११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा किन बढ्दै छ भूकम्पको जोखिम ? अहिलेसम्म कति भूकम्प गए ? 

अ+ अ-

अकल्पनीय, अनुमान गर्न नसकिने र दैवी तथा प्राकृतिक विपत्ति नै भूकम्प हो । पृथ्वीमा भूकम्पले धनजनको ठुलै क्षति पुर्‍याएको छ । विभिन्न समयमा गइरहेका विनाशकारी भूकम्पले नेपालमा हजारौँ मानिसको ज्यान समेत गइसकेको छ ।   

विक्रम संवत् १९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यो भूकम्पका कथाहरू लिपिबद्ध त छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरूको देहावसानसमेत भइसकेको छ । ९० सालको भूकम्पका कथाहरू तपाई हामीमध्ये धेरैले हजुरबुवा–हजुरआमा, जिजूबुवा–जिजूआमाबाट सुनेका हुन सक्छौँ ।  

भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंसात्मक रूपमा आइरहेको छ । विक्रम संवत् १९९० माघ २ गते अर्थात् आजको दिन दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।

यो स्टोरीमा हामी नेपालमा किन भूकम्पको जोखिम बढ्दै छ ? यससँगै नेपालमा अहिलेसम्म कति भूकम्प गए ? यसबारेमा चर्चा गर्नेछौँ ।

आजभन्दा करिब ९ वर्ष अगाडि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्प बिहान ११ बजेर ५६ मिनेटमा गएको थियो । उक्त भूकम्पका कारण ८ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए भने ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए । 

२०८० कार्तिक १७ गते शुक्रबार राती पश्चिम नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नीच्यूडको भूकम्प गयो । भूकम्पले उक्त क्षेत्रमा सोचिएको भन्दा धेरै क्षति पुर्‍याएको देखिन्छ । भूगोल र भूकम्प गएको समय मध्यराती भएकाले पनि उक्त क्षेत्रमा पुगेको क्षति अनुपातमा बढी नै हो । 

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निट्यूडको भूकम्पले पश्चिम नेपालमा वर्षौँयता कायम भूकम्पीय जोखिमप्रति फेरि मानिसको ध्यान भूकम्पतिर गएको छ । जाजरकोट भूकम्पको करिब एक महिना नबित्दै बझाङमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा १२ जना घाइते भएका थिए । उक्त भूकम्पले भने त्यति ठुलो क्षेत्री नभएको भूकम्प मापन केन्द्रले जनाएको छ ।  

उक्त क्षेत्रमा भूकम्प गएयता अहिलेसम्म देशभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भइरहेको छ तर यसले ठुलो क्षेत्री भने गरेको छैन । भुकम्पविदहरुका अनुसार पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प जाने सम्भावना बढी रहेको छ । यसले गर्दा पश्चिम नेपालका मानिसहरू सचेत रहन विज्ञहरूले सुझाव दिइरहेका छन् ।  

पश्चिम नेपालको भूसतहमुनि ५०० वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको वैज्ञानिक अध्ययनहरूले देखाएको भन्दै विज्ञहरूले त्यसले आठ वा त्योभन्दा बढी म्याग्निट्यूडको भूकम्प निम्त्याउन सक्ने क्षमता राख्ने भएकाले पूर्व सावधानी अपनाउनुपर्नेमा जोड दिँदै आएका छन् । 

केही समय अघि मात्र छिमेकी देश चीनको तिब्बतमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १२६ जनाको मृत्यु भएको र सयौँ घरहरू भत्किएको चिनियाँ अधिकारीहरूले बताएका छन् । चिनियाँ निकायहरूका अनुसार नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पपछि कैयौँ परकम्पहरू मापन गरिएको छ । उक्त भूकम्पले नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि हल्लाएको थियो ।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको र त्यो जमिनभन्दा १० किलोमिटर तल गएको जनाएको छ । नेपालको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड मापन गरिएको थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । 

यी हुन् नेपालमा अहिलेसम्म गएका ठूला भूकम्प 

विक्रम सम्मत १९९०
वि.सं. १९९० साल माघ २ गतेका दिन दिनको २ बजे नेपालको अधिकांश भागमा महाभूकम्प गएको थियो । त्यस दिन सूर्य, चन्द्र, मङ्गल, बुध, शनि, राहु र शुक्र समेत मकर राशिमा सात ओटा ग्रह एकै रेखामा परि गोलयोग परेको कुरा पहिले नै ज्योतिषीहरू भविष्यवाणी गरेका थिए । उनीहरूले नेपालमा ठुलै  उत्पातको भविष्यवाणी गरेका थिए । विक्रम संवत् १९९० को भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपालको चैनपुरमा थियो । उक्त भूकम्पले काठमाडौँदेखि भारतको विहारसम्म ठूलो क्षति भएको थियो ।

