काठमाडौँ । संविधान दिवसका अवसरमा काठमाडौँको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि आजदेखि खुला गरिएको छ । शहरी विकास मन्त्रालयले आज बिहानैदेखि धरहरा चढ्ने व्यवस्था मिलाएसँगै सर्वसाधारणको भीड लागेको हो ।
एक दिनमा अधिकतम ६ सय जनाले चढ्ने गरी खुला गरिएको धरहरा प्रवेश हाललाई निःशुल्क गरिएको छ । त्यसमध्ये १ सय कोटा वृद्ध, अशक्त, अपाङ्गता भएकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टा सय जनाले चढ्ने गरी व्यवस्था मिलाइएको छ ।
संविधान दिवसको अवसरमा खुला गरिएपनि धरहरा निर्माण अझै पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ । निर्माण पूरा नभएपनि २०७८ साल वैशाख ११ मा केपी शर्मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो ।