विमान अपहरण गर्नेलाई जन्मकैद गर्ने ऐन बन्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विमान अपहरण गर्नेलाई जन्मकैद गर्ने ऐन बन्दै


९ पुस २०७३, शनिबार


काठमाडौँ । विमान अपहरण गर्नेलाई जन्मकैदको सजाय हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐन बनाउने तयारी गरेको छ ।

मन्त्रालयले नेपाल नागरिक उड्डयन ऐनको परिमार्जित मस्यौदा छलफल र सुझावका लागि सार्वजनिक गरेको मस्यौदामा जन्मकैदको व्यवस्था गरिएको छ ।

मुलुकको हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन नागरिक उड्डयन सम्बन्धी रहेका कानुनलाई एकीकृत गरी ऐन बनाउने मन्त्रालयको उद्देश्य अनुरुप ऐनको परिमार्जित अन्तिम मस्यौदा सार्वजनिक गरिएको हो । मस्यौदा उपर सरोकारवालासँग अन्तरक्रिया सकेको मन्त्रालयले सुझाव सङ्कलनका लागि आफ्नो बेवसाइटमा राखेको छ ।

ऐनमा अनुमति नलिइ वायुयान अनधिकृत रूपमा नेपाल प्रवेश गरे एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

प्रस्तुत मस्यौदाको परिच्छेद १२ को कसुर तथा सजाय अन्तर्गतको ७३ औँ बुँदामा यस्तो व्यवस्था गरिएको छ । ऐनको परिमार्जित मस्यौदाबारे सुझाव ‘अपडेटिङ’ गर्ने काम भइरहेकाले यथाशीघ्र ऐनको रुपमा ल्याइने पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले बताउनुभयो ।

सहसचिव उपाध्यायका अनुसार मूलुक सङ्घीय ढाँचामा जाने हुदाँ त्यसअनुरुपको नागरिक उड्डयन नीति आवश्यकपर्ने तथा अन्तर्राष्ट्रिय हवाई उड्डयन सङ्गठन (आईकाओ) को निर्देशनअनुसार ऐन बनाउन लागिएको हो ।

पर्यटनमन्त्री जीवनबहादुर शाहीले कार्यभार सम्हालेलगत्तै हवाई क्षेत्र र सुरक्षालाई व्यवस्थिति र समयानुकुल बनाउनका लागि नागरिक उड्डयन ऐनलाई परिमार्जिन गर्न निर्देशन दिनुभएको थियो । त्यसलगत्तै मन्त्रालयले आवश्यक गृहकार्यगरी ऐनको मस्यौदा तयार गरेको हो ।

मन्त्रालयले तयार गरेको नेपाल नागरिक उड्डयन ऐन, २०७३ को मस्यौदाको उद्देश्य नेपाल राज्यभित्र नागरिक उड्डयनलाई सुरक्षित, नियमित र व्यवस्थित बनाउँदै हवाई यातायातको समुचित विकासद्वारा मुलुकको अधिकतम हित हुने वातावरण सिर्जना गर्दै नागरिक उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न र नागरिक उड्डयनसँग सम्बन्धित मौजुदा कानुनलाई एकिकरण गर्नु हो ।

ऐनमा हवाई क्षेत्रमाथिको सार्वभौमिकता तथा उपयोग, हवाई सेवा उद्योग सम्बन्धी व्यवस्था, वायुयान सञ्चालन सम्बन्धी व्यवस्था, नागरिक उड्डयन प्राधिकरणको काम, कर्तव्य र अधिकार, सेवा प्रदायक संस्था स्थापना सम्बन्धी व्यवस्था, वायुयान दुर्घटना छानबिन सम्बन्धी व्यवस्था, हवाई सुरक्षा सम्बन्धी व्यवस्था, विमानस्थल सम्बन्धी व्यवस्था गर्न व्यवस्थित गरिएको छ ।

सरकारले कुनै पनि उड्डयन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नसक्ने र अनधिकृत रुपमा हवाई क्षेत्रमा प्रवेश गरेको वायुयानलाई उपयुक्त कारबाही गर्नसक्ने छ ।

वायुसेवा कम्पनीले सरकारले तोके बमोजिमको यात्रु र तेस्रो पक्षीय दायित्व समेतको बिमा गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको ऐनले छुट्टै हवाई सुरक्षा संस्था स्थापना गर्नसक्ने अधिकार समेत प्रदान गरेको छ ।

नेपाल सरकारको स्वीकृति लिई सरकारी वा निजी संस्थाले विमानस्थल निर्माण, विकास र संचालन गर्न पाउने ऐनमा व्यवस्था छ । यो व्यवस्था लागू भएसँगै सेनाले सिन्धुलीको भिमानमा निर्माण तथा सञ्चालन गर्ने भनिएको विमानस्थलका लागि बाटो खुला भएको छ । वातावरण संरक्षण र ध्वनिको मात्रा निर्धारण गर्ने ऐनमा व्यवस्था गरिएको छ ।

यस अघि नागरिक उड्डयन ऐन २०१५ लाई परिमार्जन गरी नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस