काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय डोटीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् ।
मङ्गलवार आयोजित एक कार्यक्रमबीच कार्यालय भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, हिरासत कक्ष तथा मेस भवनहरूको उद्घाटन गरेका हुन् । साथै उनले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेका छन् ।
कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउनेहरूलाई प्रशंसा-पत्र प्रदान गरेका छन् । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले समाजमा देखा पर्ने नवीनतम चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असरका साथै विपद्का घटनाबाट उत्पन्न हुन सक्ने प्रतिकुल परिस्थिति र परिणामको अध्ययन, विश्लेषण गरी उपयुक्त सुरक्षा योजना तयार गरी प्रहरी जनशक्ति हरदम तयारी अवस्थामा रहनु पर्ने बताए ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय निकायहरूसँगको सहकार्यमा जन अपेक्षा अनुरूपको प्रहरी सेवा प्रदान गरी समाजमा अशान्ति र अराजकता फैलाउने तथा अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति वा समूह विरुद्ध सशक्त रूपमा प्रस्तुत भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए।