गोरक्षअंशावतार महापुरुषः योगी नरहरिनाथ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोरक्षअंशावतार महापुरुषः योगी नरहरिनाथ


प्रशासन विशेष ब्युरो

२० मंसिर २०७३, सोमबार


योगी नरहरिनाथको जन्म वि.संं. १९७१, फागुन १७ गते आइतबारका दिन कालीकोट जिल्ला, ठाँटीकोट गाउँ विकास समिति, वडा नं. ७, लालुलोखाडा, चाखा, लालूगाउँका भारद्वाजगोत्रीय ललितसिंह ऋक्सेन थापा र माता गौरीदेवी (आत्रेयगोत्री) को माईला पुत्रको रूपमा भएको थियो । ८ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका बलवीरसिंह ऋक्सेन थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग शिक्षा दीक्षा एवम् सन्यास लिएपछि उहाँको नाम योगी नरहरिनाथ रहन गएको थियो ।

योगी नरहरिनाथ ९ वर्षकै उमेरमा घरबाट कैलास मानससरोवरको लामो यात्रा सम्पन्न गरेर फर्किएपछि जुम्ला, चौघानस्थित वटूक भैरवनाथ सिद्ध चन्दननाथ भाषा पाठशालामा प्रवेश गर्नुभएको थियो । त्यसपछि उहाँले हरिद्वार, मायापुरी योगाश्रममा समग्र व्याकरण, दर्शनशास्त्र र काव्य साहित्यको अध्ययन, वि.सं. १९९२÷९३ मा वाराणसी, गोरक्षटील्ला, मैदागिनीमा सिद्धान्तकौमुदी, महाभाष्य प्रथमान्हिक र वाक्यपदीय ब्रम्हकाण्डको अध्ययन, लाहौर, प्राच्य विद्यापीठमा काव्यप्रकाश, कादम्बरी पूर्वाद्र्ध तथा अन्य दर्शनशास्त्रहरूको अध्ययन, वि.सं. १९९५ मा सरस्वती संस्कृत महाविद्यालय, लुधियानाबाट शास्त्री उत्तीर्ण, गुरुकुल काँडी विश्वविद्यालय, हरिद्वारबाट ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, शतपथ ब्राम्हण, तैतिरीय ब्राम्हण, ऐतरेय ब्राम्हण, ताण्ड्य ब्राम्हण, गोपथ ब्राम्हण अध्ययन गरी बि.सं. १९९७ मा वेदालङ्गार परीक्षा उत्तिर्ण गर्नुभएको थियो ।


भारतमा लोकतान्त्रिक सरकार गठन भएपछि भारत सरकारले ताम्रपत्र, स्वतन्त्रता सेनानी जीवनवृत्ति तथा भारतीय भूमिमा प्रदान गर्न चाहेको आश्रम लत्याएर योगीजी मलाई आफ्नै देश र आफ्नै माटो प्यारो छ भन्दै नेपाल फर्किनुभएको थियो ।

अध्ययन पूरा गरेपछि उहाँ सम्पूर्ण भारतभर गौहत्या निषेध आन्दोलन र भारतको स्वतन्त्रता संग्राम सत्याग्रह आन्दोलनमा सरिक हुनु भयो । आन्दोलनका क्रममा उहाँ पटकपटक लाहौरको मुल्तान, शिन्ध, पञ्जाब, दिल्ली र कलकत्ताका कारागारहरूमा थुनिनुभएको थियो । भारतमा लोकतान्त्रिक सरकार गठन भएपछि भारत सरकारले ताम्रपत्र, स्वतन्त्रता सेनानी जीवनवृत्ति तथा भारतीय भूमिमा प्रदान गर्न चाहेको आश्रम लत्याएर योगीजी मलाई आफ्नै देश र आफ्नै माटो प्यारो छ भन्दै नेपाल फर्किनुभएको थियो । साधुसन्तहरूको संगत रूचाउने तात्कालिक प्रधानमन्त्री श्री ३ जुद्ध समशेरले पशुपतिनाथको मन्दिरमा लक्ष्यहोम गरी दशहजार गाई दान गर्दा योगी नरहरिनाथका लागि पनि उहाँको प्रतिभा र बौद्धिकताको सम्मान गरेर गोरक्षपीठः मृगस्थलीको ४ रोपनी क्षेत्रफलको जग्गामा २ वटा आश्रमघर र गौशाला बनाइदिएका थिए जसमा उहाँको पूरै जीवन व्यतित भएको थियो ।

राष्ट्रगुरु योगी नरहरिनाथलाई शास्त्री, वेदविद्यालङ्कारः, कविरत्न, कविकोविद्, कविकान्त, कविभूषण, आशुकवि, महाकविः, धर्मशास्त्राचार्यः, सांख्ययोगाचार्य, आयुर्वेदाचार्यः, पुरातत्ववेदी, इतिहास लेखकः, इतिहास प्रकाशकः, शतशोलिपिभाषाज्ञः, ४५ लक्षहोमकृत्, १२९ कोटिहोमकृत्, ५ शिवयागकृत्, शिवगोरक्षगोभक्तः, आजीवन–विद्यार्थी, आजीवन–पदयात्री, आजीवन–योगाभ्यासी, आजीवन–स्वयम्सेवक, आजीवन–परोपकारपरायणः, विश्वशान्ति–विश्वकल्याण परायण, आबाल ब्रह्मचारी, सत्यपथचारी, सत्यव्रतधारी, शतशहस्र तीर्थयात्री, शुक्ल–यजुर्वेद–माध्यन्दिनीय शाखाध्यायी, ईशावास्योपनिषदध्यायी, धनुर्वेदोपवेदी, आजीवन–कठोर–तपसा–कृशतर–कलेवरः, कर्मवीरः, हिन्दूराष्ट्रगुरुः, वनस्पतिपरिचयज्ञः, व्याख्यानवाचस्पतिः, सहस्राधिक–पुस्तकलेखकः, विश्वहिन्दू सम्मेलनकर्ता, विश्वहिन्दू महासंघ संस्थापकः, विश्वयोगायुर्वेद विश्वविद्यालय प्रस्तावक, पञ्चभाषा विश्वविद्यालय प्रस्तावक, नेपाल (महेन्द्र) संस्कृत विश्वविद्यालय संस्थापकः, गिरीजापुरी सरयू संस्कृत विश्वविद्यामन्दिर संस्थापकः, नाथसन्देश, सरयूसन्देश, संस्कृतसन्देश, कर्मवीरसन्देश, आर्यवीरसन्देश, विश्वात्मदर्शन, हिमवत्संस्कृति, हिन्दूसंस्कृति, पुरुषार्थ, ग्रामगरिमा, प्रमुखानेक पत्रपत्रिका संस्थापकः सञ्चालकश्चः, आर्षविद्याशोधकेन्द्र, भद्रेश्वरविद्यापीठ, कोटिहोम वैदीक विद्यापीठावली संस्थापकः, गोत्रः महर्षि नालिवेली वंशावली प्रकाशकःजस्ता विभिन्न विशेषणहरूले चिन्ने गरिन्छ । उहाँलाई भारतका साधुसन्त, सन्न्यासी एवम् विद्वान्हरूले गोरक्षनाथको अंशावतारको रूपमा अत्यन्त ठूलो श्रद्धा राख्दछन् ।


योगी नरहरिनाथले आफ्नो जीवनकालमा गोरक्षग्रन्थमाला अन्तर्गत ११४ वटा पुस्तकहरू, इतिहास तथा पुरातत्व सम्बन्धी ७ वटा पुस्तकहरू, पाक्षिक, मासिक, त्रैमासिक पत्रपत्रिकाहरू–१०, अन्य विविध विषयका २६३ वटा पुस्तकहरू गरी जम्मा ५७१ वटा पुस्तकहरू (अप्रकाशित १७७ पुस्तकसमेत) प्रकाशित गर्नुभएको थियो ।

योगी नरहरिनाथले आफ्नो जीवनकालमा गोरक्षग्रन्थमाला अन्तर्गत ११४ वटा पुस्तकहरू, इतिहास तथा पुरातत्व सम्बन्धी ७ वटा पुस्तकहरू, पाक्षिक, मासिक, त्रैमासिक पत्रपत्रिकाहरू–१०, अन्य विविध विषयका २६३ वटा पुस्तकहरू गरी जम्मा ५७१ वटा पुस्तकहरू (अप्रकाशित १७७ पुस्तकसमेत) प्रकाशित गर्नुभएको थियो । उहाँका अन्योक्ति मुक्तावली (केही भाग अप्रकाशित), इतिहासप्रकाशमा सन्धिपत्र सङ्ग्रह (कुल ८२ भागमध्ये ७५ भाग अप्रकाशित), इतिहास प्रकाश (कुल ८२ भागमध्ये ७९ भाग अप्रकाशित), शिखरिणीयात्रा (कुल १५ भागमध्ये १४ भाग अप्रकाशित), अभिलेखमालाहरू, करिब ६०० वटा थर गोत्र वंशावलीहरू, अवतारविभूति फल परिचय, मनुस्मृति पद्यमय टीका र कोटीहोम परिचय ७४ भाग लगायत १७७ वटा पुस्तकहरू प्रकाशन हुन बाँकी नै रहेको देखिन्छ । मृगस्थलीमा भइरहेको संरक्षणका क्रममा केही अप्रकाशित पुस्तकका पाण्डुलिपिहरू भेटिएका छन् भने धेरै फेला परेका छैनन् । संरक्षणको प्रारम्भिक अवस्था नै भएकोले ती पाण्डुलिपिहरू भेटिनेछन् भन्ने आशा गर्ने ठाउँ रहेकै छ । उहाँले संस्कृतसन्देशः (अभिलेख प्रधान), जयतु संस्कृतम् (भाषा साहित्य प्रधान), पुरुषार्थः (धर्म प्रधान), कर्मवीरसन्देशः, हिमवत्संस्कृतिः (संस्कृति र इतिहास प्रधान), विश्वात्मदर्शनः, सरयूसन्देशः, नाथवाणीः, ग्रामगरिमा, र नाथसन्देशः,जस्ता पत्रिकाहरूको सम्पादन एवम् सञ्चालन पनि गर्नुभएको थियो ।


यसरी संस्थापित भएका संघ संस्थाहरूमा श्रीबृहद् आध्यात्मिक परिषद् स्थापना भएको ५० वर्ष पुगेको अवसरमा गत बर्ष मिति २०७२ चैत्र १ देखि ३ गतेसम्म मृगस्थलीमा स्वर्ण महोत्सव कार्यक्रम सम्पन्न भएको थियो । नेपाल संस्कृत विश्वविद्यालय र विश्वहिन्दू महासंघ आ–आफ्नो उद्देश्यअनुसार क्रियाशील रहेका छन् ।

आफुले अघि बढाएका लोक कल्याणकारी कार्यहरूलाई सम्पादन गर्नका लागि योगीजीले कर्मवीर महामण्डल (नेपाल सरकारद्वारा वि.सं. २०१७ सालमा खारेज), इतिहास प्रकाश संघ, बृहद् आध्यात्मिक परिषद्, नेपाल संस्कृत विश्वविद्यालय दाङ, सरयू संस्कृत विश्वविद्यालय, बिछिया, भारत, आर्षविद्या शोध केन्द्रम, दिल्ली र विश्वहिन्दू संघको स्थापना गर्नुभएको थियो । यसरी संस्थापित भएका संघ संस्थाहरूमा श्रीबृहद् आध्यात्मिक परिषद् स्थापना भएको ५० वर्ष पुगेको अवसरमा गत बर्ष मिति २०७२ चैत्र १ देखि ३ गतेसम्म मृगस्थलीमा स्वर्ण महोत्सव कार्यक्रम सम्पन्न भएको थियो । नेपाल संस्कृत विश्वविद्यालय र विश्वहिन्दू महासंघ आ–आफ्नो उद्देश्यअनुसार क्रियाशील रहेका छन् । योगी नरहरिनाथले विश्वहिन्दू बौद्ध महासंघको परिकल्पना गर्नुभएका थुप्रै कागजातहरू फेला परेका छन् ।

नेपालको इतिहास अध्ययनअनुसन्धानमा पनि योगीजीको गहिरो लगाव रहेको थियो । नेपालको साहित्यिक इतिहासमा अत्यन्त महत्व राख्ने सुवानन्ददासलिखित साहित्यिक कृति–नेपाली साहित्यिक इतिहासको हालसम्मको सबैभन्दा पुरानो कविता सङ्ग्रह, ऐतिहासिक एवम् पुरातात्विक कृतिहरूमा जुमला सेजाधिराज पुण्यमल्लदेवको शाके १२५८ (वि.सं. १३९३) को कनकपत्र, पुण्यमल्लदेवकै शाके १२५९ (वि.सं. १३९४) को कनकपत्र र पुण्यमल्लदेवकै शाके १२७८ (वि.सं. १४१३) को कनकपत्रको खोज योगी नरहरिनाथले नै गर्नुभएको थियो ।

राष्ट्रिय स्वाधिनताका सवालमा पनि योगीजी अत्यन्त सजग हुनुहुन्थ्यो । उहाँले तात्कालिक नेपाल सरकारको निर्णयअनुसार चितवन जिल्ला, नारायणगढ बजारभन्दा उत्तरतर्फको नेपालको सांस्कृतिक, पुरातात्विक एवम् धार्मिक क्षेत्रभित्रको ४२ बिगाहा जग्गा भारतीय र संयुक्त राज्य अमेरिकाको वेष्ट भर्जिनिया युनिभर्सिटिलाई चिकित्सा शास्त्र अध्ययन केन्द्र स्थापना गर्नका लागि निशुल्क दिने निर्णयका विरूद्ध सर्वोच्च अदालतबाट उत्प्रेषणको आदेश जारी गरी पाउन रिट निवेदन गर्नु भएको थियो । सोही रिट निवेदनका आधारमा वि.सं. २०५३ साल बैशाख १७ गतेका दिन सर्वोच्च आदलतबाट जारी गरिएको उत्प्रेषणको आदेशद्वारा नेपाल सरकारको निर्णय बदर भएको थियो ।

त्यसैगरी नेपालको संवैधानिक, कानूनी, प्रादेशिक अखण्डतासँग प्रत्यक्ष सम्बन्धित सार्वजनिक सरोकार रहेको प्रश्नहरूको निरूपण गरी नेपाल अधिराज्यको प्रादेशिक अखण्डता प्राप्तिको हक, जनताको सुसूचित हुने हकको क्रियाशीलता र प्रचलनका लागि नेपाल सरकारको गृह र परराष्ट्र मन्त्रालयहरूलाई झिकी बुझी अमान्य कानून र कानूनसरह हैसियत नराख्ने व्यवस्थाहरू रद्द भईसकेको अवस्थामा सुगौली सन्धिलगायतका सन्धि समझदारीहरूको परिणामले सुगौली सन्धिपूर्व नेपाल अधिराज्यको भू–भागको हैसियत पुनः प्राप्त गरी गराई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ४ को उपधारा २ को (ख) बमोजिम नेपाल अधिराज्यको भू–भाग कायम गर्नु गराउनु भनी मन्त्रीपरिषद्लगायत प्रत्यार्थीहरूका नाममा परमादेश जारी गरी नेपाल अधिराज्य र नेपाली जनताका लागि पूर्ण न्याय गर्न गराउनका लागि योगी नरहरिनाथ, प्रल्हाद हुमागाई, प्रकाशराज देवकोटा, अशोकलाल श्रेष्ठ र अधिवक्ताहरू रामजी विष्ट, श्यामप्रसाद ढुंगेल र राधेश्याम लेकालीहरूद्वारा वि.सं. २०५४ साल आषाढ ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । यस रिट उपर के कस्तो फैसला भयो भन्ने सम्बन्धमा अहिलेसम्म पनि कुनै जानकारी प्राप्त हुन सकेको छैन ।


तात्कालिक पञ्चायति ब्यवस्थाले उहाँलाई अराष्ट्रिय तत्व आदि इत्यादि आरोप लगाएर दुःख दिने गरेको थियो । यस्तै घटनाहरूमध्ये वि.सं. २०१७ साल कार्तिक ९ गतेको गोरखा काण्ड एउटा चर्चित काण्ड हो ।

वर्तमान राजनैतिक समाजले योगी नरहरिनाथलाई राजावादी वा पञ्चायतका पक्षधर मानिरहेको छ भने तात्कालिक पञ्चायति ब्यवस्थाले उहाँलाई अराष्ट्रिय तत्व आदि इत्यादि आरोप लगाएर दुःख दिने गरेको थियो । यस्तै घटनाहरूमध्ये वि.सं. २०१७ साल कार्तिक ९ गतेको गोरखा काण्ड एउटा चर्चित काण्ड हो । राजा महेन्द्र विदेश भ्रमणमा रहेका बेला योगी नरहरिनाथले गोरखामा आयोजित सभालाई संवोधन गर्दा उत्तेजित भएको भीडका कारण ७/८ जना सर्वसाधारणको ज्यान गएको थियो । यस घटनामा ज्यान गुमाउने र कारावासको सजाय पाउने व्यक्तिहरूको नामावली परिषद्सँग सुरक्षित रहेको छ । यस घटनापछि तात्कालिक सरकारले योगीलाई पक्राउ गर्ने आदेश गरेको थियो । गोरखाका घटनाको भोलिपल्ट योगी जुम्लाको कार्यक्रममा उपस्थित हुन पुग्नुभएको थियो । अघिल्लो दिनको कार्यक्रममा गोरखामा भएको व्यक्ति भोलिपल्ट जुम्लामा पुग्नुले सरकारलाई पनि आश्चर्यचकित बनायो । यही रिसमा गोरखाकाण्डको अभियोग लगाएर मृगस्थलीस्थित आश्रममा रहेका योगी नरहरिनाथका सम्पूर्ण सरसामान तथा ऐतिहासिक सामाग्रीका बोराहरू सरकारले प्रहरी खटाएर आगो लगाइदियो ।


गोरखाकाण्डको अभियोग लगाएर मृगस्थलीस्थित आश्रममा रहेका योगी नरहरिनाथका सम्पूर्ण सरसामान तथा ऐतिहासिक सामाग्रीका बोराहरू सरकारले प्रहरी खटाएर आगो लगाइदियो । यसरी आश्रमभित्र रहेका सामग्रीहरू बाहिर ल्याउँदै आगो लगाउँदा ७ दिनसम्म मृगस्थली वनक्षेत्रमा धुवाँको मुश्लो उठेको थियो । ती बोराहरूमा नेपालको इतिहास, पुरातत्व र संस्कृतिसम्बद्ध दस्तावेजहरू रहेका थिए ।

 

यसरी आश्रमभित्र रहेका सामग्रीहरू बाहिर ल्याउँदै आगो लगाउँदा ७ दिनसम्म मृगस्थली वनक्षेत्रमा धुवाँको मुश्लो उठेको थियो । ती बोराहरूमा नेपालको इतिहास, पुरातत्व र संस्कृतिसम्बद्ध दस्तावेजहरू रहेका थिए । यसरी सरकारले … को रिसले … काखमा फोहोर गर्ने उखानलाई चरितार्थ गर्दै नेपालको ऐतिहासिक परिचयका दस्तावेजहरूलाई आफैले नष्ट गरिदिएको थियो । त्यसैगरी नयाँ शिक्षा नीतिको विरोध गरेको अभियोग लगाएर वि.सं. २०३३ साल साउनको महिनामा उहाँसहित केशवप्रसाद सापकोटालाई पञ्चायती सरकारले ६ महिना हिरासतमा राखेर छोडेपछि उहाँ भारतमा निर्वाशन रहनुभएको थियो । पञ्चायतका ब्यक्तिहरूले उहाँको ज्यान नै लिने उद्देश्यले काँचको धुलो मिसाएको पानी खान दिँदा धेरै समयसम्म मुच्र्छित हुनुभएकोले डा. उपेन्द्र देवकोटाले वीर अस्पतालमा उहाँको शिरको शल्यक्रिया गर्नुभएको थियो ।

नेपालका १४ अञ्चल र ७५ जिल्ला पैदलै भ्रमण गरेका योगीले भारत, अष्ट्रेलिया, अमेरिका, श्रीलङ्गा र जापानको पनि भ्रमण गर्नुभएको थियो । स्व. श्री ५ वीरेन्द्रको राज्यकालमा उहाँलाई राज परिषद् सदस्यमा नियुक्त गरिएको थियो । उहाँले आफ्नो जीवन छँदै मिति २०५३ बैशाख २५ गते मंगलबारका दिन जापान प्रस्थान गर्ने दिनमा आफ्ना शिष्य योगी श्रीषनाथलाई वरिष्ठ कर्मठ उत्तराधिकारी घोषणा गरेर आफ्नो सम्पूर्ण कार्यभार सुम्पनुभएको थियो । त्यही उत्तराधिकारपत्रका आधारमा हाल श्रीबृहद् आध्यात्मिक परिषद्का अध्यक्ष पदमा योगी श्रीषनाथः रहनुभएको छ ।

अन्ततः ८८ वर्षको उमेरमा मिति २०५९ फागुन १३ गते, मंगलबार रात्री १२.४० को समयमा योगी नरहरिनाथ आश्रम मृगस्थलीमै उहाँ ब्रम्हलीन हुनुभएको थियो ।

लेखक श्रीबृहद् आध्यात्मिक परिषद्का महासचिव हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस