काठमाडौँ । नेपाल प्रहरी र आइसिटापबीच कोडिस सफ्टवेयर कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सोमबार नेपाल प्रहरी र अमेरिकाको न्याय विभाग अन्तर्गतको अन्तर्राष्ट्रिय अपराध अनुसन्धान तालिम सहायता कार्यक्रम (आइसिटाप) बीच संयुक्त डिएनए अनुक्रमण प्रणाली (कोडिस) सफ्टवेयरको कार्यान्वयन सम्बन्धमा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
उक्त एमओयूले नेपाल प्रहरीलाई फरेन्सिक अनुसन्धानमा थप दक्षता प्रदान गर्ने विश्वास गरिएको छ भने कोडिस सफ्टवेयरको प्रयोगले डिएनए प्रमाणको सटीक विश्लेषणमा सुधार आउने र अपराध अनुसन्धान प्रक्रियामा ठूलो फड्को मार्न मद्दत पुर्याउने विश्वास लिइएको प्रहरीले जनाएको छ । यसले अपराधी पहिचान गर्ने र कानुनी प्रक्रियालाई थप प्रभावकारी बनाउने अवसर सिर्जना गर्नेछ ।
समझदारी पत्रमा हस्ताक्षर गर्दै दुवै पक्षले फरेन्सिक अनुसन्धान र न्यायिक प्रक्रियामा डिजिटल प्रविधिको महत्वलाई उच्च प्राथमिकता दिएका छन् । यस सहकार्यले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अपराध नियन्त्रण र अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।