काठमाडौँ । लिच्छविकालिन नेपाली इतिहासको सोध अनुसन्धानमा सक्रिय अमेरिकी प्राध्यापक टेड रिकार्डीले संकलन गरेका ५ हजारभन्दा बढी पुस्तकलाई सर्वसाधारणले अध्ययन गर्न पाउने भएका छन् ।
भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा टेडकै नाममा पुस्तकालय कक्ष स्थापना गरिएको छ । ‘प्रोफेसर टेड रिकार्डी मेमोरियल रिडिङ रुम’को मंगलबार नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले उद्घाटन गरे ।
४ वर्षअघि निधन भएका रिकार्डीले संकलन गरेका विभिन्न भाषाका ती पुस्तक अमेरिकाको न्युयोर्क, न्यू मेक्सिको र नेपालका केही पुस्तक भण्डारमा राखिएका थिए । नेपाली र संस्कृतसहित जर्मन, फ्रेन्च, इटालियन भाषामा लेखिएका ती पुस्तकलाई अहिले टेडकी श्रीमती एलेन कुन र सम्पदाविद् रवीन्द्र पुरीको पहलमा पुस्तकालयमा राखिएको छ ।
पुस्तकालय कक्षको उद्घाटन गर्दै राजदूत थम्पसनले नेपालको ऐतिहासिक र गौरवमय इतिहास र संस्कृति बुझ्न प्राध्यापक रिकार्डीका पुस्तक महत्त्वपूर्ण स्रोत हुने बताए । उनले यी पुस्तकबाट लाभ लिन समेत आग्रह गरे । राजदूत थम्पसनसहित उक्त अवसरमा अन्य अतिथिले पुस्तकालय कक्ष र एकेडेमीको अवलोकन गरेका छन् ।