व्यापार मेलामा ३६ देशका उत्पादन « प्रशासन
prasaLogo
१९ श्रावण २०७८, मंगलबार
   

व्यापार मेलामा ३६ देशका उत्पादन


९ पुस २०७३, शनिबार


बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा शुक्रवारदेखि बुटवलमा १७ औँ व्यापार मेला सुरु भएको छ ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुख्य नाराका साथ शुक्रवारदेखि सुरु भएको मेला यही पुस २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा औद्योगिक, कृषि, पर्यटन प्रवद्र्धन, घरेलु उत्पादन, मोटरगाडी व्यवसाय, वैकल्पिक ऊर्जा लगायत छुट्टाछुट्टै मण्डप बनाइएको छ । मेलामा ५४० कक्ष दर्ता भएका छन् । मत्स्य क्षेत्र घोषणा भएको रुपन्देही जिल्लाको पहिचानका लागि माछा र त्यसका परिकारसम्बन्धी कक्ष पनि छन् । महोत्सवमा स्वदेशका ३५ जिल्लाका र ३५ देशका उत्पादन राखिएको छ । दैनिक रुपमा पर्यटन, कृषि, उद्योग, बजारीकरण, कृषि उत्पादन लगायत बारेमा परामर्श तथा छलफल कार्यक्रम पनि राखिएको छ ।

मेलाको रक्षामन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्दै हामी सबैको पहिलो काम मुलुकको राष्ट्रिय अखण्डता जोगाउने र संविधान कार्यान्वयन गर्ने रहेको बताउँदै हिमाल, पहाड र तराईलाई सकेसम्म मिलाएर लैजानु सबैको कर्तव्य रहेको बताउनुभयो ।

कसैले पनि राष्ट्रियतामाथिको भावनामा आघात पु¥याउन नहुने र संशोधन प्रस्ताव आउँदा संसद् अवरुद्ध गर्नु नहुने बताउँदै उहाँले भन्नुभयो, “असन्तुष्ट मधेसी दललाई मिलाएर लैजानु जरुरी छ ।” उहाँले लुम्बिनी प्रदेशलाई प्राकृतिक साधनस्रोतले सम्पन्न बनाउन यस क्षेत्रका जनप्रतिनिधिको प्रयत्नमा पहाडदेखि तराईसम्मका जिल्ला समेटेर अहिलेको ५ नं. प्रदेशको प्रस्ताव गरिएको बताउनुभयो ।

कार्यक्रममा सांसद अब्दुल रज्जाकले निर्वाचन र संविधान कार्यान्वयनका लागि संविधान संशोधन प्रस्तावले समाधान पाउँछ भनेर आफूहरु त्यसका पक्षमा उभिएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले निजी क्षेत्रलाई नाफामुखी मात्र होइन राष्ट्र विकासको सहयात्रीका रुपमा राज्यले व्यवहार गर्नुपर्ने आग्रह गर्नुभयो ।

मेला आकर्षणका लागि रोजगार परामर्शका लागिसमेत छुट्टै मण्डप बनाएर स्वदेश तथा विदेशमा प्राप्त हुने तालिम र रोजगारीको अवसरबारे जानकारी गराइने मेला संयोजक तथा आयोजक बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेशमान सिंहले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस