‘स्क्रब टाइफस’ को अवस्था पत्ता लगाउन मुसाको अध्ययन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘स्क्रब टाइफस’ को अवस्था पत्ता लगाउन मुसाको अध्ययन


प्रशासन संवाददाता

१० भाद्र २०७३, शुक्रबार


नेपालमा पछिल्लो पटक देखापरेको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन गर्न लागिएको छ । मुसामा लाग्ने किर्ना जातको माइटबाट रोग सर्ने भएकाले मुसाको अध्ययनका लागि तयारी स्वरुप इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका टोली चितवन आएको छ ।

स्क्रब टाइफसको अहिलेको अवस्था बुझ्न चितवन आएको टोलीले एक हप्ता भित्रैमा मुसाको अध्ययन गर्न लागेको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिनुभयो ।

शर्माको नेतृत्वमा स्वास्थ्य प्रविधिज्ञ तथा विज्ञहरु रेशम लाल लामिछाने, ललन शाह, लक्ष्मण महर्जन सहितको टोली चितवन आइपुगेको हो ।

“रोग सार्ने माध्यमको रुपमा मुसा नै मुख्य हो, मुसा आफैं रोग सार्ने कारण नभएपनि रोग लगाउने एक प्रकारको किर्ना (माइट) लाई मुसाले पाल्न सहयोग गर्छ,” शर्माले भन्नुभयो – “त्यसैले मुसाको अध्ययन गर्न लागेका हौं ।”

उहाँका अनुसार स्थानीय स्टेकहोल्डरहरुसँग छलफल गरेर अध्ययन गरिने छ । उहाँ सहितको प्राविधिक टोली अहिले चितवनमा स्क्रब टाइफसको अवस्थाबारे जानकारी बटुलिरहेको छ । पहिलो चरणमा आज टोलीले भरतपुरमा पत्रकार अन्तरक्रिया गरी रोगबारे जानकारी दिएको छ ।

विदेशमा उक्त प्रजाति मुसामै बसेको पाइएकाले नेपालको अवस्था बुझ्न चितवनमै अध्ययन गर्न लागिएको हो । स्क्रब टाइफसको प्रकोप नेपालभरमै सबैभन्दा बढी चितवनमा देखापरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा वैशाख यता १४५ जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो । जिल्लामा सचेतनामूलक कार्यक्रम जारी रहेको उहाँको भनाइ छ ।

चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा यसको परीक्षण हुँदै आएकामा एक हप्ताभित्र सरकारी तहबाटै किट उपलव्ध गराउने तयारी गरेको इपिडिमियोलोजी महाशाखा काठमाडौँका शाखा प्रमुख डा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कमै चिनिएको यो रोगको सजिलै उपचार हुने र पहिचान नभए खतरानाक साबित हुनसक्छ ।

चितवन मेडिकल कलेजका फिजिसिएन डा शीतल अधिकारीले ज्यानमारा प्रकृतिको रोग नभएपनि समयमै अस्पताल नपुगे ज्यान जोखिममा पर्ने निश्चित भएको जानकारी दिनुभयो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले रोगको परीक्षणका लागि किट सरकारी तवरबाट पर्याप्त उपलव्ध हुनुपर्नेमा जोड दिनुभयो । नेपालमा २०७२ साल भदौमा गरिएको परीक्षणमा रोग पत्ता लागेको थियो ।

पाँचको मृत्यु, १७६ सङ्क्रमित

गएको वर्षदेखि देखिन थालेको यो रोगबाट आजसम्म नेपालमा पाँच जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।

यसअघि तीन जनाको मृत्यु भएको सूचना सार्वजनिक भएकामा थप दुईको मृत्युको पुष्टि गरिएको हो । नेपालका २९ जिल्लामा फैलिएको यो रोगबाट आजसम्म १७६ जना सङ्क्रमित भएको बताइएको छ । चितवनमा उपचार गराएका मात्रै १४५ जना छन् ।

यसरी मृत्यु हुनेमा चितवनमा उपचार गराइएका चितवन र तनहुँका गरी दुई, धरानमा उपचार गराइएका संखुवासभाका दुई र भोजपुरका एकजनाको मृत्यु भएको आज सार्वजनिक गरिएको छ । अघिल्लो वर्ष कुल १०१ जना सङ्क्रमित भेटिएकामा ८ जनाको मृत्यु भएको थियो ।

दोस्रो विश्वयुद्धताका जापानको सेनामा पहिलोपटक यो रोग देखिएको थियो । जापानमा पत्ता लागेकाले यसलाई ‘सुसुगामुसी’ भनेर पनि चिनिन्छ । उक्त समयमा विरामीमध्ये ३० प्रतिशतको ज्यान गएको जनाइएको छ ।
के हो स्क्रब टाइफस ?

अघिल्लो वर्ष नेपालमा फेला पारिएको यो रोग मुख्यगरी मुसामा लाग्ने एक प्रकारको किर्ना जस्तै लाग्ने सङ्क्रमित माइटले टोकेमा लाग्छ ।
यो जीवाणुबाट सर्ने रोग हो । प्रायःजसो झाडी, खेतवारी, वनजङ्गल, घर वरिपरिको झाडी, घुरान हुने ठाउँमा देखिने गर्छ । मानिसबाट मानिसमा नसर्ने यो रोग मुसाको एक प्रकारको तरल पदार्थ खाएर अघाएपछि माइट जातको किर्ना झारमा झर्छ । त्यही झारमा मानिस पुग्दा टाँसिन्छ र सङ्क्रमितले टोक्दा सर्छ ।

यो रोग लागेमा टाउको दुख्ने, १०४ डिग्री ज्वरो आउने, घाँटी वरिपरि मसिना बिबिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने लगायतका लक्ष्यण देखिने हुन्छ । आँखा रातो हुने, पसिना आउने, झाडापखाला लाग्ने पनि हुन्छ ।

समयमै उपचार नभए श्वासप्रश्वासमा समस्या आएर विरामी सिकिस्त हुने डा दयाराम लम्साल बताउनुहुन्छ ।

बच्ने उपाय

यो एक प्रकारको व्याक्टेरिय (रिकेटसिया)ले लगाउने रोग हो । झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने, चौर झारमा बस्नेमा सर्ने सम्भावना बढी भएकाले यस्ता ठाउँमा जानेले होस पु¥याउनु पर्छ ।

शरीर छोपिने कपडा लगाउने, चौरमा बस्दा गुन्द्री, म्याट ओछ्याउने र राति सुत्दा मलम लगाएर सुत्ने गर्नुपर्छ । सम्भव भए भूइँमा नबसी खाटमा बस्ने, मुसा नियन्त्रण गर्ने र किटनासक औषधि छर्कने गर्दा यो रोगबाट धेरै हदसम्म बच्न सकिन्छ । रासस

प्रतिक्रिया दिनुहोस