काठमाडौँ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सिधा कुरा सभापतिसँग सुरु गरेको छ ।
समितिको कार्यक्षेत्र भित्रपर्ने विषयमा सुझाव सल्लाह लिनका लागि सिधा कुरा सभापतिसँग सुरु गरिएको समितिका सभापति अब्दुल खानको निजी सचिवालयले जनाएको छ । दैनिक बेलुका ७ बजेदेखि ८ बजेसम्म एक घण्टा खांनले सरोकारवालासँग कुराकानी गर्ने छन् ।
समितिको कार्यक्षेत्र भित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उपभोक्ता हित सम्बन्ध र सम्बद्ध विषय तथा निकाय पर्दछन् । सिधा कुरा सभापति सँगमा समितिसँग सम्बन्धित सुझाव, सल्लाह, समस्या र अन्य जनहितका विषयवस्तुमा कुरा राख्न सकिने खांनका स्वकीय सचिव ई. अतिउल्लाह मुसलमान (आस्मीर)ले जानकारी दिए ।
विभिन्न स्थानको अनुगमन तथा निरीक्षणका क्रममा स्थानीय उपभोक्ता र उद्योगीहरूले गुनासो गरेका कारण खांनले यो कार्यक्रम सुरु गरेका हुन् । समितिको कार्यक्षेत्र पनि उपभोक्ता र श्रमिक रहेको र उनीहरूले आफ्ना समस्या राख्न माथिसम्म पहुँच नहुने भएकाले सभापति खांनले सबैका समस्या, गुनासा र सुझाव लिनका लागि बेलुका एक घण्टाको समय छुट्याएको आस्मीरले बताए ।
‘धेरै उद्योगीहरू समस्यामा छन् । सम्बन्धित निकायमा आफ्ना समस्या भन्न पाएका छैनन् । तलबाट आउनुपर्ने सत्यतथ्य जानकारीहरू समिति समक्ष आएको छैन । श्रमिक र उपभोक्ताले पनि आफ्ना गुनासा र समस्या सुनाउन पाएका छैनन्,’ उनले भने, ‘त्यसैले सबैका कुरा सुन्न र उपयुक्त निकास दिनका लागि सिधा कुरा सभापतिसँग सुरु भएको हो ।’ यसबाट कस्तो खालको नीति बनाउने भन्नेमा पनि सहयोग पुग्ने उनले बताए ।
दूरदराजका उपभोक्ता र देश बाहिर रहेका श्रमिकका समस्या सुन्नका लागि यो महत्त्वपूर्ण रहेको आस्मीरको भनाइ छ । विभिन्न ठाउँबाट आएका गुनासा, समस्या, सुझाव, सल्लाहलाई दस्तावेजका रूपमा तयार गर्ने र सम्बन्धित निकाय वा समितिमा छलफल गरेर आवश्यक भए सोही अनुसारको कानून समेत निर्माण गर्ने सोंच रहेको उनले जानकारी दिए ।
यसका लागि मोबाइल नम्बरसमेत सार्वजनिक गरिएको उनले बताए । कुराकानीका लागि ९८५१३४३३४७ र ९७४८४६३४३९ मा सम्पर्क गर्न सकिन्छ ।
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान