काठमाडौँ । दूध उत्पादक किसानहरूले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
दुग्ध उत्पादक किसानहरूको विभिन्न संघसंस्थाले बिहीबार काठमाडौँमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै विभिन्न १६ बुँदे मागका साथ आन्दोलनको घोषणा गरेका हुन् । उनीहरूले केही समयदेखि उत्पादित दूधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर बिक्री वितरण हुन नसकेको अवस्थामा बिक्री गरिएको दूधको करिब ६ अर्ब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थानलगायत निजी डेरी उद्योगहरूले किसानलाई नदिएको जनाएका छन् ।
उनीहरूले दूधको बाँकी बक्यौता भुक्तानी हुनुपर्ने, किसानले उत्पादन गरेको दूध खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने, दूधको बिक्री मूल्य निर्धारण हुनुपर्ने, बिक्री नभएको दूधलाई पाउडर बनाएर देशलाई मिल्क होलिडे हुनबाट रोक्नुपर्ने, वीमित किसानहरूको रकम भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
आफूहरूको माग पूरा गर्न शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने, देशभरका प्रशासन कार्यालयमा धर्नासहित ज्ञापन पत्र बुझाउने, मुख्य राजमार्गहरूमा चक्काजाम गर्ने र फागुन २१ गतेदेखि निरन्तर रूपमा माइतीघरमा धर्नासहित विरोध कार्यक्रम गर्ने नेपाल दुग्ध व्यवसायी संघले चेतावनी दिएको छ ।