डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बजार अनुगम कार्यलाई तिब्र पारेका छन्।
जिल्लाको ग्रामीण क्षेत्रमा रहेको जोरायल गाउँपालिका अन्तरगतका विभिन्न बजारहरूको अनुगमन गर्न प्रजिअ अर्याल आफै फिल्डमा निस्किएका हुन् ।
जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालय र जोरायल गाउँपालिकाको संयुक्त रूपमा सञ्चालन भएको बजार अनुगमनको कार्यमा सिडिओ आफै खटिएका हुन् । ग्रामीण क्षेत्रका सेवाग्राहीहरूबाट समय-समयमा विभिन्न प्रकृतिका जनगुनासाहरू आउने गरेका कारण ग्रामीण क्षेत्रमा बजार अनुगमन गर्न आफै फिल्डमा सहभागी भएको प्रजिअ अर्यालले बताए ।
जोरायल गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ अन्तरगत रहेका विभिन्न बजारहरूमा मंगलवार र बुधवार गरिएको बजार अनुगमनबाट करिब तिस हजार बराबरका म्याद गुज्रेका सामाग्री फेला परेको अनुगमन समितिले जनाएको छ ।
बजार अनुगमनका क्रममा व्यवसायीहरूले व्यवसाय दर्ता नगरी सञ्चालन गरेका, केही नवीकरण समेत नगरी सञ्चालनमा रहेका, मूल्य सूचि नराखिएको, होटेल तथा चिया सलहरूमा सरसफाइमा ध्यान नदिएको, राज्यले बिक्री वितरण अनुमति नदिएका सुर्ती, बिडी जस्ता पदार्थहरू बिक्री वितरण भइरहेको पाइएको प्रजिअ अर्यालले बताए ।
अनुगमनका क्रममा व्यापारीहरूमा देखिएका कमीकमजोरीहरू सुधार गर्नका लागि सुझाव सल्लाह दिनुका साथै व्यापारीहरूलाई कर सम्बन्धी विभिन्न विषयमा जानकारी दिइएको समेत उनले बताए ।
डोटी जिल्लामा बजार अनुगमन कार्य सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि निरन्तर रूपमा गरिने भएको छ । बजारमा हुने गरेको कालोबजारी र मूल्य बृद्धीलाई नियन्त्रण गरी उपभोक्ताहरूको खाद्य अधिकारलाई मध्यनजर गर्दै बजार अनुगमन कार्यलाई निरन्तरता दिइने प्रजिअ अर्यालले बताए ।
उनले भने, ‘बजार अनुगमन कार्यको लागि हामी कुनै चाडबाडको समय कुर्दैनौ समय परिस्थिति अनुसार अनुगमनलाई निरन्तरता दिन्छौ ।’
डोटीमा बजार अनुगमन कार्यलाई आवश्यकता अनुसार जिल्लाका सबै बजार क्षेत्रमा गरिनुका साथै सबै सरोकारवाला निकाय, स्थानीय सरकार, नागरिक समाज, पत्रकार सबैले सहयोग गर्नु पर्ने समेत प्रजिअ अर्यालले बताए ।
अनुगमन बाट प्राप्त म्याद गुज्रेका विभिन्न खाद्य सामाग्रीहरूलाई अनुगमन टोलीले गैरा बजारमा नष्ट गरेको जोरायल गाउँपालिकाले जनाएको छ ।