योगी नरहरीनाथका दुर्लभ पुस्तक प्रदर्शनीमा राखिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

योगी नरहरीनाथका दुर्लभ पुस्तक प्रदर्शनीमा राखिँदै


२७ पुस २०७४, बिहिबार


वेद, वेदान्त, इतिहास, पुरातत्व, पुराण लगाएत मानव जीबनसंग सम्बन्धित विषयका ज्ञाता योगी नरहरीनाथ एक प्रकाण्ड विद्वान नै मानिन्छन् । कालीकोट जिल्लाको लालू गाउँमा जन्मिएका योगी नरहरीनाथले पश्चिम नेपालबाट शुरु गरेको ऐतिहासिक तथा पुरातात्विक खोजलाई पूर्व मेची देखि पश्चिम महाकालीसम्म भ्याएका छन् ।

योगी नरहरीनाथ राष्ट्रबादी थिए भन्ने कुराको उदाहरण दिइरहनु पर्दैन । योगीका कतिामा राष्ट्रियताको ज्वलन्त उद्घोष पाइन्छ । इतिहास, भूगोल, धर्म, दर्शन, पुरातत्व, जनजीवन, पशुपन्छी, वनस्पति लगाएत स्थानविशेषमा राष्ट्रियतालाई जोडतोडका साथ उठाएको भेटिन्छ । यसै सन्दर्भमा २००९ साल देखि नेपाल एकिकरणका नायक राष्ट्रपिता पृथ्बीनारायण शाहको जन्मोत्सवलाई नागरिकको सहभागीतासहित मनाउन योगीको ठूलो योगदान रहेको श्रीवृहद्आध्यात्मिक परिषद्ले जनाएको छ । उनैद्धारा २०२२ सालमा स्थापना गरिएको श्रीवृहद् आध्यात्मिक परिषद्ले यतिबेला पृथ्वीजयन्तीकै अवसर पारेर उनका पुस्तकहरुको समेत प्रदर्शनी गर्ने भएको छ । यसै सन्दर्भमा केन्द्रित रहेर प्रशासन डटकमले परिषद्का महासचिव विश्व केसी (पोखरेल)संग गरेको कुराकानीः

पृथ्वी जयन्तीको अवसरमा योगी नरहरीनाथका पुस्तक प्रदर्शनी गर्दै हुनुहुँदो रहेछ, पृथ्वी जयन्ती र योगी बीच के सम्बन्ध ?
नेपालमा २००७ सम्म त राणा शासनै थियो । जव प्रजातन्त्र आयो । त्यसपछि योगी नरहरी नाथले नेपालमा राष्ट्रपिता पृथ्बीनाराणण् शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रकृया शुरू गर्नुभयो । त्यो भन्दा पहिले पनि मनाइन्थ्यो होला तर राणा परिवारमा कसरी मनाइन्थ्यो त्यो कुरो थाहा भएन । जनताको सहभागिता थिएन ।

२००९ सालदेखि योगी नरहरीनाथले सरकारसंग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरेको हो । योगी जीले त्यो प्रयास नगरेको भए पनि पृथ्वी जयन्ती त हुन्थ्यो होला तर कुन रूपमा हुन्थ्यो त्यो यसै भन्न सकिदैन । तर, संस्थापक रूपमा यसको प्रारम्भ योगी नरहरीनाथकै अग्रसरतामा भयो । उहाा जतिन्जेल बाँच्नुभयो । प्रत्येक वर्ष पृथ्वी जयन्तीको दिनमा एउटा न एउटा कार्यक्रम गरेर मनाउनु भएको छ । त्यसकारण योगी नरहरीनाथ र पृथ्वी जयन्तिलाई छुट्टा छुट्टै रूपमा नहेरेर संगसँगै एउटै रूपमा हेर्नुपर्ने आवश्यकता छ ।

पुस्तक प्रदर्शनी एकेडेमिक प्रकृया पनि भएकोले हामीले यसपालिदेखी पृथ्वी जयन्तीको अवसर पारेर पुस्तक प्रदर्शनीको प्रारम्भ गरेका छौं ।

यस अघि पनि योगी जी का पुस्तक प्रदर्शनी गरिएको थियो, यस पटक थप नयाँ पुस्तक पनि राखिने छन् कि ?
योगी नरहरीनाथका ५ सय ७१ वटा पुस्तक प्रकाशित छन् भने करीब दुइ हजारको संख्यामा अप्रकाशित पुस्तकहरुको पाण्डुलिपि फेला परेको छ । हामीले त्यसलाई प्रकाशित गर्न सकिरहेको अवस्था छैन । प्रकाशित पुस्तकहरू मध्येबाट करीब ५० वटा हामीले बिक्रिका लागि राखेका छौं । त्यसैगरी दुर्लभ ५० वटा पुस्तक हेर्नका लागि मात्रै राखेका छौं ।

पुस्तक प्रदर्शनीको औपचारिक उद्घाटन कसले गर्ने कार्यक्रम छ ?
यसको औपचारीक उद्घाटन प्रज्ञा प्रतिष्ठानमै गर्ने भएको हुनाले हामीले गतवर्ष पनि कुलपतिज्यूबाट नै गराएका थियौं । यसपाली पनि कुलपति गंगाप्रसाद उप्रेतिज्यूले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

गतवर्षको पुस्तक प्रदर्शनीको अनुभव कस्तो रह्यो ?
गत वर्ष मंसिरको २१, २२ र २३ गते पहिलो पुस्तक प्रदर्शनी गरेका थियौं । त्यो प्रदर्शनीमा बहुसंख्यक मान्छेहरुबाट राष्ट्रिय चिन्तनसँग सम्वन्धित जस्तैः दिव्योपदेशहरू, इतिहास प्रकास लगायतका पुस्तकको माग बढी आएको थियो । शिखरणी यात्रा जस्ता पुस्तकको माग बढी आएकोे थियो । यसपालिको प्रदर्शनीमा पनि हामीले तिनै पुस्तकलाई फोकस गर्दै छौं ।

गत वर्ष नराखिएका तर योगी जिका चर्चित अन्य किताव पनि हेर्न पाइन्छ कि यसपाली ?
योगी नरहरीनाथले २००४ सालदेखि पुस्तक लेख्न शुरू गर्नुभएको रहेछ । २००४ सालदेखि २०५९ सालसम्म छापिएका सबै गरेर अहिले हामीसँग २ सय ३९ लेख रचना संकलन भएका छन् । २ सय ३९ लेख रचना मध्ये गत वर्ष १८ लेख रचना प्रकाशन गर्न सकेका थियौं । यसपाली २५ वटा जस्तै गायत्री मन्त्रहरू, पृथ्वीनारायण शाहको दिव्योपदेश जुन खस नेपाली भाषामा अथवा गोर्खाली भाषामा प्रकाशन भएको थियो त्यसलाई योगी नरहरी नाथले २०१५ सालमा संस्कृत भाषामा प्रकाशित गर्नुभएको छ । त्यो पनि प्रकाशन गर्दै छौं ।

त्यसैगरी पशुपति नाथको दर्शन विधि, गाइको महत्व, हिन्दु राष्ट्रमा गाइको महिमा, भगवान बुद्धका नौं अवतारको बारेमा व्याख्या, विश्वयुद्ध बौद्ध महासंघको अवधारणा लगायत पुस्तकहरु प्रकाशित गर्दै छौं । हामीले विश्वहिन्दु संघ मात्र बुझेका छौं । बौद्ध महासंघ स्थापना गर्नुपर्छ भन्ने योगी नरहरीनाथको अवधारणा थियो । त्यो प्रशासन गर्दै छौं ।

नारी जातिको महिमा सबैले जान्नुपर्छ भनेर नारी जातिलाई फोकस गरेर लेख्नु भएका पुस्तक लगाएत हिमाली बीर गोर्खाजातिको मातृभाषा र यसको महिमा, महत्व लगाएत विषयमा लिखित पुस्तकहरु प्रकाशित गर्दैछौं ।

थप केही जानकारी छन् कि ?
योगी नरहरीनाथले जुन योगदान गर्नुभएको थियो त्यो आफ्नो लागि नभएर सिंगो राष्ट्रका लागि हो । हामी जे गर्दै छौं त्यो पनि राष्ट्रिय हितकै उद्देश्यले गर्दै छौं । सबै राष्ट्रबादी व्यक्तिहरू मिलेर त्यसको सदुपयोग गरौं । त्यसले राष्ट्रलाई समृद्ध तुल्याउँछ । त्यसले राष्ट्रको मौलिक पहिचानलाई जिवन्त राख्न मद्यत पुर्याउँछ । पुस्तक प्रदर्शनीमा पनि थुप्रै कुराहरू पाइन्छन् । पुस्तक प्रदर्शनीलाई हामी सदुपयोग गर्न सक्छौं । सदुपयोग गरौं । योगी जी का पुस्तकलाई संकलन र संरक्षण गर्ने उद्येश्यले योगी नरहरीनाथ पुस्तकालय अर्थात संग्राहलय स्थापना गरिएको छ । त्यसको पनि सदुपयोग गरौं भन्ने मेरो अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस