सहयात्री आफन्त, तर आफन्त नै वैरी ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सहयात्री आफन्त, तर आफन्त नै वैरी !


प्रशासन विशेष ब्युरो

३ पुस २०७३, आइतबार


बन्द कोठा भित्र खुम्चियर अजिब सपनाहरू बुनी जीबनका समयरेखा केलाउदै हिड्ने आदर्श र ब्यवहारको घनिष्ठता नबुझ्ने ती अड्कलबाजीहरुका निम्ति युद्ध जीवनका कष्टकर कहानी र युद्ध डोबले भरिएका ओजपूर्ण बिरासतहरुले खासै महत्व नराख्न पनि सक्छन् । तर, प्राणभन्दा प्यारो देश भन्नेहरुका निम्ति आज उही समय, उही समाजले परिवर्तित नयाँ युगको आवाजसँगै स्वरमा स्वर मिलाइरहदा अपब्याख्या गर्ने मेरा आफ्ना भनिएका तर यात्राबाट गद्दारीको खाल्डोमा पुरिएका प्रिय मित्रहरूलाई आज एउटै प्रश्नले सधैँ सताइरहेको देख्दा लाग्छ ! उनीहरु किन रुखको टुप्पोमा बसी उहीं रुखको जरा काट्न लागि परिरहेको होलान् ?

मौसमी प्रतिकुलताको बिचबाट थालिएका यात्राहरु, सम्भावनाको नजिक पुग्नै लाग्दा कति उत्साह र गर्भले छाती फुलेर आएको हुन्थ्यो ? ती खुसी साट्ने कुनै प्रतीक्षाको घडी कुरिरहेको बेला युद्धबाट हारेर गएका आतंकित मनहरुमा पराजयको हुटहुटी चल्नु स्वाभाविक थियो । लड्ने सिपाहीहरुको मन विजयको निम्ति तिखारिदै गइरहेको बेला ! आतंकित मनहरुका कालो बादलका ती अस्पष्ट धर्साहरुले वीरहरुको छातिमा आफ्नो आकार जबर्जस्त तरिकाले फिजाउने कुचेष्टा भइरहदा उता पचाल झरनाको काखमा सतिसाल झै ठिङ्ग उभिएका ती जितवीरहरुलाई हामी चुलिको शिराबाट बिजयको बिगुल फुक्नै लाग्दा सहयात्री जो आफ्नो भए तर आफन्त कहिल्यै हुन सकेनन् । उनीहरु पाराजयको खाल्डोमा जानी–जानी पुरिदै थिए ।

पीडाहरु अनेकौं थिए जो जानी–जानी मनले भन्न मानिरहेको थिएन । बहादुरहरुका निम्ति यी सबै गहना जस्तै गरी जीवनमा सिगारिएका थिए । हारे हत्कडी, जिते संसार । मरे मृत्यु, बाँचे मुक्ति । यसरी जीवनबाट जितेर मृत्युको निम्ति नाचिरहेका युद्ध सिपाहीहरुलाई कसैले हल्लाउन त के ? छुनसम्मको हिम्मत गर्न सकेका थिएनन् । अफसोच ! परिस्थिति ठिक उल्टो भैदियो ‘नखाउ त दिन भरिको सिकार, खाउ त कान्छा बुवाको अनुहार’ भनेजस्तै गरी हामीलाई अनेक भ्रमको खेतीमा बाध्यात्मक परिस्थितिले हुन्छ ? भनेजस्तै गरी युद्ध हारेको बाहानामा मुक्तिको सपनासँग साक्षात्कार गर्न लगाइयो । पराजित मनहरुको एकतर्फी कालो बादलले आफ्नो राज जमाइ सकेको बेला, युद्ध जितेर संसार मुक्त पार्ने ती लालयोद्धालाई सगरमाथाको चुचुरोमा पुग्न नदिँई कायरहरुको सन्नाटाले अनेक खेलहरु खेलेर बिचमा जबर्जस्त रोक्न बाध्य परियो ।

