बिनादर्ता सञ्चालित औषधि पसललाई कारबाही गर्न निर्देशन « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

बिनादर्ता सञ्चालित औषधि पसललाई कारबाही गर्न निर्देशन


प्रशासन संवाददाता

१० भाद्र २०७३, शुक्रबार


नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री गगनकुमार थापाले काठमाडौँ उपत्यका र बाहिरका जिल्लामा बिनादर्ता भएका औषधि पसललाई कारबाहीका दायरामा ल्याउन औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ ।

औषधि व्यवस्था विभागले गरेको औषधि व्यवस्थापन कार्यक्रममा उहाँले भन्नुभयो, “बिनादर्ता सञ्चालन हुँदै आएका औषधि पसललाई एक महिना दर्ता गर्ने समय दिनुस् तर एक महिनाभित्र दर्ता नगर्ने औषधि पसललाई बन्द गर्नाका साथै सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने कार्य सुरु गरिहाल्नुहोस् ।” मन्त्री थापाले कतै एक जनाका नाममा औषधि पसल दर्ता गरी सञ्चालन अरुले नै गर्ने गरेकाले उनीहरुलाई पनि कारबाही गर्न विभागलाई निर्देशन दिनुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले थोरै दक्ष जनशक्तिले धेरै काम गरिरहनुपरेको गुनासो गर्नुभयो । आजैदेखि विभागद्वारा गरिने सम्पूर्ण काम औषधि उत्पादन, पैठारी, औषधि पसल दर्ता र औषधि पसल दर्ताजस्ता सम्पूर्ण काम अनलाइन पद्धतिबाट हुने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस