युवा सङ्घले स्वदेशी वस्तु प्रयोग गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

युवा सङ्घले स्वदेशी वस्तु प्रयोग गर्ने


प्रशासन संवाददाता

१० भाद्र २०७३, शुक्रबार


नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमाले अब जनताबाट बहुमत प्राप्त गरी सिंहदरबार जाने बताउनुभएको छ ।

युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘युवाको स्वदेशी तथा वैदेशिक रोजगारीमा देखिएका अवसर तथा चुनौती’ विषयको कार्यक्रममा नेता भट्टराईले एमालेले सरकारमा बसेर बृहत् परियोजना तथा आर्थिक गतिविधिका लोकप्रिय कार्यक्रम ल्याए पनि बहुमत नभएका कारण सरकारबाट बाहिरनुपरेको बताउनुभयो । युवा जनशक्ति बाहिरिएका कारण देशमा खेतीयोग्य जमिन बाँझो रहेको बताउँदै उहाँले मुलुकमा भएका साधन, स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले गत वर्ष रु ६ खर्ब १७ अर्ब विप्रेषण आए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा उपभोगमा खर्च बढेको बताउनुभयो ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले विदेशमा श्रमका लागि करिब १९ लाख नेपाली रहेको जानकारी दिँदै स्वदेशी उत्पादन बढाएर विदेशी सामग्रीको आयातमा बढ्दै गएको निर्भरता न्यूनीकरण गर्न सकिनेमा जोड दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रले १४ प्रतिशतसम्म योगदान गरेकामा अहिले उद्योगधन्दा धराशयी बन्दै गएकाले ५ प्रतिशतको मात्र योगदान रहेको जानकारी दिनुभयो ।

युवा सङ्घका उपाध्यक्ष दिलु पन्त, पूर्वअध्यक्ष महेश बस्नेत, संविधानविद् टीकाराम भट्टराई, एलपी सावाँ लगायतले राजनीतिक अस्थिरताले रोजगारी सिर्जना गर्न नसकिएको बताउँदै विप्रेषणले देशको अर्थतन्त्र चलेकाले त्यसको केही प्रतिशत जलविद्युत् लगानी गरी उनीहरुलाई सेयर उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो । सङ्घका अध्यक्ष राजीव पहारीले अबदेखि सङ्घले देशभर गर्ने औपचारिक कार्यक्रममा स्वदेशी उत्पादनको प्रयोग गर्ने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस