रोजाइ बन्दै दुर्गममा सेवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोजाइ बन्दै दुर्गममा सेवा


प्रशासन विशेष ब्युरो

१ पुस २०७३, शुक्रबार


बाजुरा । अहिले बाजुरावासी दंग छन् । आफ्नै घर छिमेकमा विशेषज्ञ डाक्टरको टोली भेटेपछि स्थानीयको खुसीको सीमा छैन । दुरदराजको भूगोलमा आक्कलझुक्कल मात्र रहने डाक्टरको उपस्थितिको पुरानो अघोषित परम्परा तोडिदा स्थानीयलाई देउता नै पाए जस्तो गौरव र सुविधा नै थपिएको छ । स्वास्थ्य मन्त्री गगन थापाले दुरदराजमा अब डाक्टरहरुको खटनपटनमा कडाई गरिने छ भनी दिएको आश्वासन बाजुरावासीका हकमा हो की क्या भने जस्तै भैरहेको छ ।

अहिले बाजुरामा पहिलो पटक विशेषज्ञ सेवासहित छ जना डाक्टरले सेवा दिन थालेका छन् । जिल्लामा एमडिजिपि अर्थात् विषयगत विज्ञताका बिशेषज्ञ चिकित्सक आएपछि विशेषज्ञ सेवा सुचारु भएको जिल्ला जन स्वास्थ्य प्रमुख डाक्टर मोहन नाथले जानकारी दिए ।

जिल्लामा पहिलो पटक एपेन्डिसाइटीस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँचिएको लगायतको अप्रेसन सुचारु भएको डा. नाथले बताए । एमडी डाक्टर दुर्गाराज मर्हजन जिल्ला आएपछि सेवा सुरु भएको हो । विशषज्ञ सहितको डाक्टरहरुको सेवा सुरु भएपछि सामान्य अप्रेशन गर्नका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता टर्ने भएको छ ।

यस अघि सामान्य विरामीको चेक जाँच, हड्डी टुटेका र अफ्रेसन गर्न पर्ने विरामी धेरै पैसा र समय खर्च गरेर धनगढी, काठमाडौ र भारतमा उपचार गर्न जानुपर्ने बाध्यता अब हटेको छ । बाजुरा सधै स्वास्थ्यमा पछाडी परेको र सामान्य सेवाका लागि पनि बाहिर जानुपर्ने बाध्यता कम गर्न आफु बाजुरा रोजेरै आएको डा. महर्जनको भनाइ छ । स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक सीमोनस इन्सिच्युड नामक संस्थाले बाजुरा जिल्लामा पहिलो पटक एमडी पठाएको हो ।

आहा , कति मीठो कुरा डा. महर्जनको दुर्गममा सेवा दिन जान पनि रोजाई नै । यस्तो असल परम्परा थालेर डा. मर्हजन बनेका छन् स्थानीयका लागि ज्यूदा देउता । सरकारी डाक्टर दुर्गम जादैनन् भन्ने मान्यता भत्काउन पनि यो पटक डाक्टरको टोलीले नयाँ कीर्तिमान नै कायम गरेको छ ।

सेवा सुरु गरे देखि नै उपचारका लागि आएका विभिन्न खाले बिरामीको चेक जाँचगर्दा यहाँको महिला तथा बालबालिकाको स्वास्थ्य अवस्था निकै कमजोर रहेको पाइएको त्यहा खटिएका डाक्टरहरुको अनुभव छ ।

आकस्मिक प्रसुति सेवा र हाइड्रोसिल अप्रेसन सेवाका लागि एमडिजिपि डा. दुर्गाराज महर्जन, मेडिकल अधिकृत डा. टिका भट्टराई र स्टाफ नर्स अनिशा श्रेष्ठबाट सेवा सुरु गरिएको छ । दुर्गममा डाक्टर नबस्ने समस्या भएकोले बाजुरामा संस्थाको सेवा विस्तार पछि जिल्लामा छ जना डाक्टर आएका हुन् ।

जिल्ला अस्पताल बाजुरामा दुइजना र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना गरी तीनजना डाक्टर सरकारी र तिनजना संस्थाको सहयोगमा उपलब्ध गराइएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा बिशेषज्ञ डा. दुर्गाराज महर्जन, डा. मोहननाथ, डा. रोहितगिरी, डा. टिकाराम राई र दातँको डाक्टर डा. बुद्धि खडायत रहेका छन् । त्यस्तै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा डा. विकल लामिछाने रहेका छन् । जिल्ला स्वास्थ्य प्रमुख डा. नाथका अनुसार बाजुरामा यति धेरै डाक्टर कार्यरत रहेको पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस