काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्न नहुने बताएका छन् ।
बुधबार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । । उनले देश र जनताप्रति उत्तरदायी बनेर काम गर्नुपर्ने लक्ष्य राखेर अघि बढ्न सुझाव समेत दिए।
उनले रेडियो नेपाल लोकतन्त्र र गणतन्त्रको सारथी भएर जनता र देशको हितमा काम गर्न स्वायत्त रहेको बताए। इतिहासमा सत्ताको पञ्जाभित्र परेर अधिनायकवादीको गुणगान गाउने प्रवृत्ति केही हदसम्म परिवर्तन भएको उनले उल्लेख गरे ।
रेडियो नेपाल कुनै पार्टी, व्यक्ति वा सरकारको नभई तीन करोड नेपाली नागरिक भएको उल्लेख गर्दै स्वायत्त भएर नीति तथा कार्यक्रमहरू अघि सार्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘देश र जनताप्रति उत्तरदायी बनेर काम गर्ने लक्ष्य रेडियो नेपालको छ । देश र जनताको समृद्धि सुखका लागि अधिनायकवादी हुनु हुँदैन । विगतको इतिहास हेर्ने हो भने सत्ताको पञ्जाभित्र परेर अधिनायकवादी आउँदाखेरि अधिनायकवादीकै गुणगान गाउने, लोकतन्त्र आउँदाखेरि लोकतन्त्रकै गुणगान गाउने खालको जुन भूमिका थियो आज त्यो सम्पूर्ण रूपमा परिवर्तन भएको छ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले कुनै सरकारको, कुनै नेताको, कुनै मन्त्रीको मात्रै ताबेदारी कदापी गर्नुहुन्न । रेडियो नेपालले आफ्नो स्वायत्त भएर आफ्नो नीति कार्यक्रमहरू अगाडि सारेर अगाडि लाग्नुपर्ने छ ।’
बदलिँदो राजनीतिक परिस्थितमा नेपालको समृद्धि र जनताको सूचनाको हक प्रत्याभूत गर्ने कुरामा रेडियो नेपाल अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।