मेरी दिदी र तल्ला घरकी सरुले जघिँया र गन्जी लगाएर आज तु है पानी पानी पानी पानी भन्ने हिन्दी गीतमा लुतो लाग्दा आँङ कन्याए जस्तै , नुहाउँदा शरिरमा साबुन लगाए जस्तै केके पो गरी नाँच्दै थिइन, मलाई त कस्तो लाज लागेर आयो तर अरु त सब आँखा तानेर हेरिरहेका थिए । कोही कोही केटाहरू त सिठी बजाउँदै ढुङ्गा हान्दै थिए अनि केके भने केके । आमाले गौरामा शिरमा लगाउँने चाँदीको झुमीझुमी पनि भाउजुले मेचेर खुट्टामा लाउने बिच्छु बनाइसक्यो । त्यो गौरेखालोमा पनि आजभोलि तास खेल्ने र गाँजाखानेहरु मात्र बस्दछन् । अब तपाँइ कहाँको ? कुन ? मौलिकता खोज्दै हुनुहुन्छ ।

पोहोर साल मैले १२ कक्षा पास गरेपछि आमाले तपाईको नाम लिदै भन्नुभयो बाबु तल्लाघरे तिम्रा काका पढेलेखेर मधेशमा ठूला स्कुलका हेडसर बनेका छन् अरे । तिमी पनि त्यही जाऊ उनी जस्तै पढेर गाउँकै स्कुलमा पढाउने मास्टर बन्नुपर्छ । आमा हामी सँग त्यहाँ पढ्नलाई पैसा कहाँ छ र ? भन्दा मलाई दश पन्ध्रवटा त हजारकै नोट र अरु पाँचशय र शयका नोटहरूको ठूलो गाँठो हातमा दिएर भन्नुभयो ल यो पैसा लगेर जा पढेर मास्टर भएपछि मेरोलागि डिब्बावाला कमलो मिठाइ र बाबाको लागि एक डिब्बा खुकुरी सिगरेट ल्याइदिनु पर्छ । अनि तिम्रो पहिलो महिनाको तलबबाट भगवतीको मन्दिरमा चढाउँन एउटा घण्टी र दुईशय रुपैँया स्कुललाई चन्दा दिनुपर्छ, यो मैले तिम्रा लागि भाकल गरेकी छु । मैले यत्तिका पैसा कहाँबाट ल्याएको भन्दा जान्नुभो के भनिन्, मैले पारीपट्टिको खेत र भैसी बेचिदिए छोरा यदि पुगेन भने परारसाल तिम्रा बाले यो दुईधार्नीको तामाको गाग्री ल्याएका थिए, बरु यो पनि लगेर जा यो सब तेरै लागि त हो ।

मास्टर साहेब,जब म मेरा बाबुको ठूलो खेत मेरी आमाको भैसी र पानीभर्ने गाग्री लिएर तपाँइको विश्वविद्यालयमा भर्ना हुन आए तब मैले के सोचेको थिए थाहा छ ? यहाँका त सबै शिक्षित होलान् मिठो भाषा बोल्लान्, नैम्यसारण्यका ऋषिमुनीहरू जस्तै , हाम्रो पहाडको जस्तो थोरैन होला र यहाँ त मानवता र सभ्यताको पाठ सिकाउँछन् होला, तर केही पाएन मास्टर साहेब मैले तपाईको विश्वविद्यालयमा । जब म पहिलो दिन कक्षाभित्र पसेको थिए यहाँका छोटा कपडा लगाउने गुडियाहरू मलाई देखेर गिल्ल हाँसे । कक्षामा पढ्न बस्दा त पछाडीबाट कागजको पुच्छर लगाएर खुब गिज्याए मलाई यी बोके दाह्री उम्रेका शहरेका ठिटाहरूले । गुरुले कक्षामा पढाउँन आउँदा पनि कोही उठेनन् । दोस्रो दिन म अलि ढिलो पुगेको कक्षामा प्रवेश गर्न ढोकामा उभिएर भित्र आऊँ सर भनि अनुमति मागेको त गिल्ल हाँसे पाखे भन्दै अंग्रेजी नक्कलका हाँस्ने, बोल्ने र चल्ने तस्बिरहरूझैँ लाग्ने यहाँका ठिटाठिटीहरू । त्यतिकै बेला पछाडीबाट कपडा हराएकी ठिटीले ढोकाबाट मलाई धक्का दिदै हाई गाइज भन्दै भित्र पसी ।

जुन गुरुहरू शिष्यको अगाडि गएर मिठामिठा कथा कहानी सुनाएर अर्ति, उपदेश,धर्म, संस्कार देशभक्ति, अनुशासन, शान्ति, भाईचारा र मानवताको पाठ सिकाउन पुरै दिन काट्थे आज उहाँहरू पनि कुन्नी किन हो अल्छी भैसके । खरी र कालोपाटी त कुन चरीको नाम हो थाहै छैन, बरु गोराहरूको भित्तामा लेख्ने उज्यालो टर्च लगेर मस्त पछाडी बसेर उडाउँछन् छापाका अक्षरहरू जोर सित, पावरप्वाइन्ट एनिमेसनको झट्का भन्दै अनि झ्वाप्प बन्द गर्दै टर्च खल्तीमा हाली जान्छन् भटभटेको कान निमोठ्दै कोही बुझुन नबुझुन केही मतलव नगरी । महाकवि देवकोटाको त्यति ठूलो शाकुन्तल महाकाव्यलाई त पावरप्वाइन्टका चारवटा बुँदाहरूसँगै उडाइदिनुभयो भित्तामा, एउटै श्लोकलाई व्याख्या गरेर दुई दिन लाग्ने महाकविको महाकाव्यलाई यति सजिलै चार बुँदा बनाएर उडाई दिए । अब तपाँई आफै भन्नु यहाँ के को मौलिकता ? अनि त्यस्ता निबन्ध खोजेर यो असारमा किन बेमौसमे खेती लगाउन खोज्दै हुनुहुन्छ ?

मास्टर साहेब,
यहाँ त गोराहरुको संस्कार सँग मेरो देशको अनि मेरो पहाडको सभ्यता बेचेकाहरूको मात्रै भिड पाए । तपाँइको संस्कार र सभ्यता सुन्ने इच्छा र फुर्सत कल्लाई छ र ? यहाँ त केवल मोज, मस्ती, मनोरञ्जन र दादागिरी गर्न मानिसहरूलाई फुर्सत छैन । शयमा दुई तिन त कसो नहोलान् तर तिनीहरूलाई पनि पढ्न दिदैनन् शहरका ट्यापेहरू । विद्यार्थीका हक हितका लागि भनेर राजनीतिको खोल आडेर झोल पिउने सङ्गठनका कार्यकर्ताहरू झन् आफ्नो श्वार्थपुर्तिका लागि महिनाँै विद्यालय बन्द गरिदिदा त मास्टर साहेब,… मेरा बाबुले पुरै दिन लगाएर जोत्ने खेतको पैसा सित्तैमा सिद्धिन्छ , जन्नुभो कसरी ? गाडी बन्द भए ग्याँसको भाउ ह्वात्तै पाँचशय बढ्छ । यहाँ आफू पनि नहुने अरुलाई पनि हुन नदिनेहरूको भिड छ । तपाँईलाई थाहा छ, घर जान टिकेटको लागि मात्रै बचाएर राखेको एकमात्र पाँचशयको नोटले एक महिनाको नेपाल बन्द हुँदा कति दिन भोकै सुताउँछ भनेर । कार्यालयको कोठाभित्र काम गरिरहँदा बाहिरबाट तालाबन्दी गरेर तपाँइ पनि कति दिन ढिलो घर पुग्नुभयो होला । हप्ता खान महिनौ तालाबन्दी गर्ने हाम्रो देशको राजनीतिले म जस्ता कयौँ विद्यार्थीहरूका आमाबाबुले कमाइखाने खेत खाइसके । किन यसो भन्दा कतिले धम्की पाए, कतिले मानसिक तनाव पाए , कतिको ज्यान गयो थाहा छ तपाईले दस्तखत गरेका फारमहरूमा उनीहरूको फोटो पनि छ ।

मास्टर साहेब,
यस्ता कयन कुरा छन्, तर तपाँइलाई सुनाएर पनि के हुन्छ र तर हुँदैन भन्न पनि कहाँ मिल्छ र ? तपाँइ मसँग गुनासो पोख्नुहोला विश्वले विज्ञानको बुँइ चडेको समयमा खरी र कालोपाटी खोज्नु मुर्खता मात्र नभएर उरुन्ठ्यौलोपना हो भनेर । हो मान्छु म यस्तो विज्ञानले भरिपूर्ण युगमा जङ्गली युगका ऋषिमुनीहरु खोज्दैछु होला तर मानवताको त विरोध त बिज्ञानले पनि गर्दैन । देश संघियतामा गइरहेको अवस्थामा एउटा राज्यको पाठ्क्रम बनाउने जिम्मा तपाँइको पनि त छ भने यो राज्यको मानवता पनि तपाँइले नै लुकाएर राखेको आरोप लगाए दुःख नमान्नुहोला । हामी हाम्रो देशमा बुद्ध जन्मेकोमा गौरव गर्छौ तर पाठ घोक्दाखेरी कार्लमाक्स र लेनिन अनि महात्मा गान्धीको जन्मतिथि याद गर्नुपर्दै छ । भन्नु होला विद्वान सर्वत्र पुज्यते तर मैले उनीहरुको विचारलाई घृणा गरेर होइन ती महान आत्माहरुलाई म पनि मान्दछु तर जब सभ्यता संस्कृति र मौलिकताको कुरा आउँछ तब मलाई अंग्रेजी लेखकले लेखेको मेरी क्रिसमस् होइन हमरी गौरा भनेर पढ्न पाउँदा खुब मजा लाग्दथ्यो । मलाई नेपाली कविताको इतिहास खोज्दा वेद, पुराण र पाश्चात्य जगतमा जानु भन्दा पनि सगुना र फागबाट खोजेको भए खुब रमाइलो लाग्दथ्यो ।

मास्टर साहेब,
के तपाँइको विश्वविद्यालयको पाठ्यक्रममा एउटा यस्तो विषय राख्न मिल्दैन ? जसमा हाम्रा लोक संस्कृति अन्तर्गतका फाग, सगुना, माधुरी, धुमारी, विभिन्न पुषका लामा रातहरुमा पहिले पहिले सुनाउने गरेका बातइ (कथा) आदिहरु भएको जसमा तपाँइले खोजेको मौलिकता पनि झल्किन्थ्यो, हामी ले पनि पढ्दा आफ्नोपन झल्किन्थ्यो । जापानी हाइकु र अरबी गजललाई मात्र साहित्य भन्न मिल्ने पाठ्क्रममा शमावेश गर्न मिल्ने तर हाम्रा यी लोक भाखाहरुलाई वेवास्ता गरी रद्दीको टोकरीमा फाल्ने के यो पक्षपात होइन र ? या त भन्नुहोस् यो विश्वविद्यालय हाम्रो होइन, हामी यहाँका होइनौ चित्त बुझाउँछौँ । अरबी गजलले दिने ज्ञान के हाम्रा लोकभाखाहरुबाट दिन सकिदैन ? तपाँइ भन्नुहोला यहाँ प्रसस्त लेखिएकै छैन के राख्ने तर यहाँ लेखिएको भन्नु भन्दा पनि हा लेखाइएको छैन, अध्ययन गरेको भन्दा पनि अध्ययन गराइएको छनै भन्नुपर्दा दुःख लाग्ला । यदि मेरो सभ्यता, संस्कृति र साहित्य यसै विलाएर जान्छ भने यसको हत्या केवल तपाँइले गरेको ठहरिन्छ अरु कसैले होइन् किनकी सुदूरपश्चिमको पाठ्यक्रम बनाउँने जिम्मा तपाँइको छ । काठमाण्डौमा बसेर यहाँको पाठ्क्रम बनाउँदा तपाँइले एक चोटी सोच्नुभयो मेरो धर्तिमा कस्तो ज्ञानको खाँचो छ भनेर । सधैँ भरी मैले पढ्ने विषयमा मैले नचिनेका र मसँग सम्बन्ध नै नभएकाहरुको तिथिमिति र जीवनी रट्दारट्दै वाक्क भइसके म त ।

मास्टर साहेब,
अरबी, फारसी र अन्य पाश्चात्य जगतका साहित्यिक विधाहरुले नेपालमा फैलिएर बनमाराले वन खाएजस्तै गरिसक्दा पनि हाम्रा लोकभाकाहरुलाई पाश्चात्य जगतमा लगाउने भिसाफारममा कहिले दस्तखत गर्न आँखिर कुन साइत हेरेर बसिरहनुभा’छ ? मास्टर साहेब ।

Tags :
प्रतिक्रिया दिनुहोस