अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइयो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइयो


प्रशासन विशेष ब्युरो

१८ मंसिर २०७३, शनिबार


काठमाडौं । “हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौ हामीले चाहेको भविश्य” भन्ने मुल अन्तर्राष्ट्रिय नाराका साथ आज विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमहरू गरी मनाइएको छ ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको नेतृत्वमा गठन गरिएको अपाङ्गता दिवस मुल समारोह समितिको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघको संयोजकत्वमा आज काठमाडौमा विहान ८ः३० बजे भृकुटिमण्डपबाट एक वृहत र्‌यालीको आयोजना गरियो ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका निमित्त सचिव श्री शंकर प्रसाद पाठकले उद्घाटन गर्नुभएको उक्त र्‌यालीमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरू, अपाङ्गता अधिकार कर्मीहरू, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, दातृ संस्थाका प्रतिनिधिहरू, मानवअधिकार कर्मीहरू, विद्यार्थी, शिक्षक, वुद्धिजिवी, समाजसेवी, पत्रकार, राजनैतिक दलका नेताहरू, सांसदहरू, अपाङ्गता भएका व्यक्तिहरू र सर्वसाधारण गरी २ हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

अपाङ्गता अधिकार सम्बन्धी विभिन्न नारा र नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित भृकुटिमण्डपवाट निस्किएको उक्त र्‌याली भृकुटीमण्डप, पद्मोदय मोड, पुतलिसडक हुँदै पुनः भृकुटिमण्डपमा पुगि मुल समारोहमा परिणत भएको थियो ।

उक्त मुल समारोहकोको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष श्री सुदर्शन सुवेदीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा माननीय स्वास्थ्य मन्त्री श्री गगन कुमार थापा हुनुहुन्थ्यो ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा व्यवस्थापिका संसदका माननीय सांसद श्री उषा गुरूङ, र माननीय सांसद कान्ता भट्टराई र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका निमित्त सचिव श्री शंकर प्रसाद पाठक रहनुभएको थियो ।

यसैगरि अतिथिहरूमा विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी निकायहरू ए।आइ।एन। अपाङ्गता कार्य समुह, माइराइट्स, डि.पी.ओ.डी. डेनमार्क, एफ.एफ.ओ. नर्वे, सी.वि.एम, एन.एल.आर. र ए.एस.वी.का प्रतिनिधिहरू, नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अपाङ्गताको सवाल हेर्ने भातृ संस्थाका प्रतिनिधिहरू,केन्द्रीय वालकल्याण समितिका अध्यक्ष, अपाङ्गताको विभिन्न वर्गलाई प्रतिनिधित्व गर्ने वर्गीय संस्थाका प्रतिनिधिहरू रहनुभएको थियो ।

बहिरा व्यक्तिहरूको साङ्केतिक भाषामा समेत नेपालको राष्ट्रिय धुन बजाई सुरू गरिएको कार्यक्रममा सम्ममाननीय राष्ट्रपति श्री विद्या भण्डारी सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दहाल प्रचण्ड र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव बिष्णु प्रसादले अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उप सचिव भरतराज शर्माले पढेर सुनाउनु भएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि स्वास्थ्य मन्त्री श्री गगन थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव श्री भरतराज शर्माले गर्नुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट वोल्दै माननीय मन्त्री श्री गगन थापाले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरू प्रति स्वास्थ्य मन्त्रालयको मुख्य जिम्मेवारी रहेको कुरा उल्लेख गर्दै यस विषयमा परिणाममुखी कामहरू गर्न चाँडै नै एक तीन सदस्यीय विज्ञहरूको सुझाव समिति गठन गरि १५ दिन भित्रै तत्काल गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने कामहरूलाई वर्गीकरण गरी कामहरू अगाडी वढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमममा माइ राइट्स स्वीडेनका प्रतिनिधि श्री हानेस जुलिन लाग्रेस लियसले नेपालमा अपाङ्गताको अधिकारमुखी आन्दोलन निकै अगाडी वढेको, नेपालको संविधान अपाङ्गताको परिप्रेक्षबाट निकै समावेशी भएको र सरकार र गैर सरकारी निकायहरू सँगै मिलेर यसरी काम गरेको विश्वलाई नै उदाहरणीय भएको कुरा उल्लेख गर्दै नेपालको अपाङ्गता अधिकार आन्दोलनको निकै प्रशंसा गर्नुभएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष तथा मुल समारोहका अध्यक्ष श्री सुदर्शन सुवेदीले शहरी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूका लागि केहि सेवा सुविधाहरू उपलब्ध भएको जस्तो देखिएतापनि गाउँ र दुरदराजमा अझै अपाङ्गता भएका व्यक्तिहरूको अवस्था असाध्यै दयनीय रहेको कुरा उल्लेख गर्दै अवको दुई वर्ष राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो पैरवी अभियानलाई गाउँ र जिल्ला केन्द्रीत गरेर महाअभियानको रूपमा सञ्चालन गर्ने उद्घोष गर्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासंघका महासचिव श्री राजु वस्नेतले सञ्चालन गर्नुभएको उक्त मुल समारोहको समापन पश्चात अपाङ्गता भएका व्यक्तिका प्रतिभाहरू प्रष्फुटन गराउन विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । सांस्कृतिक कार्यक्रममा होचा पुड्का, ह्वीचियर प्रयोगकर्ता कलाकारहरूले नृत्य प्रदर्शन गरेका थिए भने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले बाद्यबादनको कार्यक्रम प्रस्तुत गरेका थिए ।

आजकै दिनमा काठमाडौ वाहेक देशका विभिन्न जिल्लामा महिला बालबालिका कार्यालय र स्थानीय अपाङ्गता भएका व्यक्तिहरूका संस्थाहरूको संयुक्त पहलमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरू गरि मनाइदैछ ।

प्रतिक्रिया दिनुहोस