नारायणगढ–मुग्लिन सडकमा पर्यटक बस नरोकिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणगढ–मुग्लिन सडकमा पर्यटक बस नरोकिने


१० पुस २०७३, आइतबार


रत्ननगर (चितवन) । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइएपनि पर्यटक बस भने नरोकिने भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिइसकेको र कुनै गाडीमा पर्यटक आएको भए सूचना दिनसमेत आग्रह गर्नुभयो । चितवनका पर्यटन व्यवसायीले बिहान ११ देखि ३ बजेसम्मको मुख्य समयमा उक्त सडक बन्द हुँदा चितवन आउने पर्यटक अन्यत्र गएकाले यो समयमा पर्यटक बसलाई नरोक्न स्थानीय प्रशासनलाई आग्रह गरेका थिए ।

पर्यटन व्यवसायी सुमन घिमिरेले सडक रोकिँदा हात्ती महोत्सवसमेत आएकाले यहाँ ठूलो समस्या परेको बताउनुभयो । चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रहरीको निगरानीमा हरियो प्लेटका पर्यटक बसलाई पठाउन थालिएको बताउनुभयो । सडक साँघुरो भएर निर्माणमा असर परेकाले बन्द गरेरै सडक निर्माण गर्नुपर्ने अवस्था आएको जनाउँदै बन्द गरेरै काम थालिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । यो अवरोध कम्तीमा पनि चार महिना जारी रहने उहाँले बताउनुभयो ।

यही पुस ७ गतेदेखि बिहान ११ देखि अपराह्न ३ बजेसम्म सडक बन्द गरेर काम थालिएको छ । यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले सूचनामार्फत चालकलाई आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस