काठमाडौँ । राजावादीको चैत १५ को प्रदर्शनमा अप्रत्यक्ष रूपमा संलग्न रहेकाहरूमाथि पनि आवश्यक छानबिन र कानुनी कारवाही अगाडि बढाउन प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको शुक्रबारको बैठकले उक्त घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्नहरूलाई कारबाही गर्न निर्देशन दिएको हो ।
‘चैत १५ को उक्त घटनाक्रमको सत्यतथ्य छानबिन गरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा त्यसमा संलग्न व्यक्तिहरूमाथि आवश्यक छानबिन र कानुनी कारबाही अघि बढाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ, ’समितिको निर्देशनमा भनिएको छ ।
उक्त आन्दोलन पूर्वाराजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको संसदीय समितिमा नै कुरा उठेको थियो । त्यस्तै, आगामी दिनमा यस्ता खालका हिंसात्मक घटना दोहोरिनबाट रोक्न एवम् संविधान, कानुन एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको रक्षा गर्नको लागि गम्भीरताका साथ अघि बढ्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
समितिको निर्देशनमा भनिएको छ, ‘काठमाडौँको तीनकुनेमा यही चैत्र १५ गते शुक्रबारको दिन राजावादीहरूले विरोध प्रदर्शनको नाममा घटाएको हिंसात्मक घटनाको भर्त्सना गर्दै त्यसप्रति राज्यव्यवस्था तथा सुशासन समितिको यो बैठक खेद प्रकट गर्दछ । उक्त घटनाका दोषीहरूउपर आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई यो बैठक निर्देशन गर्दछ ।’
तीनकुने र आसपासको क्षेत्रमा आगामी दिनमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना आदी कार्यक्रम गर्न अनुमति नदिन पनि सरकारलाई समितिले निर्देशन दिएको छ । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेट व्यवस्थापन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।