Logo १८ कार्तिक २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी 


११ आश्विन २०८१, शुक्रबार


‘महँगी बढेर सेक्यो ढाड पनि

गरिबै रुवाउन आउँछन् चाड पनि

रित्तो भकारी कसोगरी उम्काम्ला पाहुनालाई खै के टकारी‘।’

गण्डकी । गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भनेझैँ सबैका घरआँगनमा दसैँ उमंग लिएर भित्रिँदैन । कसैका लागि दसैँ कहर बनेर आइपुग्छ । कोहीका निमित्त रहर । महँगीको मार खेप्न बाध्य निम्न वर्गीय परिवारको दुःखसाह्रोलाई उक्त गीतले चित्रित गरेको छ ।

गायिका गौतम र गायक विष्णु खत्रीले गाएको दसैँगीत ‘रित्तो भकारी‘’ले गरिबी र अभावको दुष्चक्रमा फसेको परिवारका लागि चाडवाड कसरी दशा बनेर आइपुग्छन् भन्ने देखाउँछ । शब्द, सङ्गीत र अभिनयको जीवन्त प्रस्तुतिले गीत जोकोहीलाई यथार्थपरक बोधगम्य लाग्छ । गीतले भन्छ –

‘मन हुन्छ अमिलो खल्ती छाम्दा नि

दुई पैसा कहीँबाट छैन आम्दानी

दसैँ आइसक्यो

रित्तो गोजी, रित्तै छ भकारी

परान खाइसक्यो‘।’

गायक खत्रीलाई दसैँगीतका पर्यायभन्दा अतियुक्ति नहोला । ‘रित्तो भकारी‘’ उनको सत्रौँ दसैँगीत हो । विसं २०६४ यता खत्रीले सालिन्दा दसैँगीत सार्वजनिक गर्दै आएका छन् । उनको पहिलो दसैँगीत ‘सुनको जलप‘’ हो । जुन गीत उबेला चर्चित बनेको थियो । ‘यसपालिको दसैँगीतले देशको वर्तमान अवस्था र नेपाली समाजको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ’, उनले भने ।

सत्र वर्षका अन्तरालमा पनि खत्रीका हरेक दसैँगीतका विषय, अन्तर्य र भावभूमि करिब उस्तै छन् । उनका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख–बेदना समेटिएको पाइन्छ । खत्रीका गीतले चाडबाड आएको छनक पनि दिन्छन् ।

मार्मिक सिर्जना र ग्रामीण परिवेशको झ–झल्को खत्रीका दसैँगीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत छन् ।

‘हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ’, खत्रीले भने, ‘दसैँगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय श्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गर्नुहुन्छ ।’ दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय उनका दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् ।

गत वर्षको दसैँमा खत्रीले ‘दसैँ–तिहार गाउँमा‘’ ल्याएका थिए । त्यसअघि उनका ‘दसैँ–तिहार सँगै मनाउँला‘’, ‘रिनै रिनको‘’, ‘दसैँमा आउ प्यारा‘’, ‘जहाजको टिकट‘’, ‘कति रुनी हो‘’लगायत गीत सार्वजनिक भएका थिए । दसैँगीतमा उनले विभिन्न गायिकाहरुसँग सहकार्य गर्दै आएका छन् । प्रायः सबै गीतमा शब्द र सङ्गीत पनि गायक खत्रीकै रहेको छ ।

दसैँको छेकोमा गायक खत्रीसहित कैयन गायकगायिकाका दसैँगीत युट्युबमा छाइरहेका छन् । कतिपय गीत सार्वजनिक हुने क्रममा छन् । केही दसैँगीत युट्युब ‘ट्रेन्डिङ’समेत उक्लेका छन् ।

कुनै गीतमा परदेशीका पीडा छचल्किएका छन् भने कुनै गीतमा दसैँले गाउँघरमा ल्याउने रौनकको चित्रण छ । गायक पुरुषोत्तम पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको ‘आयो है दसैँ आयो‘’ गीतमा दसैँमा गृहथलो फर्किन लागेका परदेशी र उनलाई घरमा पर्खिरहेका स्वजनको संवाद छ । परदेशी भन्छन् –

‘मनमा खुसी उमङ्ग छाउँदैछु

पाँच वर्षपछि म नेपाल आउँदैछु

आयो है दसैँ आयो

नाच्न र गाउन रमाउन मन लाग्यो‘।’

घरमा रहेकी उनकी जीवनसाथी भन्छिन् –

‘भित्ताको पात्रो फेरेको फेरै छु

तिम्रै मूलबाटो हेरेको हेरै छु

आयो है दसैँ आयो

नाच्न र गाउन रमाउन मन लाग्या‘।’

वर्षौँपछि दसैँमा घर फिरेका परदेशीको खुसी एकातिर, अर्कातिर दसैँमा घर आउन नपाएकाको पीडा । गायक ऋषि खड्का र गायिका तुलसी विकको दसैँगीत ‘परदेशी हरायो’ले यही भनिरहेको छ । दसैँमा घर आउन नपाउँदा परदेशीको मन यसरी कुँडिन्छ –

‘तिम्रो जुनी फेर्नु थ्यो त्यस्तै भो

यो साल पनि आइन घर यस्तै भो

दशैँ आयो तिहारै आयो

परदेशी हरायो‘।’

दसैँका बेला परदेशीको पखाईको पीडा गीतमा यसरी पोखिन्छ –

‘प्यारा तिमी हङकङ मलाय

यता घर जमारा पलाए

दशैँ आयो तिहारै आयो…”

गायक हेमन्त शर्मा र गायिका मेलिना राईको ‘आउँथ्यो दसैँ आउन त पहिले नि‘’ गीतलाई पनि दर्शक/श्रोताले रुचाएका छन् । नौ दिनअघि सार्वजनिक उक्त गीतको चलदृश्यलाई युट्युबमा १२ लाखभन्दा बढीपटक हेरिएको छ । युट्युबमा सबैभन्दा धेरै हेरिएकोमध्ये उक्त गीत दोस्रो स्थानमा पर्न सफल भएको छ । गायक ईश्वर सिंह र गायिका सुनिता बुढा क्षेत्रीले दसैँगीत ‘हाँसे पुग्छ, बोले पुग्छ‘’ ल्याएका छन् ।

गायक वसन्त थापा, कुलेन्द्र विश्वकर्मा, पशुपति शर्मा र गायिका समीक्षा अधिकारीले गाएको दसैँगीत ‘शुभकामना दसैँको‘’ केही दिनअघि सार्वजनिक भएको छ । अधिकांश दसैँगीतले आजको नेपाली समाजको मनोदशालाई समेटेका छन् । ‘सम्झाना गाउँघर‘’ गीतमा गायक अमृत बराल र गायिका रञ्जिता विश्वकर्माले झैँ –

‘कोही घरदेशमा कोही परदेशमा भइयो टाढा-टाढा

जहाँ छौँ हामी त्यही बसेर मनाऔँ चाडबाड

आइहाल्यो चाडबाडको लर्को

आइहाल्यो सम्झना गाउँघरको‘।”

Tags :
प्रतिक्रिया दिनुहोस