गणतन्त्रलाई उल्ट्याउने कोशिश भइरहेको छः प्रधानमन्त्री « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गणतन्त्रलाई उल्ट्याउने कोशिश भइरहेको छः प्रधानमन्त्री


६ पुस २०७३, बुधबार


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता उल्ट्याउने कोशिस भइरहेको बताएका छन् ।

मंगलवार माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले दाहालले भने- ‘माओवादी आन्दोलन केही कमजोर भएपछि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी मान्यताजस्ता परिवर्तनका मुद्दा उल्टाउने कोशिस भइरहेको छ ।

बुर्जुवा र प्रतिक्रियावादी शक्तिलाई परिवर्तन पचेकै छैन । प्रतिपक्षका कतिपय नेताहरु राजतन्त्र र २०४७ सालकै संविधान ठीक थियो भन्ने ठाउँमा आएका छन् । गणतन्त्र र संघीयता उल्टिँदा माओवादी आन्दोलनको औचित्य समाप्त हुन्छ । परिवर्तनका मुद्दा जोगाउन माओवादी धाराहरुको एकता अनिवार्य भएको दाहालले बताए ।

गणतन्त्र जोगाउन माओवादी एकतामा जोड दिँदैे दाहालले भने- ‘हामीले दश माओवादी घटकसँग एकता गरेका छौं । तर, माओवादी एकता अभियान पुरा भएको छैन । अहिले पनि विभिन्न धारामा रहेका माओवादीहरुसँग एकताको प्रयत्न जारी छ । मैले सबैसँग निरन्तर कुराकानी गरिरहेको छु । पहिले हामीले पार्टीको एकतालाई मजबुत बनाऔं, अनि सबै माओवादी धारालाई एकतावद्ध गर्न सबैले पहल गरौं । हामीले प्रष्ट रुपमा बुझ्नुपर्छ, माओवादीको एकता अभियान अहिले पनि जारी छ ।’

माओवादी केन्द्रको आगामी योजनाबारे प्रशिक्षित गर्दै दाहालले ‘पार्टीको पोलिट्ब्यूरोमा छलफल गरेर अभियान निर्धारण गरेको र अब सिङ्गो पार्टी अभियानमा जाने बताए । अब हामी नयाँ ढंगको निर्वाचित कमिटी बनाएर एक नम्वरको पार्टी बनाउन अभियानमा होमिन्छौं ।’

संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पूनर्निर्माण र समृद्धि सरकारका मूख्य प्राथमिकता भएकोमा जोड दिँदै उनले सरकार आफ्ना प्राथमिकतामा स्पष्ट रहेको र संविधान कार्यान्वयन, पूनर्निर्माण, सन्तुलित विदेश नीति, वैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्या समाधानमा सरकार निरन्तर क्रियाशील रहेको बताउँदै उनले भने सरकारले गरीबका लागि सरकार, जनता पेन्सनजस्ता महत्वपूर्ण कार्यक्रम ल्याउँदैछ । यो सरकारले जनताको हितलाई केन्द्रमा राखेर अन्तिमसम्म काम गर्नेछ ।’

संविधान संशोधन प्रस्तावबारे प्रधानमन्त्री दाहालले भने ‘संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । तर, त्यो माओवादीको प्रस्ताव नभई बरु विगतमा एमालेले अघि सारेको र कांग्रेसले समर्थन गरेको प्रस्ताव हो । मेरो एक मात्रै चाहना हिमाल, पहाड र तराईलाई मिलाएर संविधान कार्यान्वयन गर्नु नै हो । कोही यसको विपक्षमा उभिन्छ र राष्ट्रिय एकता चाहँदैन भने सिधै बुझ्दा हुन्छ, त्यहाँ राष्ट्रवादको नाममा देशलाई बिखण्डन गर्ने राष्ट्रघातको नियत लुकेको छ । यसले देशको हित गर्दैन ।’

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधानमा संस्थागत गरिएका परिवर्तनका मुद्दा कार्यान्वयनका लागि एकतावद्ध भएर जनतामा जान नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । प्रशिक्षणमा माओवादी केन्द्रका अर्का बरिष्ठ नेता रामबहादुर थापाले बलियो संगठनका आधारमा स्थानीय निर्वाचनमा विजयको तयारी गर्न आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस