Logo १८ कार्तिक २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

किन कमजोर बन्दैछन् नेपालीका हाड ? यस्तो छ कारण


२४ आश्विन २०८१, बिहिबार


काठमाडौँ ।  “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रूपमै भर्याङ ओर्लँदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् । न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै । कसरी बलियो होस् त हड्डी ?”

पाकापुरानाहरुबाट यस्तै यस्तै सुन्न पाइन्छ अहिले । उनीहरू उहिले र अहिलेको खानपान, रहनसहन, उठबस, काम विशेष तथा बानी ब्यहोराको तुलना गर्ने गर्छन् । उनीहरूका भोगाइमा अहिलेको पुस्ताको शारीरिक तन्दुरुस्ती पहिलेजस्तो छैन । ‘टेबल वर्क’ धेरै छ तर शारीरिक अभ्यास न्यून । हिँडाइ त झन् छँदै छैन, एक किलोमिटरलाई पनि गाडी चढ्छन् । त्यसैले यो पुस्ताको स्वास्थ्य पनि बलियो छैन ।

घाँसका भारीसित लड्दा होस् या रुखबाट भुईँमा खस्दा समेत हातखुट्टा नभाँचिने अनुभव उनीहरू सुनाउँछन्। घाँस दाउरा र लेकबेँसी धेरै हुने र हिँड्ने बाटो पनि खेतबारीका कान्लाबाट उक्लिने र ओर्लिने खालको हुने । त्यसैले शारीरिक अभ्यास प्रशस्त मात्रामा पुग्ने उनीहरूको अनुभव छ । अनि खानपानका अनुभव पनि निकै रोचक । एउटा लैनो भैँसीको घिउ र दूध एक्लैले खाने रे । त्यस कारण हड्डी बलियो बन्ने र सानातिना चोटले केही असर नगर्ने उनीहरूको अनुभव छ ।  

नेपालका हाड जोर्नीसम्बन्धी विशेषज्ञ चिकित्सक कैलाश भण्डारी पाकापुस्ताका यी अनुभवप्रति सहमत छन्। के नेपालीका हाड पाकापुस्ताहरुका यस्तै अनुभवजस्तै कमजोर हुँदै गएका हुन् ? डा. भण्डारी केही हदसम्म कारण यिनै हुन् भन्छन् । अहिले सानातिनै चोटपटकमा पनि हाड भाँचिने गरेका छन्, एउटै हात या खुट्टा पटक पटक भाँचिएर अस्पताल ल्याउने बिरामी धेरै भेटिन्छन् । ‘हिस्ट्र टेकिङ’ गर्दा उनीहरू सामान्य रूपमा लडेको मात्र बताउँछन् तर हड्डीमा क्षति धेरै पुगेको हुन्छ । 

हड्डीको यस प्रकारको रुग्णतामा डा. भण्डारीले दिने कारण पनि उस्तै छ, खानपान, आहार विहार र अहिलेको खानाको शुद्धतामा ह्रास । उनी भन्छन् “खानपान त उही हो, धेरैको जङ्कफुड (बजारमा पाइने तयारी खाना) नै हुन्छ र शारीरिक अभ्यास छैन । खाना बनाउन, शारीरिक अभ्यास गर्न या हिँड्नै पनि मानिस चाहँदैन, सौखिन बन्दै गएको छ । उसको ‘टेबल वर्क’ बढी छ अनि शारीरिक सक्रियता कम । तर उही खानेकुरामा पनि पहिले र अहिले पाउने प्रोटिन या अन्य खनिजहरूको प्रचुरता फरक पर्दै गएको छ । 

शुद्धतामा ह्रास आइरहेको छ ।”उही खानेकुरामा पनि पहिले र अहिले पाइने प्रोटिनको शुद्धतामा किन फरक रु यसको कारण विषादिको प्रयोग, माटोमा प्रयोग गरिने आधुनिक अर्थात् रासायनिक मलको प्रयोग हो । यसले खानामा पाइने प्रोटिनको शुद्धतामा फरक पर्दै गएको उनको तर्क छ । त्यसै गरी ‘आउटडोर एक्टिभिटीज’ कम हुँदै जाँदा आवश्यक शारीरिक अभ्यास नपाएर तथा हड्डी खुम्चिएर रहने या जाम हुने अवस्था समेत देखिएको डा.भण्डारीको भनाई छ ।

अहिलेका बालबालिकालाई घरमै होस् या विद्यालयमा खेल्ने खेलमैदानको उपलब्धता नै नभएको उनको भनाई छ । “हेर्नुहोस् न बालबालिकालाई खेल्न न विद्यालयमा खेल मैदान छन् र नत घरमै । विद्यालय पनि प्रायः बाटोका नजिक या साँघुरा जमिनमा बनेका छन् जहाँ खेल्नका लागि जमिन नै छैन । घरको त झन् कुरै भएन, चार आना भएपछि घर बनाउने घडेरी पुगिहाल्यो, केटाकेटीलाई खेल्ने मैदानका बारेका कसले सोचिदिने रु यसरी सहरका बालबालिका साँघुरोमै खुम्चिएर बस्नुपर्दा तिनका हाडले शारीरिक तन्दुरुस्ती बन्न पाएका छैनन्”, डा. भण्डारीको भनाइ छ ।

उनका अनुसार अल्छी तथा सौखिन दिनचर्या, हाडलाई आवश्यक पर्ने भिटामिन ‘डी’ को उपलब्धताको कमी र सूर्यको किरणको पहुँचबाट टाढा रहेको मानिसको दैनिकी पनि हाड कमजोर बन्दै जानाका अरु केही कारण हुन् । हाम्रो शरीरमा भिटामिन डिको मात्रा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मात्राभन्दा कम रहेको उनी बताउँछन् ।

जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर डा.भण्डारी विशेष गरी अहिलेको बालबालिकाको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्छन् । उनी भन्छन् “बालबालिकाको स्वास्थ्य अवस्था देखेर चिन्ता लाग्छ । उनीहरूका हातखुट्टा त खुर्सानीको बोटजस्तै बन्दै गएका छन्, अलिकति बल गर्यो कि पिटिक्क भाँचिने । कारण त तिनै हुन् खानपान र आहार विहार । कारण धेरै होलान् दिनप्रतिदिन कमजोर बन्दै गएको देख्छु उनीहरूको हड्डी ।”    

उनको अनुभवमा अहिलेको पुस्ता एक तला पनि भर्याङ चढ्न अल्छी मान्छ, लिफ्ट छ भने त्यसैबाट जान्छ । अरु पनि यस्तै हो कि पसिना निकालेर काम गर्न चाहँदैन । बजारको खानाको उपभोगमा वृद्धि, रक्सी तथा अन्य मादक पदार्थहरूको सेवनले पनि हाडको क्षयीकरणमा योगदान थप्दै गएको देखिएको छ भने बिस्तारै न्युट्रेसनमा भएको कमीले हाडको कमजोरीलाई थप बलियो बनाउँदै लगेको छ । शरीरमा लाग्ने चोटपटक र त्यसको समयमै उपचारको कमी, बाथ रोगलगायत विभिन्न रोग तथा जेनेटिक त यो समस्याका रैथाने कारण छँदै छन् । 

यो अवस्थाको निराकरणका उपायहरू सुझाउँदा डा. भण्डारी सबैभन्दा आवश्यक क्याल्सियम, खनिज र प्रोटिनको उपलब्धतालाई देख्नुहुन्छ । नियमित शारीरिक अभ्यास, स्वस्थ खाना र योगा हड्डी बलियो बनाउने अरु उपाय हुन् । यी आनीबानीले हाड मात्र बलियो बनाउने नभएर अन्य शारीरिक स्वास्थ्यमा पनि लाभ पुर्याउँछ । सुगर होस् या अरु रोग बढ्न नदिन पनि यो व्यायामले सघाउ पुर्याउनेछ ।

मानिसका हाड बलियो बनाउन नियमित शारीरिक व्यायाम, स्वस्थकर खानेकुरा र हाडमा लाग्ने चोटपटकको समयमै उपचार गर्नुपर्ने विषयलाई राष्ट्रिय अभियानकै रूपमा नागरिकमा लैजानुपर्ने र शरीरमा हाड जोर्नीको महत्त्व र यससम्बन्धी रोगका बारेमा विद्यालय स्तरदेखि नै पाठ्यक्रममा राख्नुपर्ने उनको सुझाव छ । हाडसम्बन्धी रोगले शरीरका अरु अङ्गलाई पनि क्षति गर्ने तथा शारीरिक अपाङ्गतासमेत हुनसक्ने भएकाले यसको संवेदनशीलताको प्रचार अझ बढी आवश्यक रहेको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस