भद्रपुर (झापा) । भद्रपुर नगरपालिकाको तेलहनखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत तोरी खेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ । नगरपालिकाका कृषि विकास अधिकृत सुमन विमलीका अनुसार पाँच हजार एक सय कट्ठा जमिनमा तोरीखेतीका लागि एक सय ४२ कृषक, कृषक समूह र कृषि सहकारीले आवेदन दिएका छन ।
चालु आव २०८१/८२ मा नगरपालिकाले प्रतिकट्ठा रु एक हजार अनुदान दिने योजना ल्याएको छ । स्थानीय तहले जग्गा वर्गीकरणपछि वास्तविक किसानलाई मात्र अनुदान प्रदान गरिने व्यवस्था गरिएको हुँदा दुरुपयोग रोक्न सहज हुने अधिकृत विमलीले जानकारी दिए ।
भद्रपुर-१ किचकबधका किसान चन्द्र सुब्बाले अनुदान रकम बढेकाले थप १० कट्ठा जमिनमा तोरीखेती विस्तार गरेको बताए । अनुदानले उत्पादन लागत कम गर्न र खेतीलाई आकर्षक बनाउन सहयोग पुग्ने उनको भनाइ छ । स्थानीय किसान समीर रायमाझीका अनुसार नगरपालिकाबाट प्राप्त अनुदान प्रविधि र बालीको उचित हेरचाहमा खर्च हुने भएकाले खेती सुरक्षित रहने विश्वास गरिएको छ । विगतमा खेती गर्दा लागत खर्च निकाल्न नै समस्या पर्ने गरेको र नगरपालिकाको अनुदानले राहत मिलेको उनले बताए ।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७९/८० मा न्यूनतम १० कट्ठा तोरीखेती गर्ने किसानलाई प्रतिकट्ठा रु छ सय अनुदान दिने नीति अवलम्बन गरिएपछि तोरी खेतीको क्षेत्रफल क्रमशः बढिरहेको छ । यद्यपि तोरी खेतीको विस्तार भए पनि स्थानीय उपभोक्ता अझै पनि आयातित तोरी नै खरिद गर्न बाध्य रहेको स्थानीय उपभोक्ता किरण पोखरेल बताउछन् ।