मान्छेका भावना र चाहाना पनि एउटै कहाँ हुँदा रहेछन् र ? आखिर एउटै हुन्थे भने गद्दारको बाटो रोजेका उनीहरुको यात्रा पनि सहयात्रीको रुपमा म सँगसँगै गासिएका हुन्थे होला । यात्रा बिचित्रको, खेलहरु अनेक भए । जति बेला हिउँदको सिजन सुरुवाती थियो । हामी युद्ध, जीवनको इतिहासमा लम्बे अभियानको थालनी गर्दै थियौ । हामीले अनेक हिमशिखरहरु पार गरेर दुश्मनको खोजीमा गण्डकका बस्तीहरुमा भौतारिएका ती अभिष्ठहरु पूरा गर्न नपाउदै उनीहरुले धोका दिएको त्यो अतीत आज बालुवाटारको गुप्त गुफा भित्रबाट हामी क्रान्ति सफल गरेर सत्तामा पुगेको भनी नौटङ्की गरिरहदा युद्धको रापले नसेलाएका ती अबिचलित मनहरुलाई सहन कति गाह्रो भयो होला ? त्यो पीडा भोग्नेहरुले भोगेकै छन् ।

 


हामी युद्ध, जीवनको इतिहासमा लम्बे अभियानको थालनी गर्दै थियौ । हामीले अनेक हिमशिखरहरु पार गरेर दुश्मनको खोजीमा गण्डकका बस्तीहरुमा भौतारिएका ती अभिष्ठहरु पूरा गर्न नपाउदै उनीहरुले धोका दिएको त्यो अतीत आज बालुवाटारको गुप्त गुफा भित्रबाट हामी क्रान्ति सफल गरेर सत्तामा पुगेको भनी नौटङ्की गरिरहदा युद्धको रापले नसेलाएका ती अबिचलित मनहरुलाई सहन कति गाह्रो भयो होला ? त्यो पीडा भोग्नेहरुले भोगेकै छन्  ।

अझै पनि त्यही लस्करमा उसैगरी हिडिरहेका ती यात्रीहरुसँगै छौ जस्तो लागिरहेको छ । जतिबेला हाम्रो शरीरमा हिउँका थोपाहरु अनवरत रूपमा टोप्ला लेकमा बर्सिरहेका थिए । कैयौं मेरो सहयात्रीहरुले त्यही हिउँको चाङमा हामीबाट सधैको लागि छुट्टीएर जानुपरेको त्यो काहालीलाग्दो नमिठो पल आज पनि मलाई थामी नसक्नुको पीडा दिएर जिन्दगीभरी निको नहुने घाउ बनी बल्झिरहन्छ । त्यही पीडामा बल्झिएका घाउहरु देखेर भाव विहेल लाखौ मनहरुको अगाडि हासोका खित्का छोड्ने ती नालायकहरु हिजोको दिनमा आफ्नो भए जस्तै गरी भावना साटिरहेको देख्दा अनेक पीडाहरु भक्कानिएर आउछन् । तर जीवनदेखि हार खाएर बिच बाटोमा धोका दिने ती धोकेबाजहरुलाई आफ्नो मानेर आफन्त बनाउन नसकेकोमा कहिल्यै पछुतो भएन ।

प्रतिबद्धता र बाचा कसम पनि कति ओजस्वी रूपमा लिएका थियौ । ती सबै–सबै इमान र इज्जतहरु बेच्नेको लस्कर नै चलेको छ । यहाँ न त ती दिनका कसम खाएका कसमित मनहरु साँचो अर्थमा हिडेका छन्, न त प्रतिबद्धता जाहेर गर्ने ती प्रतिबद्ध मनहरु उहीं सपना र गन्तव्यको बाटोमा प्रतिबद्ध भएर हिड्न खोजेका छन् । हिजो एक सहयोद्धाको विश्वासमा अड्किएको हाम्रो संस्कार आज उहीं आफन्तको पगरी बेरिएकाहरुबाट लाजिम्पाटको मुल गेटबाटै प्रहरीको बलमा नाबालक ती सन्ततिहरुलाई बिजोगमा लखेटिरहेका छन् ।

बुर्जुवाको आडम्बरी ढ्वाङ फुकेर पढ्न लेख्नबाट बन्चित पारिएका ती कलिला मुनाहरुलाई आज उहीं एक सहयात्रीको समझदारीमा अयोग्यको बिल्ला भिराएर आफू योग्य ठान्ने ती कातरहरुले जबर्जस्त समाजमा अयोग्य भनेर बस्न बाध्य पारिरहेका छन् । ती अयोग्य भनिएका मेरो प्रिय युद्ध सहयात्रीहरुले न त सामाजीक जीवन जिउनको लागि सजिलो मानेका छन् । न त आफ्नो दैनिक जीवनको गुजारा ढुक्कसँग धान्न सकेका छन् । यो पीडामा रमाउनेहरु आज लाजिम्पाट र बालुवाटारको वरिपरि बेअर्थको नाँच नाचिरहेका छन् । यो समयको खेल सहिदको रगतसँग साटिएका ती जीवनहरु आज सरकारी ढुकुटीमा बाचिरहेको देख्दा सहिदका ती सन्तानहरुले अनेक प्रश्न गरिरहेका हुन्छन् ।

 


ती अयोग्य भनिएका मेरो प्रिय युद्ध सहयात्रीहरुले न त सामाजीक जीवन जिउनको लागि सजिलो मानेका छन् । न त आफ्नो दैनिक जीवनको गुजारा ढुक्कसँग धान्न सकेका छन् । यो पीडामा रमाउनेहरु आज लाजिम्पाट र बालुवाटारको वरिपरि बेअर्थको नाँच नाचिरहेका छन्  । यो समयको खेल सहिदको रगतसँग साटिएका ती जीवनहरु आज सरकारी ढुकुटीमा बाचिरहेको देख्दा सहिदका ती सन्तानहरुले अनेक प्रश्न गरिरहेका हुन्छन् । 

हिजो आफ्नो छोरा गुमाएकी ती आमाहरुलाई ‘तपाईंको छोरा मरे पनि तपाईंको छोरा जस्तै हामी पनि हजुरको छोरा हौ र छौ भन्नेहरु सत्ताको मालिक भैरहदा आज ती आमाहरु सहिद छोराको निर्जिब फोटो लिएर बालुवाटारको आगनमा महिनौ झुम्मिदा पनि हिजो तपाईंको छोरा हौं, भन्नेहरुलाई भेट्न नपाएर सितलहरमा जीवनका रातहरु कटाइरहेको देख्दा अझ पनि मन थामी नसक्नुको भारी भैरहन्छ । म सहिद आमा हो, उसका टुहुरा बच्चाहरु अहिले पनि सहिद बाबाको बाटो हेरि दिन गिन्ती गरिरहेका छन् । उसका सपनाहरू तिमी बाचेकाहरु कहिले पूरा गर्छौ ? यस्ता अनेक प्रश्नहरु ती सत्ताको मालिकसँग राख्दा आज भोलि प्रतिउत्तरमा तपाईंको छोरा पनि सहिद भएका हुन् र ? यस्तै प्रतिउत्तरले दिक्क भएर सडक पेटिमा बरालिएका ती सन्ततिहरुलाई सत्ता र शक्तिको आडमा पुलिसको बल लगाएर लखेटिदा खपी नसक्नुको पीडाले छट्पटिएका ती सन्तानहरु आज पुनः उहीं सपनाको खोजीमा भौतारिएका जीवनहरुलाई मेरा ती पुराना आफन्त भनिने सहयात्रीगरु कति निर्दयी बनेर ती सहिद आमाको छातिमा ब्रजपात बर्साउन सकेका होलान् ? कस्तो अनौठो काहालीलाग्दो कथा ?

दिन गिन्तीमा दिन बिताइरहेका ती टुहुरा नाबालकहरु प्रत्यक रातको प्रहरसँगै अन्धकारमय आकाशमा टिलपिलाई रहेका ताराहरु हेरेर जब सहिद बाबाको सपनालाई पुकार्न थाल्छन् । उतापट्टि सहिद आमा र बिधवा सहिद पत्नी आफ्नो मनलाई थाम्न नसकेर जब आँशुका थोपाहरु धर्तीमा खसाल्न पुग्छिन्, अनी ती साना टुहुरा नानी बाबुहरु हाम्रो बाबा कहिले आउनुहुन्छ भनी आमालाई रोइ कराई गरी हैरान पार्छन् । आगनका डिलभरी अरु बच्चाहरुले बाबा र छोराहरुको सामीप्य गासेको देख्दा बाबाबिना आत्तिएका ती बालकहरुसँग न त फाटेका लुगा र झोत्रेका चप्पलको तुना बदल्ने पैसा छ, न त बर्षौदेखि धमिराले खाएको आफु बस्ने झुप्रो बदल्ने सम्पत्ति छ । यस्ता अनेकौं पीडा सगालेर ती मुक्तिका जीवित सपनाको पर्खाइमा बसेका ती टुहुरा नानीहरु र सहिद आमाहरुलाई भेट्नका लागि इज्जत खसे जत्तिकै मान्ने ती गद्दार धोकेबाजहरु पजेरो र पुलिसको स्कटिङ बिना सहिद गाउँमा, सहिद आमाहरुको अगाडि ढुक्कसँग उभिन सकिरहेका छैनन् । अरु अझ उसैगरी उहीँ सहिद बस्तीमा ती आमाहरुको आँसु पुछ्न यात्रामा निरन्तर हिडिरहेका मेरो सहयात्री अझैसम्म गाउँ–गाउँमा सहिद आमाको आँशु पुछ्न लागिपरेकै छन् र ती टुहुरा नानी बाबुहरुलाई संकल्पबाट नहार्न उर्जा थपिरहेकै छन् । आशाको दियोलाई मर्न दिएका छैनन् ।

जसले बिच यात्रामा घुडा टेकेर यात्रा समाप्तिको बाटो रोजे । आज उनीहरु विजयका हिमायती हामी हौं, भनेर आफ्नो परिचय बनाउन खोज्दैछन् । जो यात्रामा हिजोदेखि आजसम्म निरन्तर लागिरहेको छन् । तिनीहरु उनीहरुलाई कायरको आरोप थोपरीरहेका छन् । यात्रा समाप्तिको बाटो रोज्ने बिश्वासघाती ती नालायकहरु आजभोलि राष्ट्रघाती सम्झौतामा आफ्नो क्षमताको प्रतिस्पर्धा गरिरहेका छन् । जसले हिजो उनीहरुलाई आफू नखाएर गाँस दिए, आफू नसुतेर बास दिए । ती सबै आज उनीहरुको दुश्मनीमा परिवर्तन भएका छन् । जसको रगतले देशमा आज परिवर्तन ग¥यो तिनै सहिदको काधमा टेकी सत्ताको बिडो थामिरहेका छन् । सपना र बलिदानको महागाथालाई कौडिको भाउमा लिलाम गराई, आज उल्टो सपनाहरू जोगाउन संघर्षरत ती यात्रीलाई देशद्रोहीको आरोपमा बिनाकारण गिरप्तारीको महान्ता देखाएर झन् कायरताको परिचय दिइरहेका धर्ती कुपुत्रहरु आज उल्टो देशलाई लिलामको खाल्डोमा हालिरहेका छन् ।

जीवन्त सपना उसँग हुन्छ जसले यात्रालाई निश्चित लक्ष्यमा पु¥याउनको निम्ति कसम खाएको हुन्छ । देशभक्त त्यो हुन्छ, जो स्वार्थी सम्झौता बिना, देशको निम्ति मर्न तयार हुन्छ । त्यसैले देश बाचे हामी बाच्छौ । हामी बाचुन्जेल देश र सहिदको सपना बचाउँ । यो गद्दार सपनाको हत्याराहरुलाई तह लगाउने एक महान अभियान चालांै । सहयात्री जो आफ्नो भए तर आफन्त हुन कहिल्यै सकेनन् यस्ता बिश्वासघती विरुद्धको संघर्षलाई आजैदेखि सुरु गरौ ।

प्रतिक्रिया दिनुहोस