काठमाडौँ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् ।
चैत २० गतेदेखि काठमाडौँ केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आइतबार काठमाडौँको माईतीघरदेखि बानेश्वरसम्म सिठी जुलुस निकालेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौँ उपस्थित भएका शिक्षकहरूले सरकारले आफ्ना मागहरू पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।
आफ्नो माग पूरा नभएसम्म एसइईको उत्तर पुस्तिकासमेत परीक्षण नगर्ने घोषणा शिक्षकहरूले गरेका छन् । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।
