नेपालको एउटा मात्र प्रयोगशाला, किन राखिँदैछ नाममा मात्र सिमित ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालको एउटा मात्र प्रयोगशाला, किन राखिँदैछ नाममा मात्र सिमित ?


प्रशासन विशेष ब्युरो

१४ पुस २०७३, बिहिबार


गुणस्तरीय पशुजन्य पदार्थ र पशु उत्पादन सामाग्रीको उत्पादन, विक्री वितरण तथा उपभोगको लागि सकारात्मक बातावरण सृजना गर्न गुण परिक्षणको साथै गुणस्तर तर्जुमा, गुण प्रवद्र्धन, गुण आश्वासन र गुण ब्यवस्थापन सम्वन्धी क्रियाकलाप संचालन गर्ने उदेश्यका साथ पशु सेवा विभागको विद्यमान संगठनात्मक संरचना भित्र यस प्रयोगशालाको स्थापना वि.सं. २०६१ श्रावण १ गते केन्द्रिय स्तरमा हरिहरभवन पशु सेवा विभागको परिसरमा भएको हो ।

देशको कुल ग्राहस्थ उत्पादनमा ११ प्रातिशत पशुपालन ब्यवसायको योगदान रहेकोछ भने कृषिको कुल ग्राहस्थ उत्पादनमा पशु पालन क्षेत्रको कुल २६ प्रतिशत योगदान रहेको पाइन्छ । कुल ६४ प्रतिशत कृषकहरु पशुपालन पेशामा संलग्न रहेका छन् जसमा महिलाहरुको सहभागिता ८० प्रतिशत रहेको पाइन्छ ।

लेखक

देशको आय आर्जन र गरिबी निवारणको मुख्य पेशाको रुपमा रहेको पशु पालन क्षेत्रमा बिगत केही बर्ष देखि नेपाल सरकारको नीति अनुरुप र पशुपन्छी बिकास मन्त्रालयको मिति २०७३।९।९मा गठन पश्चात युवालक्षित पशु पालनका बिभिन्न कार्यक्रम मार्फत युवाहरुलाई आर्कषण गर्ने कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जसले गर्दा यस पेशामा युवाहरुको आर्कषण पनि बढ्दै गईरहेको र कुखुरा, गाइ, भैंसी ,बाख्रा तथा बंगुरपालन व्यवसायमा पनि आधुनिक एवम् व्यावसायिक फार्महरु खुल्ने क्रम दिनानुदिन बढदै छ ।


दाना ऐन र नियमावली र पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ संशोधन गरी दाना तथा लाइभस्टक गुणसँग सम्बन्धित सबै परिक्षण,अनुगमन,निरिक्षण र नियमनका कार्य गर्ने अधिकार पशु सेवा विभाग र लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला लाई हुने व्यवस्था हुनु पर्ने ।

देश कुखुरा पालनमा आत्म निर्भर हुदै गईरहेको र अरु पनि व्यवसायिक र आधुनिक फार्महरुको बिकास हुने क्रम बढी रहेको छ । पशुपन्छी बिकास मन्त्रालयको स्थापना पश्चात ४० बुंदे घोषणा पत्रमा उल्लेख गरिए अनुसार देशलाई पहिलो बर्ष अण्डामा दोश्रोबर्ष मासु र तेश्रोबर्ष दुधमा आत्मनिर्भर बनाउने योजनालाई सफल पार्न पनि पशुपन्छीका लागि आवश्यक पर्ने गुणस्तरिय तथा सन्तुलित दानाको साथै पशुजन्य पदार्थ र पशु उत्पादन सामाग्रीको उत्पादन, विक्री वितरण तथा उपभोगको लागि सकारात्मक बातावरण सृजना गर्न गुण परिक्षणको साथै गुणस्तर तर्जुमा, गुण प्रवद्र्धन, गुण आश्वासन र गुण ब्यवस्थापन सम्वन्धी क्रियाकलाप सन्चालन गर्ने उदेश्यका साथ यस प्रयोगशालाको स्थापना भएको देखिन्छ ।

यस्तो महत्वपूर्ण जिम्मेवारी पाएको यस प्रयोगशालालाई बिश्वासिलो भरपर्दो ,अन्तराष्ट्रिय मापदण्ड ISO अनुसारको प्रयोगशालाको रुपमा बिकास गर्नु पर्नेमा प्रयोगशाला नाम मात्रैको स्थापना भएको देखिन्छ । प्रयोगशालामा प्रयाप्त भौतिक पूर्वाधार,आवश्यक साधन श्रोत लगायत आधुनिक मेसिन उपकरण र दक्ष जनशक्ति अभाव रहेको छ भने भएका जनशक्तिलाई पनि दक्षता अभिवृद्धिका गर्न ध्यान दिएको देखिदैन । कतिपय बिग्रेका मेसिन उपकरणहरु मर्मत नहुने अवस्थामा रहेका छन । प्रयोगशालाको बिगत देखिको बार्षिक कार्यक्र्रम बजेट को अबस्था हेर्दा बार्षिक कार्यक्रम बजेट २० लाख भित्र मात्र सिमित रहनुले यो प्रयोगशाला सरकारी निकायबाटै ओझेलमा परेको देखिन्छ ।


लाइभस्टक गुणस्तर सँग सम्बन्धित नेपालको एउटै मात्र प्रयोगशाला भएकोले प्रयाप्त मात्रामा कार्यक्रम तथा बजेटको व्यवस्था हुनु पर्ने ।

जसको परिणामस्वरुप नियमनकारी निकाय हुँदाहुँदै पनि दाना उद्योग, व्यवसायको अनुगमन दानाका नमुना संकलन र परिक्षण गर्न नसिकएको अबस्था एकातिर रहेको छ भने दाना सम्बन्धि ऐन कानुन कार्यान्वयन गराउने र नियमन निकाय पनि यो प्रयोगशाला नभई खाद्य गुण व्यवस्था बिभाग भएकोले पनि यसको कार्यक्षेत्र अन्यौलमा रहेको छ । फलस्वरुप बेलाबेलामा किसानहरुबाट दानाका गुणस्तरका कारण पशुपन्छी पालनले क्षती व्यहोर्नु परेको बारेमा गुनासाहरु आउने गरेका र प्रयोगशालाबाट प्रवाह गर्नु पर्ने सेवा प्रभावकारी हुन नसक्दा आम पशुपालन कृषक व्यवसायिहरु मर्कामा परी रहेका छन् ।

यस प्रयोगशालाको उद्येश्य परिपूर्ति गर्न केही कार्यनीतिहरु तय गरिएका छन् तर ऐन कानुनको अभावका कारण कार्यान्वयनमा समस्या देखिएको छ । यससंग सम्बन्धित तथा पशुपन्छी पालनसंग सम्बन्धित ऐन कानुनहरु जस्तै दाना ऐन २०३३ र नियमावली २०४१ ले खाद्य गुण व्यवस्था बिभागलाई अधिकारयुक्त बनाएको छ भने पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ले पशु सेवा बिभाग तथा अन्य पशु स्वास्थ्यका निकायहरुलाई अधिकार सम्पन्न गरेको छ भने यस प्रयोगशालालाई भूमिका दिएको देखिदैन । यसको उद्येश्य अनुसार कार्य गर्ने गराउने हो र पशुपन्छी पालन व्यवसायलाई गुणस्तरिय दाना पदार्थ उपलब्ध गराउने व्यवस्थाका लागि यस प्रयोगशालालाई महत्व दिई अधिकार र साधन श्रोत सम्पन्न बनाउनै पर्छ

प्रयोगशालाका कार्यनीति:

 पशु सेवा विभागले गुणस्तर सम्वन्धी प्रदान गर्ने प्राविधिक परामर्शमा एकरुपता ल्याउन, गुणस्तरिय पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीहरुको उत्पादन, विक्रि वितरण र उपयोगलाई प्रोत्साहन दिन र पशुजन्य पदार्थ तथा उत्पादन सामग्री र प्रक्रिया सम्वन्धी तर्जुमा गरिएका गुणस्तर पशुपालन तथा पशुपंक्षीजन्य उद्योगहरुमा कार्यान्वयन गर्न गराउन प्राविधिक परामर्श प्रदान गर्ने ।
 पशुपंक्षीसंग सम्बन्धित उद्योगहरुद्वारा उत्पादन गरिएको वा आयात गरिएको पशुजन्य पदार्थ, सामाग्रीहरुको गुण मापन गर्न प्रयोगशाला सुविधा उपलब्ध गराउने ।
 गुणस्तरिय पशुजन्य पदार्थ र पशु उत्पादन सामाग्रीहरुको उत्पादन विक्रि वितरण गर्न गराउन सम्बन्धित सरकारी निकायहरुको संलग्नतामा आवश्यक ऐन तर्जुमा गर्न सहयोग गर्ने ।
 पशुजन्य पदार्थ तथा उत्पादन सामाग्रीको गुणस्तर सम्वन्धी तालिम संचालन गर्ने ।
 पशुपंक्षीसँग सम्बन्धित उद्योगहरुको गुणस्तर तथा उत्पादन र उत्पादकत्व सम्वन्धी समस्याहरुको पहिचान, विश्लेषण र निराकरण गर्न स्थलगत अध्ययन तथा निरिक्षण गर्ने।
 पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ अन्तर्गत उद्योग स्थापना तथा निकासी पैठारी ब्यवस्था सम्वन्धी कार्यमा गुणस्तर सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्ने ।

प्रयोगशालाको बर्तमान अवस्था:

 दाना ऐन २०३३ र नियमावली २०४१ कार्यान्वयन गर्ने निकाय लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला हुनु पर्नेमा कृषि बिकास मन्त्रालय मातहतको खाद्य गुण नियन्त्रण विभाग रहेकोले यस प्रयोगशालाले लक्ष र उद्देश्य अनुरुप कार्य गर्न  कठिानाई भई रहेको ।
 पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ यस प्रयोगशाला मैत्री नभई पशु सेवा बिभाग तथा अन्य पशु स्वास्थ्यका निकायहरुलाई अधिकार सम्पन्न गरेको छ भने यस संग सम्बन्धित दाना उद्योग स्थापनाको सिफारिस तथा दाना उद्योगि तथा  व्यवसायिहरुलाई दानामा मिसाइने फिड सप्लीमेन्टहरुको आयात इजाजत दिन र यस्ता उद्योगहरुको अनुगमन र नियमन गर्न कठिनाइ ।
 पशु सेवा विभाग अन्र्तगत लाइभस्टक गुणस्तर सँग सम्बन्धित नेपालको एउटैमात्र प्रयोगशाला भए पनि कार्यक्रम तथा बजेटमा उपेक्षित हुदै आएको,सधैं न्यून बजेट दिने गरेको । गत बिगतको कार्यक्रम बजेट हेर्ने हो भने बार्षिक कार्यक्रम  बजेट २० लाख माथी स्विकृत भएको देखिदैन जुन देशभरबाट नमुना संकलन गर्ने र परिक्षण कार्यको लागि मात्रै पनि अप्रयाप्त हुन जान्छ ।
 फर्निचरहरु दरबन्दी अनुसारका अपुग र अरु कार्यालयबाट प्राप्त एकदमै पुराना मात्र (२०३७।३८ साल देखिका )
 प्रयोगशालामा मेसिन उपकरणहरुको अभावका साथै कतिपय पुराना र मर्मत हुनै नसक्ने अवस्थामा रहेका कारण उद्देश्य अनुसारका सबै परिक्षण सेवा उपलब्ध गराउन नसक्नु ।
 प्रयोगशालाका आवश्यक साधन श्रोत लगायत कम्प्युटरको अभाव ।
 प्रयोगशालालाई अत्याधुनिक बनाउन डिजिटल तथा कम्प्युटराईज्ड प्रयोगशालाका मेसिन तथा उपकरण का साथै समय सापेक्ष प्रबिधिको व्यवस्था हुन नसक्नु ।
 दक्ष जनशक्तिको र दरबन्दी अनुसारका जनशक्ती अभाव ।
 प्रयोगशालाका कर्मचारीलाई प्रयोगशाला सम्बन्धि तालिम,तथा दक्षता अभिवृद्धि सम्बन्धि कार्यक्रमको अभाव ।
 प्रयोगशाला कार्यको सम्बेदनशिलता लाई ध्यान नदिई प्रत्येक बर्षको हुने सरुवाले पनि प्रयोगशालामा काम सिकेका कर्मचारीको सरुवा भइ अन्यत्र जाने र प्रयोगशालाको काम गर्न नजानेका नयाँ नयाँं कर्मचारी आउने क्रमले प्रयोगशालाको  सेवा प्रवाहमा समेत असर पर्ने गरेको ।
 आफ्नै भवनको अभावमा साँघुरो स्थानमा प्रयोगशाला सञ्चालन भईरहेको अवस्था ।
 हालसालै प्रयोगशाला सञ्चालन कार्यविधि २०७३ स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको भएतापनि केही प्रयोगशालाको सम्बेदनशिलतालाई मध्यनजर गर्दै समय सापेक्ष आबश्यक बिषयबस्तुहरु समेटन छुट हुन गएको ।
 देशभरको लागि केन्द्रमा एउटै मात्र प्रयोगशाला रहनु ।
 गुणस्तर सम्बन्धि प्रमुख कार्य रहेको यस प्रयोगशालामा सबारी साधानको आभाव र भएका पनि धेरै पुराना भएका कारण अनुगमन कार्य प्रभावकारी हुन नसकेको ।
 अलग मन्त्रालय गठन भएता पनि नयां सत्ता गठबन्धन पश्चात हाल सम्म पनि मन्त्री नियुक्त हुन नसक्दा मन्त्रालय नै अन्यौलमा रहेको । जसका कारण कतिपय ऐन नियम तयार गर्न तथा परिमार्जन गर्न र नीतिगत कार्य गर्न गराउन तथा समस्या आई रहेको ।

सुधार गर्नु पर्ने पक्ष:

 दाना ऐन र नियमावली र पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ संशोधन गरी दाना तथा लाइभस्टक गुणसँग सम्बन्धित सबै परिक्षण,अनुगमन,निरिक्षण र नियमनका कार्य गर्ने अधिकार पशु सेवा विभाग र लाइभस्टक गुण व्यवस्थापन  प्रयोगशाला लाई हुने व्यवस्था हुनु पर्ने । हाल पशुपन्छी बिकास मन्त्रालय र पशु सेवा विभाग समेत अलग भइसकेको अबस्थामा दाना ऐन नियम कार्यान्वयन गर्ने निकाय र अधिकार अनिवार्य पशु सेवा विभाग र लाइभस्टक गुण व्यवस्थापन  प्रयोगशालामा निहित हुनु पर्ने ।
 लाइभस्टक गुणस्तर सँग सम्बन्धित नेपालको एउटै मात्र प्रयोगशाला भएकोले प्रयाप्त मात्रामा कार्यक्रम तथा बजेटको व्यवस्था हुनु पर्ने ।
 दरबन्दी अनुसारका फर्निचर र कम्प्युटर उपकरणको प्रबन्ध ।
 दक्ष जनशक्ति र स्वीकृत दरबन्दी अनुसारका जनशक्तीको पदपूर्ति ।
 प्रयोगशालामा कार्यरत कर्मचारीलाई तालिमको तथा दक्षता अभिवृद्धि गर्ने व्यवस्था ।
 प्रयोगशालाका अनुभवी तथा तालिम प्राप्त जनशक्तिलाई अन्यत्र सरुवा नगर्ने नीति कार्यान्वयन ।
 प्रयोगशालाका सबै सेवा एकै थलोबाट छिटो छरितो ,गुणस्तरिय र भरपर्दो बनाउन अत्याधुनिक प्रयोगशाला उपकरणको व्यवस्था गरि डिजिटल तथा कम्प्युटराइज्ड ,आधुनिक प्रविधियुक्त परिक्षण सेवाको बिकास र बिस्तार गर्न आबश्यक  पूर्बाधार तथा मेसेनरी उपकरणहरुको व्यवस्था ।
 प्रयोगशालालाई विश्व गुणस्तर ISO स्तरको प्रयोगशालाको रुपमा बिकास गरिनु पर्ने ।
 पशुपालन क्षेत्रको गुणस्तर निर्धारण र नियमन गर्ने एकमात्र प्रयोगशालाको रुपमा बिकास गर्न सबै क्षेत्र, समुह र संगठनबाट बिना पूर्बाग्रह सक्दो सहयोग गर्नु पर्ने ।
 सरकार तथा मन्त्रालय ,विभागबाट प्रयोगशालाको स्तर उन्नतीका लागि प्रयाप्त बजेटको व्यवस्था गरिनु पर्ने ।
 प्रयोगशाला सम्बन्धि कार्यविधि लाई थप परिममार्जन गरी कार्यान्वयन गरिनु पर्ने ।
 नेपालको हालको व्यवस्था र बिकेन्द्रीकरणको सिद्धान्त अनुसार सबै प्रदेशमा वा क्षेत्रमा कम्तिमा १। १ वटा यस्ता प्रयोगशालाको स्थापना गरिनु पर्ने ।
 दाना उद्योग तथा फिड सप्लीमेन्ट सम्बन्धि व्यवसायको अनुगमन र नमुना संकलन र गुणस्तर हिन उत्पादकलाई कार्बाही गर्ने प्रयाप्त कानुनी आधार सहितका नियमकानुनको व्यवस्थाका साथै अनुगमनका लागि आबश्यक सबारी  साधनको व्यवस्था हुनु पर्ने ।
 प्रयोगशाला तथा गुणस्तर परिक्षण सेवा सर्बसुलभ प्रबाह गर्न मोवाइल प्रयोगशाला भ्यानको व्यवस्था हुनु पर्ने ।
 तत्काल पशुपन्छी बिकास मन्त्री नियुक्त गरि मन्त्रालय लाई पूर्णता दिइनु पर्ने ।

जनक बहादुर धामी लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनका पशु बिकास अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस