काठमाडौँ । व्यास नगरपालिकाको पुनः मतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च पुगेका छन् ।
एमाले समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको रिटमाथि उच्चले निर्वाचन भएको २ वर्षपछि पुनः मतगणना गर्ने फैसला गरेको थियो ।
गत जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै असार २ गते पुनः मतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतका रजिस्ट्रारलाई निर्देशन जारी गरेको थियो । तनहुँबाट सिलबन्दी गरेर राखिएको मतपत्र पोखरा ल्याएर मतगणना गर्ने तयारी थियो ।
तर, उच्चको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै उच्चको फैसला बदर गर्न माग गर्दै मेयर न्यौपाने बिहीबार सर्वोच्च पुगेका हुन् ।
निर्वाचन कसुर तथा ऐन अन्तर्गत उच्चले मुद्धा दर्ता गरेर पहिलो सुनुवाइ भएसँगै त्यसको स्वभाविक हिसाबले सर्वोच्चमा पुनरावेदन लाग्ने तर उच्चले अर्कै दफा प्रयोग गरेर पुनरावेदन नै नलाग्ने फैसला गरेको आरोप मेयर न्यौपानेको छ ।
‘मतपत्र सुरक्षित छ कि छैन, सुरक्षित राख्नु भन्ने आदेश पनि छैन । कुन हालतमा छन् मतपत्र भन्ने निधो पनि भएन । गणना हुँदाहुँदै मतगणना रोकिपाउँ भनेर त्यतिबेलै निर्वाचन अधिकृतलाई निवेदन दिनुपर्थ्यो,’ मेयर न्यौपानेले भने, ‘नतिजा आइसकेपछि कार्यक्रममै उपस्थित भएर मलाई बधाई दिएर स्वीकार पनि गर्ने र पछि उच्चमा रिट दिनु आफैँमा पनि मिल्ने कुरा होइन, त्यसैले उच्चको फैसला नै बदरको माग राखेर सर्वोच्च पुगेको हुँ ।’