काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच पौडेल निवास बोहराटारमा विहीबार भेटवार्ता भएको छ ।
नेपाल अमेरिकाबीचको द्विपक्षीय हित र आपसी चासोका विषयमा उहाँहरुका बीच कुराकानी भएको थियो ।
कुराकानीका क्रममा वरिष्ठ नेता पौडेलले राजनीतिक दलको सहमतिमा संविधान कार्यान्वयन भइरहेको र संशोधनको प्रक्रिया समेत अगाडि बढेको राजदूत टेप्लिजलाई जानकारी गराउनुभएको भेटपछि वरिष्ठ नेता पौडेलले जानकारी दिनुभयो ।
उहाँले दलहरुका बीचमा आपसी सहमति र सहकार्यमा विभिन्न तहका निर्वाचन सम्पन्न गर्न समेत लागिरहेको राजदूत टेप्लिजको जिज्ञासामा बताउनुभएको थियो ।
राजदूत टेप्लिजले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा अमेरिकी सरकारले नेपाललाई निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा थप सहयोग प्रदान गर्न इच्छुक रहेको अवगत गराउनुभएको थियो । रासस