यस भूकम्पमा अधिराज्यभरिको अनुमानित क्षति तीन लाख अठासी हजार घर भत्की क्षतिग्रस्त्र भएका थिए । उक्त भूकम्पले १६ हजार ८७५ जनाको ज्यान लिएको थियो भने ३ हजार ३१९ जना गम्भीर रूपमा घाइते भएका थिए । प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पीडितद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा, निर्ब्याजी ऋण सुविधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए । 

यसबाट काठमाडौँ उपत्यकामा आधुनिक किसिमबाट पुनर्निर्माण भयो । उनले भूकम्पको स्थितिबाट पार पाउन मुलुकी खानाबाट ५० लाखको चाँदी लिइ डेढ करोड बराबरका मुद्रा बनाएका थिए । यसले गर्दा देशमा मुद्रास्फीति समेत चर्केको थियो ।

विक्रम सम्मत २०४५ 
वि.सं. २०४५ भदौ महिनाको ५ गते बिहान पौने पाँच बजे नेपालमा अर्को ठूलो भूकम्प गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झड्का पूरै नेपालभर महसुस गरिएको थियो । 

६.७ रेक्टर स्केलको उक्त भूकम्पमा परी करिब ७५० जना मानिसले ज्यान गुमाए भने ६ हजार ५०० भन्दा बढी घर ध्वस्त भएका थिए । त्यसले पूर्वी नेपालमा नराम्रो क्षति पुर्‍याएको थियो भने काठमाडौँ उपत्यकामा समेत यसको प्रभाव परेको थियो । 

विक्रम सम्मत २०६८
विसं २०६८ असोज १ गते साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजंगा हिमाल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसले नेपाल भारत भुटान बङ्गलादेश चीन लगायतका देशमा समेत महसुस गरिएको थियो ।

विक्रम सम्मत २०७२  
आजभन्दा करिब ९ वर्ष अगाडि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्प बिहान ११ बजेर ५६ मिनेटमा  गएको थियो । उक्त भूकम्पका कारण ८ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए भने ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए । 

त्यस्तै वैशाख २९ गते दिउँसो १२ः५० मिनेट जाँदा देश भर निकै ठुलो भूकम्पको झड्का महसुस गरिएको थियो । दोलखाको सुनखानी केन्द्रबिन्दु बनाएर गएको ७.३ रेक्टर स्केलको भूकम्प पूरा नेपाल तथा भारत बङ्गलादेश चीनमा समेत महसुस गरिएको थियो सो भूकम्प पछि दर्जनौँ अन्य साना ठूला भूकम्पका पराकम्पहरू महसुस गरिएका थिए ।

विक्रम सम्मत २०७९
कार्तिक २२, २०७९ नेपाली समय अनुसार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गयो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाई ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले पश्चिम नेपाल र उत्तर पश्चिमी भारतमा क्षति पुर्‍यायो ।  नेपालको डोटी जिल्लामा चार जना बालबालिका सहित ६ जना मानिसको मृत्यु भयो । 

घर भत्किदा पुरिएर उनीहरूको मृत्यु भएको थियो । १२ जना घाइते भए । जसमध्ये पाँच जना गम्भीर घाइते भएका थिए भने दर्जनौँ घरमा क्षति पुगेको छ ।

नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पलाई नेपालमा गएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छन् । नेपालको भूकम्पको इतिहास केलाउँदा रेकर्ड गरिएकामध्ये वि.सं.१२१८ लाई पहिलो विनाशकारी भूकम्प मानिन्छ ।

नेपालमा भूकम्पको इतिहास 

१२१८ को भूकम्प
वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो 

१३१६ को भूकम्प
यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६ को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढङ्गले क्षति पुर्‍याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।

१४६५ को भूकम्प|
करिब १४९ वर्षपछि वि.सं. १४६५मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौँ मन्दिर ढलेको इतिहासमा उल्लेख गरिएको छ । जसले गर्दा जमिनमा ठुलठुला धाँजा फाटेका थिए । पुराना स्थानमा पानीका मुहानसमेत सुक्ने र नयाँ स्थानमा पलाएका थिए । यस भूकम्पले सयौँ मानिस तथा पशुको ज्यान जानुका साथै हजारौँ घर भत्किएका थिए ।

१७३७ देखिका भूकम्प
नेपालमा अन्य थुप्रै पटक भूकम्प गएको भनाइ रहेको भएता पनि प्रामाणिक तिथि मिति नभेटिएका मध्ये वि.सं. १७३७ साल राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत् निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एक दिनमा २१ पटक भूकम्पको धक्का महसुस गरियो । यसले के–कति धनजनको क्षति पुर्‍यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घण्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठुलै क्षति भएको अनुमान गरिएको छ ।

वि.सं. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौँ र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा यस भूकम्पले धेरै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सात वटा ग्रह छुट्टिँदा यो भूकम्प गएको थियो । जानकारहरूका अनुसार एक दिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्‍यायो । उल्लेखित भूकम्पको क्षति विवरणको एकिन तथ्याङ्क नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्याङ्क भने स्पष्ट पाइन्छ ।

१८९० को महाभूकम्प
वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झड्का महसुस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भएका थिए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पार्‍यो । 

काठमाडौँमा रहेका दुई वटा धरहरा मध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्‍यो । 

भूकम्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि.सं. १८९१ सालको असार र असोज महिनामा फेरि दुई वटा ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो । एजेन्सीको सहयोगमा

सरोकारवाला निकायले बेलैमा ध्यान पुर्‍याउनुपर्छ–गुरागाईँ
भूकम्प गएमा के गर्ने ? कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरू के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्व तयारी के–के हुन भन्ने विषयमा तयारी गर्नुपर्ने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा.रमेश गुरागाईँ बताउँछन् । 

उनले नयाँ बन्ने संरचनाहरू भूकम्प प्रतिरोधी बनाउन आवश्यक रहेकोमा जोड दिए । उनका अनुसार नेपालका धेरैजसो संरचनाहरू कमजोर रहेकाले पनि ठुलो क्षति भइरहेको छ । यस कारण संरचना बनाउँदा ध्यान दिनुपर्ने उनले बताए ।

नेपाल भूकम्प जाने देश मध्ये एक भएकाले सरोकारवाला निकायले भूकम्पबाट जोगिनको लागि आवश्यक प्रक्रिया अगाडी नै थालनी गर्नुपर्ने उनको भनाई छ । 

किन जान्छ भूकम्प ?
कार्यकारी निर्देशक डा.रमेश गुरागाईँका अनुसार सामान्यतया पृथ्वीको सतहभित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ । पृथ्वीको सतहमा हलचल उत्पन्न गर्दा पृथ्वीको भित्री भागमा रहेको तनाव धेरै बढ्छ र त्यो असन्तुलनका कारण ऊर्जा मुक्त हुँदा जमिन हल्लिन्छ । यस कम्पनले पृथ्वीको सतहमा झट्का उत्पन्न गर्दछ र यसलाई भूकम्प भनिन्छ । पृथ्वीको बाह्य सतह (लिथोस्फीयर) विभिन्न ठूला टुक्रामा विभाजित छ जसलाई भूकम्पीय प्लेट भनिन्छ । यी प्लेटहरू एक अर्कामा चढ्छन्, जसले भूकम्पको ल्याउँछ ।

यस्तै खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प एक भौगर्भिक प्रक्रिया हो जसलाई रोक्न तथा हालसम्मको अध्ययन अनुसन्धानबाट यसको भविष्यवाणी गर्न सकिएको छैन । टेक्टोनिक प्लेटहरुबीचको अन्तर सङ्घर्षको कारणले भूकम्पहरू जाने गर्दछन् । स–साना भूकम्प हरेक दिन जाने गरेका छन् भने ठूला भूकम्प केही वर्षको अन्तरालमा जाने गर्दछन् । हरेक दिन जाने साना भूकम्पहरूले सञ्चित ऊर्जा निसृत गर्न सक्दैनन् त्यसैले बेलाबेलामा ठूला र विनाशकारी भूकम्पहरू जाने गर्दछन् । 

अन्त्यमा
भूकम्प एउटा प्राकृतिक प्रकोप हो र यसलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । भूकम्प आफैले हामीलाई मार्ने हैन बरु भूकम्प आएपछि हामीहरूले बनाएका संरचनाहरूले किचेर हाम्रो ज्यान जान्छ । 

नेपालमा गएका भूकम्पले गर्दा धेरै जनाले ज्यान गुमाएका छन् र मृतकको संख्या बढाउनमा मिथ्या जानकारी अनि गलत तरिकाले बनाएका भौतिक पूर्वाधारहरू जिम्मेवार छन् । टेबलमुनि लुक्ने, खाट मुनी लुक्ने अनि आड लाएर घरभित्रै बस्ने जस्ता अव्यवहारिक र न्यून तार्किक आयातित जानकारीका कारण धेरै जनाले समय पाउँदा पाउँदै पनि आफूलाई बचाउन सकेनन् । वास्तवमा समय र परिस्थितिपरक भूँईचालो सम्बन्धी जानकारीहरू अझै नेपालमा प्रवाह गर्न जरुरी छ । 

यस्तै भूकम्पको इतिहासलाई हेर्ने हो भने नेपालमा ठूला साना गरी निरन्तर रूपमा भूकम्प गइरहेका देखिन्छन् । सोही कारण पनि विज्ञहरूले नेपाल भूकम्पीय जोखिमको क्षेत्रका रूपमा रहेको बताउँदै आएका हुन् । कमजोर भौतिक संरचनाका कारण भूकम्पबाट ठूलो जनधनको क्षति निम्त्याउने गरेको भन्दै त्यसमा सुधार गर्नुपर्ने धारणा विज्ञहरूले राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस