काठमाडौँ । सात जना सहसचिवहरूको जिम्मेवारी तोकिएको छ । विभिन्न निकायबाट तानेर अतिरिक्त(बरन्डा)मा राखिएका सहसचिवहरूलाई कामकाजमा खटाइएको हो । आधा दर्जन बढी सहसचिवहरूलाई जिम्मेवारीबाट तानेर बरन्डामा राखिएको समाचार बिहीबार प्रशासन डटकमले प्रकाशित गरेसँगै सोही दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले ती सहसचिवहरूलाई जिम्मेवारी तोकेर कामकाजमा खटाएका हुन् ।
सम्बन्धित समाचार : ‘अराजक’ बन्दै ऊर्जामन्त्री : कन्फर्मलाई बरन्डामा राखेर कामुलाई काखी, रातारात फेरिए डिजी पनि
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार सहसचिव जगदीश्वर कर्माचार्यलाई जल तथा ऊर्जा आयोगको सचिवालय, मित्र बराललाई जलस्रोत तथा सिँचाई विभाग, नवीनचन्द्र अधिकारीलाई काली गण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनामा कामकाजका लागि खटाइएको छ ।
यसैगरी सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका वासुदेव तिमल्सिनालाई जलस्रोत तथा सिँचाइ विभाग, गोपाल शर्मालाई सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना, टिकाराम बरालाई विभागमा पठाएर पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा कामकाज र चूर्ण बहादुर वलीलाई मन्त्रालयमा कामकाज गर्न खटाइएको छ ।
पछिल्लो समय कर्मचारी व्यवस्थापनमा चलखेल गरेको भन्दै ऊर्जा मन्त्री खड्काको मन्त्रालयकै कर्मचारीहरूबाट आलोचना हुँदै आएको छ । पछिल्लो समय विशेष गरी आयोजना प्रमुखहरूलाई बिना कारण मन्त्रालय तानेर निमित्तहरूबाट काम गराएको आरोप उनीमाथि लागेको छ ।