काठमाडौँ । १९ दिनदेखि नेपाल प्रहरीको थुनामा रहेका भुटानी शरणार्थी युवाहरूलाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरणको रिट बुधबार सर्वोच्च अदालतमा दायर भएको छ।
चैत १६ मा झापाको बेलडाँगी शिविरबाट पक्राउ परेका तीन जनामध्ये आशिष सुवेदीका बुबा नारायणकुमार सुवेदीले दायर गरेको रिटमा सुनुवाइ गर्न बिहीबारलाइ पेशी तोकिएको छ।
बुधबार दायर भएको रिटको पेशी भोलिका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताएका छन् ।
चैत १५ मा अमेरिकाले डिपोर्ट गरेर भुटान पुर्याएका १२ जना शरणार्थीलाई भुटानले नेपाल तिरै पठाइदिएको थियो। कागजात खोसेर भुटानले नेपाल पठाएका उनीहरू अवैध रूपमा नेपाल प्रवेश गरेको अभियोगमा थुनामा छन्।
आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी चैत १६ गतेदेखि र अशोक गुरुङ चैत १९ देखि काँकडभिट्टा प्रहरीको हिरासतमा छन्।