काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ उपत्यकामा मापदण्डविपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरहरूलाई कारबाहीका लागि निर्देशन दिएको छ । सतर्कता केन्द्रले कानूनको अक्षरशः कार्यान्वयन गरेर मात्र प्रयोगात्मक परीक्षाहरू सञ्चालन गर्ने, गराउने व्यवस्था मिलाई केन्द्रलाई जानकारी गराउन निर्देशन दिएको हो ।
सवारी चालक अनुमति पत्र सम्बन्धी प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरहरूले सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०७४ मा व्यवस्था भएको मापदण्ड पालना नगरी ट्रायल सेन्टरहरू सञ्चालन गरेको पाइएपछि केन्द्रले यातायात व्यवस्था कार्यालयहरूलाई मङ्गलवार यस्तो निर्देशन दिएको हो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, ठूलोभर्याङ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, चाबहिल र यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, एकान्तकुनालाई पत्र लेख्दै सतर्कता केन्द्रले मापदण्डविपरीतका ट्रायल सेन्टरहरूलाई कारबाही गर्न निर्देशन दिएको हो ।
‘कानून तथा निर्देशिकामा स्पष्ट रूपमा तोकिएको व्यवस्था तथा मापदण्ड पालना भएको नदेखिएको हुँदा ट्रायल सेन्टरहरूले विधिको पालना गरी सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ ले तोकेको मापदण्ड अनुसार ट्रायल सेन्टरहरूको सञ्चालन तथा व्यवस्थापनमा कानूनको अक्षरशः कार्यान्वयन गरेर मात्र प्रयोगात्मक परीक्षाहरू सञ्चालन गर्ने, गराउने व्यवस्था मिलाई केन्द्रलाई जानकारी गराउन यस केन्द्रको मिति २०८१-२-१ ( सचिव स्तर) को निर्णय अनुसार भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३८ (छ) बमोजिम तहाँ कार्यालयहरूलाई निर्देशन दिइएको ब्यहोरा अनुरोध छ,’ सतर्कताले यातायात व्यवस्था कार्यालयहरूलाई लेखेको पत्रमा उल्लेख छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका अधिकांश ट्रायल सेन्टरहरूले निर्देशिकामा भएको व्यवस्था तथा मापदण्ड पालना नगरी ट्रायल सेन्टरहरू सञ्चालन गर्दा धेरै परीक्षार्थीहरू फेल हुने गरेको पाइएको केन्द्रले जनाएको छ ।
ट्रायल सेन्टरहरूले सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०७४ मा व्यवस्था भएको मापदण्ड पालना नगरी ट्रायल सेन्टरहरू सञ्चालन गर्दा विधिसम्मत नदेखिएको र निर्देशिकाको व्यवस्था पालना नगरेको भनी उजुरी परेपछि केन्द्रले उपत्यकाका ट्रायल सेन्टरहरूको अनुगमन गरेको थियो । सतर्कता केन्द्रले इजी वे ट्रायल सेन्टर प्रा.लि., राधेराधे, भक्तपुर, बुढाथोकी ट्रेडर्स एण्ड ट्रेनिङ स्कुल, भक्तपुर, नेपाल डाइभिङ एण्ड रिकण्डिसन सेन्टर प्रा.लि., गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रा.लि., एकान्तकुना, सिटी ड्राइभिङ प्रशिक्षण केन्द्र, ललितपुर (निजी), एकान्तकुना ड्राइभिङ सेन्टर, ललितपुर (निजी)लगायतको स्थलगत छानबिन गरेको थियो । केन्द्रले गरेको स्थलगत छानबिनको क्रममा काठमाडौँ उपत्यकाका ट्रायल सेन्टर सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ ले तोकेको मापदण्ड अनुसार नभएको पाइएको थियो ।
सम्बन्धित समाचार : लाइसेन्स परीक्षामाथि नै प्रश्न: निर्देशिका अनुसार छैनन् ट्रायल सेन्टर, प्राविधिक रिपोर्ट ठिकठाक
सतर्कता केन्द्रले गरेको अनुगमनमा ट्रायल सेन्टरहरूमा तोकिएको ले आउटको क्रम नमिलेको, स्पीड ब्रेकर टेस्ट मा मेटल प्लेट राखी स्लोप लामो बनाइ ट्राफिक सिग्नल टेस्ट निर्देशिकामा तोकिए बमोजिम नभएको, बम्पी टेस्ट अन्तर्गत पीसीसी प्लेटफर्म नभएको पाइएको थियो । अनुगमनमा देखिएका मापदण्डविपरीतका विषयमा सतर्कता केन्द्रले बाग्मती प्रदेशस्थित श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयसँग राय प्रतिक्रिया मागेको थियो । केन्द्रले २०८१/१/२ मा १५ दिन र २०८१/१/१८ मा ७ दिनको समय दिएर राय प्रतिक्रिया मागेकोमा मन्त्रालयले कुनै जवाफ नदिएको केन्द्रले जनाएको छ ।
सम्बन्धित समाचार : ट्रायल सेन्टरको मापदण्डबारे जानकारी गराउन यातायात मन्त्रालयलाई सतर्कताको पत्र
सम्बन्धित समाचार : मापदण्डविपरीतका ट्रायल सेन्टरबारे यातायात मन्त्रालयको बेवास्ता
सतर्कता केन्द्रले यातायात व्यवस्था कार्यालयहरूलाई पठाएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाग्मती प्रदेश, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय, बाग्मती प्रदेश, यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ/कार्यार्थ गरेको छ ।