पर्सा । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने ४५ वर्षीय गिनीलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर-६ बस्ने ४० वर्षीय जय प्रकाश साहलाई बिहीबार पक्राउ गरेको हो ।
उनीहरूले वीरगंज महानगरपालिका-१५ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न वेश्यावृत्तिमा कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले ४ जना महिलाको उद्धार समेत गरेको छ ।
हाल पक्राउ गरी उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।